सन्तोष पौडेलकी ६ वर्षीया छोरीले प्राय: हिन्दी कार्टुन हेर्थिन्। छोरीकै उमेरका धेरै बालबालिका विदेशी कार्टुनमा भुलेको उनलाई चित्त बुझ्थेन।
त्यसपछि उनी युट्युबमा नेपाली भाषाका बाल सामग्री खोज्न थाले। हिन्दी र अंग्रेजी बालगीत र राइम प्रशस्तै भेटिए पनि नेपालीमा त्यस्ता सामग्री फेला पार्न उनलाई हम्मे पर्यो।
यो तीन वर्षअघिको कुरा हो। उनले यो अनुभव आफ्ना साथी पवित्ररत्न शाक्यलाई सुनाए। तीनवर्षे छोराका बुवा पवित्रको भोगाइ पनि सन्तोषको भन्दा फरक थिएन।
दुवैको विचार मिल्यो।
नेपाली भाषाका बाल सामग्रीहरूको अभाव महशुस गरेपछि झन्डै दुई दशकदेखिका साथीहरू सन्तोष र पवित्रले एउटा युट्युब च्यानलको परिकल्पना गरे- पुकुलुकु।
यसमा सन्तोष क्रियटिभ डाइरेक्टर छन् भने पवित्र प्राविधिक डाइरेक्टर। उनीहरूले आफ्नो च्यानलमा ६ वर्षमुनिका बालबालिकालाई लक्ष्य गरेर पुराना बाल लोकगीत, राइम तथा कथाहरूको 'एनिमेटेड भिडिओ' बनाएका छन्। केही भिडिओ पढाइसम्बन्धी छन् भने केही मनोरञ्जनात्मक सामग्री छन्।
उदाहरणका लागि, ‘ए फर एप्पल’, ‘बच्चालाई के भन्छ’ जस्ता भिडिओ पढाइसँग सम्बन्धित छन्। ‘कुखुरी काँ’, ‘म्याउँ म्याउँ बिरालो’, ‘काग दाजै’ जस्ता भिडिओ नेपाली मौलिकता जोगाउने खालका छन्। यसबाहेक ‘लोभी कुकुर’, ‘ढुकुर, कमिलो र शिकारी’ लगायत लोककथाहरूको एनिमिटेड भिडिओ पनि पुकुलुकुमा हेर्न पाइन्छ।
‘पुकु’ शब्द सुन्दै मीठो सुनिन्छ। हामी धेरैले बच्चालाई यही नामले बोलाइरहेका हुन्छौं। साना नानीबाबुलाई आकर्षित गर्ने खालको नाम छान्ने क्रममा ‘पुकुलुकु’ राखिएको सन्तोष बताउँछन्।