ताङतिङदेखि घोक्रेलासम्म

जीवनमा पहिलो पटक पशुपतिनाथ दर्शन गर्न पाउँदा सबै दंग परे। बिहानको खानापछि हामी कलात्मक शहर भक्तपुर पुग्यौं। भक्तपुर दरबार क्षेत्रका पुरातात्विक महत्वका प्राचीन दरबार र मठ मन्दिरमा धातु, काठ र ढुंगामा कुँदिएका कला अतुलनीय छन्। 
***
देश दर्शनबाट विद्यार्थीले धेरै कुरा सिक्छन्। किताबमा पढेका ठाउँ, ऐतिहासिक महत्वका धार्मिकस्थल, स्मारक, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, राजमार्ग, औद्योगिक क्षेत्र आदिको भ्रमणबाट विद्यार्थीले धेरै जानकारी पाउँछन्। 
***
कास्कीको सुदूर उत्तरपूर्वी हिमाली भेग ताङतिङको गुरुङ गाउँमा बस्ने हाम्रा बाबुनानी काठमाडौँको भीड देख्दा चकित परे। भीडभाड, हजारौं सवारी साधन, व्यस्त जीवनशैली, धुवाँधुलो, कोलाहल, फोहोरमैला अनि गगनचुम्बी महल, अस्पताल, विश्वविद्यालय, वित्तीय संघसंस्था, मठमन्दिर, चैत्य गुम्बा, मस्जिदका विषयमा उनीहरू गफिँदै थिए।  

हामीले सिकाइलाई विद्यालयको साँघुरो घेरामा सीमित राख्नु हुँदैन। घोकन्ते पढाइलाई कम गर्दै व्यावहारिक शिक्षामा जोड दिनुपर्छ। हामीले उत्पादन गरेका जनशक्ति अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ। त्यसैले हाम्रा शिक्षालयले विद्यार्थीलाई स्थानीय पाठ्यक्रमका साथै विश्व नागरिकसम्बन्धी ज्ञान दिलाउन अति जरुरी छ। 

देश दर्शनबाट विद्यार्थीले धेरै कुरा सिक्छन्। किताबमा पढेका ठाउँ, ऐतिहासिक महत्वका धार्मिकस्थल, स्मारक, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, राजमार्ग, औद्योगिक क्षेत्र आदिको भ्रमणबाट विद्यार्थीले धेरै जानकारी पाउँछन्। 

यही सत्य बुझेर हाम्रो ‘हिमालय मिलन माध्यमिक विद्यालय’का भाइबहिनीलाई देश दर्शन गराउने गरेका छौं। यही सिलसिलामा हिमालय बाल क्लब, ग्रीन फोर्स र जुनियर रेडक्रसका भाइबहिनी र शिक्षक गरी ४१ जनाको भ्रमण टोली बन्यो। हाम्रो वार्षिक क्यालेन्डरअनुसार ताङतिङबाट २०७५ साल पुस २९ देखि माघ ४ सम्म पोखरा, काठमाडौं, चितवन अवलोकन भ्रमण गर्‍यौं। 

यात्राका लागि हामी २९ पुसको बिहान ७ बजे ताङतिङबाट बसमा पोखरा झर्‍यौं। त्यो दिन पोखरामै घुमफिर गर्‍यौं। पुस ३० गते सबै काहुँखोलाबाट नोबल टुरिस्ट बस चढेर काठमाडौंतर्फ लाग्यौं। हाम्रो ताङतिङ गाउँ मादी नदीको शिरमा छ। हामीले त्यहीँबाट बगरे आउने नदीको पुल हेर्न दमौलीमा गाडी रोक्यौं। त्यहाँ मादी नदीमाथि ३६० मिटरको पुल छ। मादीको मुहान अन्नपूर्ण र लमजुङ हिमाल हुन्। यी हिमाल हाम्रो गाउँ नजिक छन्। हामीले त्यहाँ आधा घण्टा हिमाल, हिमनदी, नदी, मादी र महासागरका विषयमा विमर्श गर्‍यौं। 

हामीले सधैँ पढाउने पोखरादेखि काठमाडौँसम्मको पृथ्वीराजमार्गबारे पनि छलफल गर्‍यौं। भूपरिवेष्ठित देशमा सडक यातायातको महत्वबारे पनि हामीले समूहगत छलफल चलायौं।  

हामी तनहुँ जिल्लामै रहेको घाँसी कुवामा पुगेर रोकियौं। ‘भर जन्म घाँसतिर मन दिई कुवा खनायो, नाम क्यै रहन्छ भनेर कुवा खनायो’ यो कविताको विषयमा छलफल गर्‍यौं। परोपकारी मनका घाँसीको विषयमा विद्यार्थीले अन्तरक्रिया गरे। कसरी आदिकवि भानुभक्त आचार्यले घाँसीबारे विवेचना गरे भन्ने चर्चा गर्‍यौं। 

