म टर्की भन्ने देशको चिहानघारीमा पुर्याइएको थिएँ।
नर्वेको ओस्लो एयरपोर्टबाट मलाई बिदा गर्नुअघि साथी (गणेश श्रेष्ठ) ले यत्ति बोलेका थिए, 'पुगेर खबर गर ल!'
'पुगेर खबर गर्नू' भन्नु अति सामान्य कुरा हो। तर पुगेर खबर गर्नू जति असामान्य काम अरू केही हुँदो रहेनछ। किनकी, यसका लागि पहिले त 'पुग्नु' पर्यो। पुगेर मात्रै भएन, त्यहाँ पुग्नु पर्यो 'जहाँ' पुगेर खबर गर्नू भनेर पठाउनेले भनेको हो। अनि त्यहाँ पुगेर मात्रै पनि भएन। यसरी पुग्नुपर्यो, त्यहाँ पुगेर आफू पुगेको 'खबर गर्न' सकियोस्।
म चिहानघारी पुगेको थिएँ। चिहानघारीबाट मैले साथीलाई कहाँ पुगेँ भनेर खबर गरौं?
म नर्वेबाट टर्की उडेको थिइनँ। माल्टा उडेको थिएँ। टर्की ट्रान्जिट बनेर आयो। टर्की बीचमा आयो।
दुःख दिनेहरू जहिल्यै बीचमै आउने रहेछन्।
नर्वेबाट प्लेन उड्नेबित्तिकै एउटा चिनियाँले 'अन्तर्राष्ट्रिय लोधर' लगाइदियो। नेपालीलाई चिनियाँले नर्वेको आकाशमा लोधर लगायो। त्यो चिनियाँ नचिनेको नेपालीको सिटमा टाँसियो। मेरो मोबाइल फोन नियालेर हेर्यो। ङिच्च हाँस्यो। मोबाइल देखायो र सोध्यो, 'वान प्लस हो?'
मैले 'हो' भन्दिऊँ भन्ने लोभको र्याल उसको आँखाबाट चुहिन लागेको देखेँ।
उसले थाहा नपाएजस्तो अभिनय गरेर सोधेको थियो। मलाई उसको अभिनय त मन परेन तर उसले अभिनय गरेको मन पर्यो।
मैले उसलाई मनमनै भनेँ, 'चिनियाँ दाइ, बादलमाथिको आकाशमा तिमीले गरेको यो अभिनय सम्हालेर राख। तल माटोको दुनियाँमा अभिनय खुब काम लाग्छ।'
आकाशमा उसले थाहा नपाएजस्तो अभिनय गरेको थियो। मैले उसको त्यो अभिनय थाहा नपाएजस्तो अभिनय गरेँ।
जमिनमा मैले 'थाहा नभएको' अभिनय गरिरहनुपर्छ। थाहा नभएको त के कुरा, कतिचोटि म 'नभएको' अभिनय गरिरहनुपर्छ।
अभिनय गर्दै मैले चिनियाँलाई भनेँ, 'हो, वान प्लस नै हो।'
चिनियाँले बाँसको पात खाएर मुसुक्क हाँसेको पाण्डाजसरी मुसुमुसु हाँस्दै भन्यो, 'यो हामीले बनाको हो।'