तथ्यांक भन्छ– परीक्षण घटेकोले संक्रमित पनि घटे, संक्रमण उच्चबिन्दुमा पुगेको वेलादेखि परीक्षणको दर ओरालो लाग्यो

 

अर्जुन अधिकारी

सरकारले कोरोना परीक्षणको दायरा घटाएपछि संक्रमित देखिने क्रम पनि घटेको छ । ८ जेठदेखि १५ साउनसम्म १० साताको तथ्यांक विश्लेषण गर्दा परीक्षण बढ्दा संक्रमितको संख्या बढेको छ भने परीक्षण घट्दा संक्रमित पनि घटेका छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै परीक्षण ५ देखि ११ असारसम्मको एक साताको अवधिमा भएको थियो । त्यो साता ४४ हजार तीन सय १९ नमुना परीक्षण भएका थिए, जसमा तीन हजार दुई सय सात संक्रमित देखिए । त्यसको अर्को साता १२ देखि १८ असारसम्म ३८ हजार २० नमुना परीक्षण गर्दा तीन हजार तीन सय ५७ संक्रमित देखिएका थिए । ८ जेठदेखि १५ साउनसम्मको अवधिमा धेरै संक्रमित देखिएको त्यही साता हो ।

१२ असारयता सरकारले परीक्षणको दायरा घटाउँदै ल्याएको छ । २ देखि ८ साउनसम्मको सातामा पुग्दा २७ हजार दुई सय १७ नमुना मात्रै परीक्षण गरिए, जसमा आठ सय ९७ संक्रमित देखिए । ९ देखि १५ साउनसम्मको पछिल्लो सातामा परीक्षणको दायरा बढाएर ३३ हजार एक सय २६ पुर्‍याउँदा संक्रमित देखिने क्रम पनि बढेको छ । यो साता एक हजार तीन सय ६ संक्रमित देखिएका छन् ।

प्रकाशित मिति: : 2020-07-31 11:00:16

प्रतिकृया दिनुहोस्