घाँसीकुवाबाट अघि बढेर हामी अपरान्ह काठमाडौं पुग्यौं। त्यो दिन हामीले स्वयम्भू चैत्य अध्ययन गर्‍यौं। १२ वैशाखको भूकम्पले क्षति पुर्‍याएका सम्पदा पुननिर्माण हुँदै रहेछन्।  

स्वयंभू घुमेर हामी बेलुका काठमाडौंस्थित बसपार्क क्षेत्रमा रहेको होटल दूधकोशी लुम्बिनीमा बस्यौं। कास्कीको सुदूर उत्तरपूर्वी हिमाली भेग ताङतिङको गुरुङ गाउँमा बस्ने हाम्रा बाबुनानी काठमाडौँको भीड देख्दा चकित परे। भीडभाड, हजारौं सवारी साधन, व्यस्त जीवनशैली, धुवाँधुलो, कोलाहल, फोहोरमैला अनि गगनचुम्बी महल, अस्पताल, विश्वविद्यालय, वित्तीय संघसंस्था, मठमन्दिर, चैत्य गुम्बा, मस्जिदका विषयमा उनीहरू गफिँदै थिए।  

बेलुकी होटलको सभाहलमा हाम्रा विद्यार्थी गुरुङ गीतमा नाचे। केही विद्यार्थीले काठमाडौं आउँदाको यात्रानुभूति सुनाए। भ्रमणको तेस्रो दिन बिहान हामी बूढानीलकण्ठ मन्दिर गयौं। त्यहाँ पुगेर हामीले भगवान् विष्णुसहित अन्य कलात्मक मूर्ति अवलोकन गर्‍यौं। 

शिवपुरी पहाडको फेदमा रहेको मन्दिरमा अनुशासित तवरले वेदका ऋचा पढिरहेका विद्यार्थी र पूजाआजामा लीन भएका भक्तजन देखेर हाम्रा विद्यार्थी प्रभावित भए। यसपछि हाम्रो टोली बागमती किनारमा अवस्थित पशुपतिनाथमा पुग्यो। युनेस्कोले सन् १९७९ मा पशुपतिनाथलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। हामी माघ १ गते पुग्दा त्यहाँ ठूलो भीड थियो। विद्यार्थीले मन्दिरमा पूजापाठ गरे। पशुपतिनाथ मन्दिर परिसर र बागमतीको अध्ययन गरे। हामीले ताङतिङमा रहेको बाजेबैकु मन्दिरसँग पशुपतिनाथको तुलना गर्‍यौं। यस्तै गाउँको घट्टेखोलासँग बागमती नदीको तुलना गरी छलफल चलायौं।

जीवनमा पहिलो पटक पशुपतिनाथ दर्शन गर्न पाउँदा सबै दंग परे। बिहानको खानापछि हामी कलात्मक शहर भक्तपुर पुग्यौं। भक्तपुर दरबार क्षेत्रका पुरातात्विक महत्वका प्राचीन दरबार र मठ मन्दिरमा धातु, काठ र ढुंगामा कुँदिएका कला अतुलनीय छन्। राजा भूपतिन्द्र मल्लको सालिक, पचपन्न झ्याले दरबार, गोल्डेन गेट लगायत सम्पदा हेर्‍यौं। नगरका गल्लीभित्र पनि पस्यौं। 

सधैँ किताबमा मात्र पढेका सम्पदा देख्न पाउँदा विद्यार्थी खुसी देखिन्थे। भक्तपुर घुमेपछि चिडियाघर हेर्न जावलाखेल पुग्यौं। विसं १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले निजी चिडियाखानाका रूपमा स्थापना गरेको यसलाई सरकारले पछि स्वामित्वमा लियो। सन् १९५६ बाट मात्र सर्वसाधारणका लागि खुला गरियो।  

चिडियाखानाका चरा, जनावरलगायत आकर्षक पार्क, पोखरी देख्दा हाम्रा विद्यार्थी मक्ख परे। त्यहाँबाट होटलमा फर्कने क्रममा पाटन दरबार स्क्वायर घुम्यौं। हामीले त्यहाँका ऐतिहासिक चिजविज अवलोकन गर्‍यौं। साँझ होटलमा पुगेर बास बस्यौं। 

