राप्रपाबाट पूर्वमन्त्री सुनिल थापासहित ३१ जनाको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनुहुनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत,  किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र  राम पदारथ शाह छन्।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा  वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उहाँहरुले संयुक्त राजीनामा उल्लेख गरेका छन्। राजीनामा पत्रमा भनिएको छ, ‘नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँुदा राप्रपाप्रतिको  आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ।’

उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै उनीहरुले आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गरेका छन्। राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य छन्।

यसैबिच राप्रपा नेता मोहन श्रेष्ठले थापासहितले पार्टी परित्याग गरेर गम्भीर राजनीतिक गल्ति गरेको  बताएका छन्। 'सुनिल थापाजीले आफ्‍ना बुवाको विरासतलाई निरन्तरता दिनबाट चुक्नु भएको छ। राप्रपाका केन्द्रीयस्तरका नेतासमेत रहेका उहाँले पार्टी छाडेर गम्भीर राजनीतिक भूल गर्नुभएको छ,' उनले भने।

संयुक्त राजीनामा पत्र

राजीनामा पत्र

श्रीमान् त्रय अध्यक्षज्यू राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालय, काठमाडौं

विषय :  संयुक्त राजिनामा । 
महोदय, तीन दशकअघि मुलुकमा राप्रपा स्थापना हुँदा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा एउटा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने र राजनीतिक परिवर्तनलाई आत्मसात गरेर मुलुक र जनताको आकांक्षा सम्बोधन गर्ने लक्ष्यका साथ हामी राप्रपामा आबद्ध रही क्रियाशील रहँदै आएको सर्वविदितै छ। 

पार्टीले संस्थापक अध्यक्ष स्व. सूर्य बहादुर थापाको नेतृत्वमा उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीतिको अनुशरण गर्दा राप्रपा कुनै समय देशको तेस्रो ठूलो दल तथा सही अर्थमा बैकल्पिक प्रजातान्त्रिक शक्ति भएको तथ्य पनि हाम्रा सामू जग जाहेरै छ। 

राप्रपाले मुलुकमा समय समयमा भएका परिवर्तनलाई होशियारीपूर्वक तर सहजताका साथ आत्मसात् गर्दै अग्रगामी मार्ग अवलम्बन गर्दै आएको छ। राप्रपा समय समयका टुटफूट र गूटका निरन्तर श्रृंखलाहरु पार गर्दै पहिलो तथा दोस्रो संविधानसभा निर्वाचनमा निशर्त सहभागी बन्यो। दोस्रो संविधानसभाले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा पार्टी सक्रिय सहभागी भएको र त्यसको अपनत्व र स्वामित्व लिँदै संविधान कार्यान्वयनका लागि गणतान्त्रिक संविधान अन्तर्गत गठित सरकारहरुमा सहभागी हुँदै आएको हो। 

यसरी राप्रपा परिवर्तनको प्रबाहमा समाहित हुँदै प्रजातान्त्रिक मूल्य र मान्यताको अडानमा स्पष्टरुपमा उभिँदै आएको हामी सामू छर्लंग छँदैछ । तर, पार्टीका संस्थापक अध्यक्ष सूर्य बहादुर थापाको निधन पश्चात् पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको छ। 

जसका कारण पार्टी दिशाहिन बनेको छ । एकातिर पार्टी नेतृत्व गणतन्त्रान्त्रिक व्यवस्था स्वीकार गरेर सरकारहरुमा सहभागी हुने, संविधान उत्कृष्ट भएको प्रचारप्रसारमा सामेल भएको छ भने अर्कातिर आम सहमतिको राजसंस्थासहितको प्रजातन्त्रको अति अमूर्त र असम्भव एजेन्डालाई पनि छोड्न नसकेको अवस्था छ। राप्रपाको द्धेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले शर्मनाक पराजय भोग्नुपरेको छ । भागबण्डा मिलाएर पार्टी एकता गरिएपछि पनि त्यही पुरानै ढुलमुले दृष्टिकोण कायम छ भने एकतापछिको सचिवालय कार्य व्यवस्था समिति सहित विभिन्न निकायको गठनमा समावेशीतालाई पुरै वेवास्ता गरिएको छ। पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन सकेको छैन। 

