सत्ता, बन्दुक र बर्दीको उन्मादले एउटा निर्धो युवाको ज्यान गयो । त्यत्रो अत्याचार सहेर पनि चेपाङ समुदाय १० दिनसम्म मौन रह्यो । मौनताको यो मूल्य गणतन्त्र नेपालमा चर्को भएन र ?
साह्रै नरमाइलो खबर, गैंडा मार्नेहरू यो देशमा करोडपति भएका छन्, निकुञ्जभित्र घुँगी टिप्ने विपन्न चेपाङ युवालाई भने सेनाले कुटी–कुटी मारेको छ । चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय युवा मारिएको विषयमा चेपाङ समुदाय आन्दोलित छ । दोषीलाई कारबाही गर्नुको सट्टा सरकारले पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्तिको प्रस्ताव गरेको छ । तर, चेपाङहरू भने परिवारले न्याय नपाएसम्म शव नउठाउने अडानमा छन् ।
अनाहकमा युवा मारिएको विषयमा विरोध गर्न चेपाङ समुदायका अगुवाहरू बिहीबार र शुक्रबार लगातार भरतपुरस्थित सिडिओ कार्यालय आएका थिए । शुक्रबार दिनभर पनि सिडिओसँग वार्ता भयो, असफल वार्ताको विवरण समेटेर मैले काठमाडौं डेस्कमा समाचार पनि फाइल गरिसकेको थिएँ । तर, मृतकका बाबुआमा र श्रीमती जो भरतपुर आउन सकेनन्, सिडिओको अगाडि बोल्न पाएनन्, उनीहरूको आवाज सरकारसम्म कसरी पु¥याउने ? डेस्कको प्रश्न थियो । निर्देशन आएपछि साँझ नै म मोटरसाइकल चढेर चेपाङबस्तीतिर गएँ ।
म चेपाङबस्ती पुग्दा राति ९ बजिसकेको थियो । राजकुमारको घर पुगेँ । रको नाममा वास मात्रै थियो, टिनको छाप्रो । रातिमा को आयो फेरि ? सरकारको मान्छे होला भनेर सुरुमा उनीहरू बोल्न डराए । तर, मैले आफ्नो परिचय दिएर विश्वासमा लिएँ । त्यसपछि उनीहरू बोल्न थाले । बोल्नु के थियो, रुन थाले । यो कुनै दुर्घटना होइन, अत्याचार हो, अत्याचारका विरुद्ध आँसु होइन, आवाज चाहिन्छ, हामी सबै बोल्नुपर्छ भनेपछि आमा आइतीमायाले कथा सुरु गरिन् ।