सुशान्त आत्महत्या प्रकरणमा महेश भट्ट बयानका लागि प्रहरी चौकीमा

बलिउडका युवा नायक सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले चर्चित निर्देशक महेश भट्टसँग सोमबार बयान लिएको छ। 

सान्ताक्रुज प्रहरी चौकीमा भट्टले करिब २ घण्टा बयान दिएका थिए। प्रहरीले उनीसँग सुशान्त र रियाको सम्बन्धको विषयमा सोधपुछ गरेको थियो। 

दिउँसो १२ बजे प्रहरी चौकी पुगेका भट्ट २ बजे बाहिर निस्किएका थिए। बाहिर उनले मिडियासँग कुनै प्रश्नको जवाफ दिएनन्। 

उनीसँग सड्क–२ को विषयलाई लिएर पनि कुरा भएको थियो। यो फिल्ममा पहिले सुशान्तलाई लिने कुरा भएको थियो। यस फिल्मका लागि सुशान्तले आलिया भट्टको स्थानमा रियाको नाम अगाडि राखेका थिए। तर, पछि यो फिल्ममा सुशान्तलाई हटाएर आदित्य रोय कपुरलाई भूमिका दिइएको थियो। 

भट्टलाई पहिले बान्द्रा पुलिस स्टेशनमा बोलाएको थियो तर मिडियाको भिड बढेपछि उनलाई शान्ताक्रुजमा सारिएको थियो। 

महेश भट्टसँग बयान हुने कुराको जानकारी आइतबार महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले दिएका थिए। चर्चित अभिनेत्री कंगना रनोटले सुशान्त आत्महत्या प्रकरणमा महेश भट्ट र करण जौहरमाथि आरोप लगाउँदै आइरहेकी छिन्। करण जौहरको पनि बयान दर्ता हुने सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2020-07-27 19:41:42

प्रतिकृया दिनुहोस्