दाज्यू नरबहादुर दाहाल जसकै कारण म नेपाली साहित्यमा छु....

दाज्यू नरबहादुर दाहाल वयोवृद्धताको सोपानमा उक्लिरहनुभएको भए पनि उहाँको कर्म भने अझसम्म पनि यौवनकालमै छ। कारण उहाँ लेखनकार्यमा अद्यपर्यन्त सक्रिय मात्र नभएर फेसबुकमा पनि आजका तन्नेरी युवकजस्तै सक्रिय हुनुहुन्छ। फलस्वरूप बेलाबेलामा उहाँका सारगर्भित लेखहरू पढ्न पाइन्छ।

हालैमा विद्वान्‌द्वय दाज्यू नरबहादुर दाहाल र जस योञ्जन प्यासीलाई ‘इन्द्रबहादुर राई ग्रामिण पुस्तकालय’, दार्जीलिङमा अभिनन्दन गरिएको थियो। द्वय विद्वानलाई सम्झना गर्दै र बधाई दिँदै अब म दाज्यू नरबहादुर दाहालको प्रसंगमा आउँछु|

दाज्यू नरबहादुर दाहाललाई नजानेका, नचिनेकाले मलाई प्रश्न गर्न सक्छन्,‘नरबहादुर दाहाल को हुनुहुन्छ? उहाँमा के यस्तो खुबी छ र तपाईँले उहाँलाई यति महत्व दिनुभयो?’

दार्जीलिङका भए म उनलाई यस्तो उत्तर दिन्छु,‘उहाँ रूपनारायण सिन्हाद्वारा सम्पादित अनि पारसमणि प्रधानद्वारा प्रकाशित ‘भारती’ बाट जोडिएर फेसबुकमा जोडिने नेपाली भाषाका सेवक तथा नेपाली भाषाको श्रीवृद्धिमा अथक कागजको मैदानमा कलमे घोडा कुदाउने कलमे योद्दा हुनुहुन्छ।’

असमका भए उनलाई यस्तो उत्तर दिन्छु, ‘असमका नेपालीभाषीहरू हो, आफ्नो भाषा नबिर्सनु भनेर ‘बोका’ नामक लेख लेखी असमका नेपाली भाषीलाई सचेत बनाउने सचेतक हुनुहुन्छ।’

उहाँको नाम मैले पहिल्यैबाट सुनेको, लेख पनि पहिल्यैबाट पढेको तर उहाँसँग साक्षात्कार सन् १९७४/७५ तिर मात्र हो। जहाँसम्म मलाई लाग्छ नेपाली फिल्मकै वितरणका लागि उहाँ शिलाङ आउनुभएको थियो। सन् १९९० को दशकमा उहाँ नेपाली फिल्मको वितरक भएर निकै वर्षसम्म गुवाहाटीमा बस्नुभयो। यसै क्रममा उहाँ बेलाबेलामा नेपाली फिल्मका लागि शिलाङका सिनेमा हलका म्यानेजरसँग कुरा गर्न, सिनेमा हल आरक्षण गर्न शिलाङ आउँदा उहाँसँग मेरो घनिष्टता बढ्यो। शिलाङ आउनुहुँदा उहाँ धेरैजसो  गाडीखानास्थित ‘अन्नपूर्ण होटल’ मा बस्नुहुन्थ्यो।

सन् १९८३ मा मैले लेखेको उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ को भूमिका लेख्न सन् १९८४ मा गुवाहाटीका अविनाश श्रेष्ठलाई ठूलो भाञ्जा विजय थापाको हातमा पठाए। त्यसबेला ठूलो भाञ्जा जागुन, विष्णुपुर ८ माइल, असमबाट कलेज पढ्न भनेर शिलाङ आएको थियो। अविनाश श्रेष्ठले त्यसबेला नेपालका लागि  गुहावटी छाडेका थिएनन्। तर अविनाश श्रेष्ठले भूमिका लेखिदिएनन्। सुझाव दिए, ‘कालिम्पोङवासी उपासक मेरा मित्र हुन् उनलाई उक्त उपन्यासको पाण्डुलिपी पठाउनू, उनले छापिदिनेछन्।’

अहिले म जान्दिनँ तर त्यतिबेला उपासकले ‘उपासक प्रकाशन’ को नाममा नेपाली पुस्तक प्रकाशन गर्थे। उनको पुस्तक पसल थियो भन्ने पनि मलाई लाग्छ।

मैले अभिनाश श्रेष्ठको सुझावकै आधारमा आफूसँग भएको एउटै पाण्डलिपि सन् १९८४ मा उपासकलाई रजिष्टर गरी पठाएँ। तर उपासकबाट पाण्डुलिपि पाएको जानकारी पाइनँ। सन् १९८४ बित्न लाग्यो उपासकबाट चाइँचुइ केही छैन अनि मैले आत्तिएर उनलाई
‘उपन्यास छाप्न लायकको छैन भने पाण्डुलिपि फर्काइदिनू।  फर्काइदिएको मोलखर्च पठाइदिनेछु,’ भनेर अर्को चिठ्ठी पठाएँ।

