पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टाइन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टाइन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।
खैरहनीमा कंकाली मावि, जनजीवन मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि, गवै मावि, पिद्रहनी चर्च, गोठेश्वर आधारभूत विद्यालय, टुंगारा आधारभूत विद्यालय, जनएकता आधारभूत विद्यालय र सलौली आधारभूत विद्यालयमा क्वारेन्टाइन बनाएको छ । डिज्नी पार्क रिसोर्टमा भने शुल्क तिरेर बस्न चाहनेका लागि क्वारेन्टाइन बनाएको छ ।
क्वारेन्टाइन बनाएको आधारभूत विद्यालय खरखुट्टे खाली गरिएको छ । अब बाँकी क्वारेन्टाइन पनि खाली गरिँदै जाने प्रमुख चौधरीले बताए । विदेशबाट आउने र कोरोना सङ्क्रमण देखिएका जिल्लाबाट आएकालाई अब राधास्वामी सत्सङ भवन, दुर्गा मन्दिरस्थित पर्सा खानेपानीको भवनमा बनाएको क्वारेन्टाइनमा राखिनेछ ।
खानेपानी भवनको क्वारेन्टिानमा विदेशबाट आएकाहरु बस्न शुरु गरिसकेको छन् । साउनभित्र विद्यालय सरसफाई गरेर तयारी अवस्थामा राखिने उनले बताए । “सरकारले भदौ १ गतेदेखि भर्ना शुरु गर्न निर्देशन दिइसक्यो”, प्रमुख चौधरीले भने, “पठनपाठन सुचारु गराउने गरि हामी तयारी गर्दै छौँ । राधा स्वामी सत्सङ भवनले निःशुल्क रुपमा क्वारेन्टिानलाई ठाउँ उपलब्ध गराएको छ ।”
ठाउँसँगै खानाखाजासमेत सोही संस्था उपलब्ध गराउन तयार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । सो संस्थामा मानिस बस्न शुरु गरेपछि खानेपानीको क्वारेन्टाइनमा समेत उनीहरुले नै खानाको व्यवस्था गराउन इच्छुक भएको शर्माले जानकारी दिए ।
राधा स्वामी भवनमा ३० जना र खानेपानीको भवनमा १८ जना अट्ने क्षमताको क्वारेन्टाइन बनाएको हो । डिज्नी पार्क रिसोर्ट बाहेक अन्य क्वारेन्टाइनमा हाल खैरहनी नगरपालिकाले नै खानाखाजाको व्यवस्था गर्दै आएको छ ।
यहाँ रहेका क्वारेन्टाइनमा हाल ५४ जना छन् । खैरहनीका क्वारेन्टाइनमा कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ आएका २६१ जना भने घर फिर्ता भईसकेका छन् ।