गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि ड्राइभर

अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ । चारपांग्रे सवारीसाधनका लागि मात्रै चालक राख्न पाउने नियमावली बनाएको भए पनि बराहपोखरी गाउँपालिकाले दुईपांग्रेका लागि पनि तीनजना चालक राखेर तलब खुवाउँदै आएको छ ।

बराहपोखरी गाउँपालिकाले १७ वटा मोटरसाइकल किनेको छ । जसमध्ये दुईवटा मोटरसाइकल अध्यक्ष र उपाध्यक्षका लागि छुट्याएको छ । अन्य मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र वडा कार्यालयले प्रयोग गर्दै आएका छन् । अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको छ । गाउँपालिका अध्यक्ष बञ्जरा कांग्रेसबाट र उपाध्यक्ष मगर तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् । 

गाउँसभाले बनाएको कर्मचारी नियुक्तसम्बन्धी नियमावलीको प्राविधिक कर्मचारी नियुक्तसम्बन्धी व्यवस्थामा गाउँपालिकाले ह्याभी र हलुका सवारीसाधन चलाउन मात्रै चालक राख्न सक्ने उल्लेख छ । तर, गाउँपालिकाले भने अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउनका लागि चालक राखेको हो । स्थानीय सेवन राई, खेमराज दाहाल र कैलाश दाहाललाई हलुका सवारीचालकको नियुक्तिपत्र दिएर निजी सहायक चालकको रूपमा नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष बञ्जराले च.१ब ९८३ नम्बरको मोटरसाइकल चढ्ने गरेका छन् । यो मोटरसाइकल खेमराज दाहालले चलाउँछन् । त्यस्तै, उपाध्यक्ष मगर च.१ब ७२२ नम्बरको मोटरसाइकल चढ्छिन् । यो मोटरसाइकल सेवन राईले चलाउने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीलाई यताउता जाँदा अन्य मोटरसाइकल कैलाश दाहालले चलाउने गरेका छन् । 

तीनैजना चालकलाई मासिक १६ हजार रुपैयाँका दरले तलब दिने गरी राखिएको लेखा अधिकृत छत्र बानियाँले बताए । यस वर्ष उनीहरूको तलब बढाएर १७ हजार पु¥याएको छ । निजी सहायक चालकका रूपमा नियुक्ति पाएका तीनैजनालाई करारमा नियुक्त गरिएको छ । उनीहरूलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको बानियाँले बताए । मोटरसाइकलमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पाउने इन्धन खर्चबाटै इन्धन हाल्ने गरेको भए पनि मर्मतसम्भार भने गाउँपालिकाबाटै गरिन्छ । 

प्रकाशित मिति: : 2020-08-05 07:44:53

प्रतिकृया दिनुहोस्