लक्षण देखिएका संक्रमितको संख्या बढ्दै छ, आइसियू र भेन्टिलेटरमा पनि चाप

काठमाडौँ- पछिल्लो समय कोरोना भाइरसको लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन्। सरकारले पहिला ९९.७ प्रतिशत सङ्क्रमितमा लक्षण नभएको बताउँदै गर्दा अहिलेका नयाँ संक्रमितहरुमा कोरोना भाइसको लक्षण देखिन थालेको छ।

नयाँ संक्रमितमा ज्वारो आउने, रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए।

‘पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन। तर अहिले लक्षण लिएर विरामीहरु आफैँ अस्पताल आउन थालेका छन्,’ उनले भने, ‘अहिले संक्रमण देखिन थालेका धरै विरामीहरु आइसियू, भेन्टिलेटरमा राख्न थालिएको छ। खास गरी विरगञ्जबाट आएका व्यक्ति लगायत तराईमा देखिएका संक्रमितमा लक्षण देखिन थालेका छन्।’

यस्तै, काठमाडौँका लगायत देशभरका हब अस्पतालमा धेरैजसो कोरोना भाइरस संक्रमण देखिएका विरामीलाई आइसियू वा भेन्टिलेटरमा राख्न थालिएको छ। पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै जाँदा संक्रमण देखिएका धेरै व्यक्तिमा लक्षण देखिएको उनले बताए।

डा. पाण्डेले भने, ‘अहिले काठमाडौँमा देखिएका धेरै संक्रमितमा लक्षण देखिएको छ। संक्रमितका ठ्याक्कै के कारण लक्षण देखिन थालेको यो अनुसन्धानले भन्ने कुरा हो। दुई अगाडि हामी विश्व स्वास्थ्य संगठनसँग बैठक बसेका थियौँ। हामीले उहाँहरुलाई अहिले किन नेपालमा लक्षण भएका विरामी देखिन थालेका हुन्? जिन परिर्वतन भएर यस्तो हुन्छ भनेर सोधेको थियौँ। तर उहाँहरुले जिन परिर्वतन नहुने बताउनु भयो।’

प्रकाशित मिति: : 2020-08-01 23:32:04

प्रतिकृया दिनुहोस्