मधेशी समुदायको प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ। समितिहरुको गठनमा क्षेत्रगत असन्तुलन र विभेद प्रष्टै देखिएको छ । देशको संविधान, कानुन र पार्टीको विधानले निर्दिष्ट गरेको समावेशी सिद्धान्तको पालना भएको छैन भने कैयौं जिल्लालाई केन्द्रिय प्रतिनिधित्वबाट नै वञ्चित गरिएको छ। संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ। 

स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि ठेस पुगेको छ । पार्टी संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आम जनमतविपरित पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टी पंक्ति जानकार नै छ। तर पार्टी नेतृत्व पुनः ढुलमुले दृष्टिकोणमा अघि बढिरहँदा पार्टी एकीकरणपछि पनि आम आकर्षण नबढेको यथार्थ हो। हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकुल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निस्कर्षमा पुगेका छौँ । उदार प्रजातन्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा प्रजातान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै भूमिका र तहबाट अलग भएको घोषणा गर्दछौं। अन्त्यमा, नेतृत्व वर्ग र समग्र पार्टी पंक्तिबाट विगतमा प्राप्त भएको सद्भाव प्रति हामी कृतज्ञता जनाउन चाहन्छौँ। 

लामो समयसम्म पार्टीका विभिन्न तह र तप्कामा रही प्रतिकुल तथा अनुकुल समयमा हामीलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।
धन्यवाद, 

राजीनामा दिनेहरु

१ सुनिलबहादुर थापा -धनकुटा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री, राप्रपा, (पूर्वमन्त्री उद्योग वाणिज्य)
२ विष्णुविक्रम थापा- सिन्धुपाल्चोक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृहराज्यमन्त्री
३ बाबुराम बस्नेत -भोजपुर, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा
४ बृजलाल यादव -बारा, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री
५ पदमबहादुर बस्नेत - धनकुटा, केन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति धनकुटा
६ किरण गिरी- काठमाडौं, केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा
७ दिलीप राई- झापा, केन्द्रीय सदस्य
८ आशाराम चौधरी- कैलाली, केन्द्रीय सदस्य
९ चन्द्रकुमार घुण्डे गुरुङ- संखुवासभा, केन्द्रीय सदस्य, राप्रपा
१० राज्यलक्ष्मी श्रेष्ठ- नुवाकोट, संविधान सभा सदस्य
११ चतुरमान विश्वकर्मा- झापा, केन्द्रीय सदस्य
१२ राम पदारथ शाह- सर्लाही, केन्द्रीय सदस्य
१३ वीरेन्द्रलाल कर्ण- धनुषा, पूर्वकेन्द्रीय सदस्य
१४ नारायण राउत- भोजपुर, पूर्वकेन्द्रीय सदस्य
१५ इन्द्रबहादुर तामाङ- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, जिविस उपसभापति
१६ राजकुमार भट्टराई- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, शिक्षक परिषद्
१७ डम्बरबहादुर राई- भोजपुर, महाधिवेशन प्रतिनिधि
१८ माधव पौडेल- सिन्धुपाल्चोक, जिल्ला कार्यसमिति सदस्य
१९ अर्जुन विक्रम थापा - सिन्धुपाल्चोक, पूर्वगाविस अध्यक्ष, बोडेगाउँ
२० हरेन्द्रप्रसाद यादव- बारा, जिल्ला अध्यक्ष
२१ रुपनारायण यादव- बारा, जिल्ला उपाध्यक्ष
२२ भिखारी लाल यादव- बारा, जिल्ला सदस्य
२३ भिखारी लाल यादव- बारा, जिल्ला सदस्य
२४ जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरु धनकुटा
२५ राप्रपा धनकुटाका सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरु धनकुटा
२६ महेन्द्र बस्नेत- मोरङ, पूर्व जिल्ला सदस्य
२७ गोपी ठकुरी, सिन्धुपाल्चोक - जिकास सदस्य
२८ डोलनाथ आचार्य- सिन्धुपाल्चोक, गाउँपालिका उपाध्यक्ष
२९ दबिबल तामाङ- सिन्धुपाल्चोक नगरपालिका इकाइ सदस्य
३० मदन घिमिरे- धनकुटा, वरिष्ठ उपाध्यक्ष, राप्रपा प्रजातान्त्रिक युवक संगठन
३१ ध्रुव थापा- सिन्धुपाल्चोक, पूर्व युवक संगठन सदस्य
प्रकाशित मिति: : 2020-07-25 17:44:00

प्रतिकृया दिनुहोस्