समाजमा नम्रपन, भद्रपन, शालीनता, धैर्यभन्दा बढी उत्तेजना, आक्रोश र रोष छिटो बिक्छ, प्रभावित हुन्छ। धीरतापूर्वक दीर्घकालीन सोच र शैली अपनाएर गरिने सकारात्मक ऊर्जा र रचनात्मक कर्ममा विश्वास गर्ने र अवि श्रान्त यात्रा गर्ने पथिक पाउन मुस्किल छ। विनयी हुनु, सभ्य र सुसंस्कृत बन्नुलाई कमजोरीका रूपमा अथ्र्याइन्छ, बुझिन्छ। क्रोध, प्रतिशोध र आवेगलाई स्थान प्रदान गरिन्छ। भावावेशलाई तागतको दर्जा दिइन्छ। हाम्रो लोकतन्त्रले भीडको आवाज, बलजफ्ती र जोडबललाई प्राथमिकताको सूचीमा पहिलो नम्बरमा राखेको छ।
तसर्थ नैतिकता र इमान तथा निष्ठा र त्यागले बाटो बिराउने स्थिति सिर्जित हुन्छ। नैतिकताको यसरी हुर्मत लिइयो कि सिंहदरबारमा आगो लाग्दा स्वतः राजीनामा दिने कीर्तिनिधि विष्ट र बलात्कारको बात लागेर हायलकायल गराइएपछि राजीनामा दिने कृष्णबहादुर महराको नैतिकताको मानक एकै भनियो।
खेलकुद भइरहेको रंगशालामा हुरीबतासका कारण भागदौडमा च्यापिएर आफ्नो कारणले मान्छे मरेको ठहर गर्दै राजीनामा दिने तत्कालीन मन्त्री केशरबहादुर विष्ट र बहालवाला मन्त्री सामान खरिद र ठेक्काको घुस बोल-कबोलको अडियो सार्वजनिक भएर दबाबको भार थेग्न नसकेर निस्केर हिँड्ने गोकुल बास्कोटाको बहिर्गमनलाई उस्तै नैतिकताका तराजुमा जोखियो। नैतिकता भनियो तर अतुलनीय महानतालाई तुच्छ बहिर्गमनसँग दाँजियो। त्यसैले अहिले भन्ने गरेको नैतिकतामा क्षय छ, नैतिकता स्खलित छ। सिद्धान्त आफैंमा केही होइन तर जसले सिद्धान्तहीन सिद्धान्त बोक्यो त्यो बोक्नेको चरित्र आचरण र असंस्कृतिको कारण अर्धमुर्छित र बेहोस छ।