माघ २ गते हाम्रो यात्रा चितवनतर्फ बढ्यो। हामी सन् १९७३ मा स्थापना भई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जतिर लाग्यौं। साँझ चितवनको सौराहामा पुगेर त्यहाँ पर्यटन विकासले ल्याएका सकारात्मक तथा नकारात्मक पक्षको अध्ययन गर्‍यौं। 

सौराहा क्षेत्रमा रहेका आखेटोपहार प्रदर्शनी तथा सूचना केन्द्रमा जनावरका छाला, अस्थिपञ्जर लगायत अध्ययन गर्‍यौं। हामीले राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, हात्ती प्रजनन केन्द्र, वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्‍यौं। हाम्रो विद्यालय रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले हामीले राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रका विषयमा समूहगत छलफल गर्‍यौं। 

सौराहामा राप्ती खोला नजिकैको रेष्टुराँमा कफी खाँदै बगरमा लमतन्न सुतेका गोहीको पनि दर्शन गर्‍यौं। त्यहाँ पर्यटकको चाप देखेर मोहित भयौं। बेलुका थारु सांस्कृतिक कार्यक्रममा लठी नाच, मयूर नाच र अन्य नृत्य हेर्‍यौँ। नाचगानबाटै थारु संस्कृतिको चिनारी दिइँदो रहेछ।  

हाम्रो ताङतिङमा पनि पर्यटकका लागि गुरुङ संस्कृतिमा आधारित सांस्कृतिक समूह गठन गर्नुपर्ने लाग्यो मलाई। हाम्रो ताङतिङ पर्यटकीय गाउँसमेत भएकाले हामीले पनि चितवनमा एक रात होमस्टेमा बस्ने निर्णय गर्‍यौं। रातको नाचगान हेरेर हामी चितवनकै खैरहनी नगरपालिका–१२, घोक्रेलामा गयौं। 

घोक्रेला पुग्दा अँध्यारो भैसकेको थियो। हामीलाई स्वागत गर्न दरै आमा दिदीबहिनी लहरै उभिएका थिए। पाहुनाको स्वागत गर्न ज्यादै सिपालु दरैको  सम्मानबाट भावुक भयौं। यस कुमरोज दरै होमस्टे राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा र अन्य संघसंस्थाको सहयोगमा २०७१ साल पुसदेखि सञ्चालनमा आएको रहेछ। हामी पुग्दा त्यहाँका ११ घरमा होमस्टे सुविधा थियो।   

रातिको खानामा हामीले हाँस, लोकल कुखुराको मासु र दालभात खायौँ। हामी ११ वटा घरमा बाँडिएर बस्यौ। आफू बस्ने घरमा दरै संस्कृति, भाषा, रहनसहनबारे अन्तरक्रिया चलायौं।  

अर्काे दिन बिहानै दराई समुदायले व्यवस्थापन गरी सञ्चालन गरेको एकीकृत माछापोखरी, कृषि फर्म, वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्‍यौं। माछापोखरीबाट निकालिएका ताजा माछा पनि चाख्यौं। सौराहाबाट दरै होमस्टेमा पुग्न जीपमा ३० मिनेट लाग्छ। 

रमाइलो गाउँ घोक्रेलाबाट बिहानको खाना खाईवरी हामी पोखरातिर लाग्यौं। छुट्टिने बेलामा नरमाइलो लाग्यो। मानसपटलमा घोक्रेला छाइरह्यो। बिदाईका क्षणमा हामीले अर्काे साल फेरि आउने बाचा बाँधेका थियौं। साथै उनीहरूलाई पनि हामीले ताङतिङ घुम्ने निम्तो बाँड्यौं। 

माघ ३ गते राति हामी पोखरा आइपुग्यौं। भोलिपल्ट काहुँखोलाबाट बस चढेर ताङतिङ उकालियौं। हामी गाउँमा पुग्दा अन्नपूर्ण र लमजुङ हिमालले मुस्कुराउँदै स्वागत गरिरहेका थिए। उर्दूको गौंडामा ताङतिङे आमाहरू लामबद्ध भएर उभिएका थिए। आफ्नो मुटुका टुक्रालाई भेट्नेबित्तिकै उनीहरूले माला लगाइदिए। छातीमै टाँसे। 

यसरी किताबमा पढिएका पोखरा, काठमाडौं, चितवन लगायत ठाउँको घुमफिरले हाम्रा भाइबहिनीमा ऊर्जा थपियो। वास्तवमा हामीले आफ्नो गाउँ र समाजलाई बेलैमा चिन्नुपर्छ। 
(हिमालय मिलन मावि ताङतिङ, कास्कीका प्रधानाध्यापक गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश।) 

प्रकाशित मिति: : 2020-07-25 18:23:00

प्रतिकृया दिनुहोस्