काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक मङ्गलबार केहीबेर बसेर स्थगित भएसँगै सो पार्टीमा बढेको विवाद पनि तत्कालका लागि युद्धविरामको अवस्थामा पुगेको छ । विवाद चरमोत्कर्षमा पुगेका बेला मङ्गलबार बसेको सो पार्टीको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा नेता कार्यकर्तालाई खटिन अपिल गर्दै साता दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
बाढी पहिरो नेकपाका लागि बैठक स्थगित गर्ने दोस्रो पटक बहाना बनेको हो । ‘बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिका कारण २३३ जनाको ज्यान गएको छ । ९८ जना बेपत्ता छन् भने ९९ जना घाइते भएका छन्,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लाग्ने निर्णय भएको सुनाए ।
झट्ट सुन्दा यो निर्णय राम्रो र ठीकै पनि हो । तर अघिल्लो पटक पनि यस्तै निर्णय गरेर बैठक स्थगित गरेको यो पार्टीका नेता कार्यकर्ता त्यसबेला न कतै पीडितको राहतमा खटिए न उद्धारमै ? अरू नेता कार्यकर्ताका तर्फबाट सिङ्गै अध्यक्ष प्रचण्ड तीन दिन चितवनका विभिन्न कार्यक्रममा सहभागी बनेर काठमाडौँ फर्किए । जब कि त्यसबेला सिन्धुपाल्चोक, जाजरकोट, म्याग्दी लगायतका जिल्ला बाढी पहिरोबाट प्रभावित थिए । प्राकृतिक विपत्तिको यो अवस्थालाई ध्यानमा राख्दै उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न पनि नेकपाले सरकारको ध्यानाकर्षण गराएको छ ।