त्यसपछि उताबाट उत्तर आयो,‘तपाईँ र मेरो आधाआधा पूँजि लगाएर निकाल्न सकिन्छ। तर उपन्यासको शीर्षक भएन। बदल्नुपर्छ।’

त्यसबेला मै भिखारी, आधा पूँजि लगानी गर्ने मेरो हुती थिएन। एक त शीर्षक परिवर्तन गर्नुपर्ने, मनले मानेन। उत्तरमा पाण्डुलिपि फर्काउनेबारे चिट्ठी पठाएँ। तर उनले फर्काएनन्, न चिट्ठीको उत्तरनै दिए।

पाण्डुलिपि नफर्काएकोमा मेरो मन खल्बलियो। मन खल्बलिएकै बेला दाज्यू नरबहादुर दाहाल गुवाहाटीबाट शिलाङ आउनुभयो। उहाँ शिलाङबाट गुवाहाटी फर्केपछि कालिम्पोङ आफ्नो घर जाने कुरा थियो। त्यसबेला उहाँ कालिम्पोङमा बस्नुहुन्थ्यो। अहिले सुकुनामा बस्नुहुन्छ।

मैले उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ को पाण्डुलिपिबारे कुरा गर्दै उपासकबाट पाण्डुलिपि मागेर ल्याइदिन उहाँमा आग्रह गरेँ। उहाँले नभन्दै उपासकसँग पाण्डुलिपि मागेर ल्याईदिनुभयो।

सन् १९८६ मा सो पाण्डुलिपि छाप्न भनेर बनारस पुगेँ। त्यसबेला अविनाश श्रेष्ठ पनि ‘परिषद् पत्र’ नामक पत्रिका छपाउन भनेर जुन प्रेसमा थिए,त्यही प्रेसमा म पुगेको थिएँ।

उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ छापिनेछ भनेर अविनाश श्रेष्ठले देखे। त्यतिबेलै उनले सोही प्रेसमा आफैंले (मैले भनेको होइन) मसँग भनेर उक्त उपन्यासको भूमिका लेखिदिए।

उनीबाट भूमिका लेखाउन मलाई मन लागेको थिएन। तर मित्रको नाताले ‘नाइँ’ भन्न सकिनँ। भूमिका लेखेको सट्टामा उनले ‘नेपाली साहित्य परिषद्, गुवाहाटी’ को नाममा प्रकाशन गर्नु भने।

मित्रको नातामा यसमा पनि मैले ‘नाइँ’ गरिनँ, जब कि मैले यो उपन्यासको प्रकाशन मेरा दाज्यूको नाम ‘हर्कु प्रकाशन’बाट  गर्न चाहेको थिएँ।

अन्ततोगत्वा उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ छापियो। उत्तरबंग विश्वविद्यालय (North Bengal University), सिलगढीले एम.ए का लागि नेपाली विषयको पाठ्यक्रममा पनि राखिदियो। मेरो राम्रो नाम नेपाली साहित्य जगतमा भयो। मलाई पाठकवर्ग र बुद्धिजीवीवर्गले चिने। यही उपन्यासकै कारण मैले साहित्य अकादेमी पुरस्कारसमेत पाएँ।

यदि दाज्यू नरबहादुर दाहालले पाण्डुलिपि उपासकबाट मागेर नल्याइदिनुभएको भए र उक्त पाण्डुलिपि अँध्यारोमै गुमनाम भएको भए, म पनि अँध्यारोमै हराउने थिएँ। मलाई उज्यालोमा ल्याउने दाज्यू नरबहादुर दहाललाई यसका लागि आफ्नो हृदयको भित्री पाखामा म सधैँ राखिरहेको हुन्छु।

तपाईँहरूले नजानेका कुरा--

मैले नेपालबाट कथामा ‘रत्नश्री सुवर्ण पदक’ पाउँदा नेपालकी तत्कालीन रानी ऐश्वर्य राज्य लक्ष्मी शाहले पनि कवितामा ‘रत्नश्री सुवर्ण पदक’ पाएकी थिइन्।

म उक्त पदक  लिन नेपाल जान सकिनँ। नेपाल पुग्नुभएको बेला ‘रत्नश्री सुवर्ण पद’ र ‘प्रशस्ती पत्र’ दाज्यू नरबहादुर दाहाललेनै ल्याइदिनुभएको हो।

विक्रमवीर थापा...

 (द्रष्टव्यः अघि भर्खरै दार्जीलिङका भाइ बासु थापा पुलामीबाट पहिलोपल्ट मलाई मोबाइल फोनमा सम्पर्क गरेर भनेका छन्, ‘उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ लाई दार्जीलिङका युवा भाइले पुनर्मुद्रण गर्ने चाहना राखेका छन् यसैकारण मसँग प्रकाशनको लिखित अनुमति मागेका छन्।’)

प्रकाशित मिति: : 2020-07-25 13:01:00

प्रतिकृया दिनुहोस्