( वसन्ततिलका छन्द )
मानापमान सबमा बन धैर्यशाली
मालिन्यले मनमनै दुख दिन्छ खालि
सोचे पछाडि परिणाम विकल्प बारे
प्रारब्ध वा नियतिमा अनि शेष छाडे॥१॥
दुर्दम्य हुन्छ जहिले मनभित्र क्लेश
दुष्कर्ममा अति रमाउन थाल्छ द्वेष
नैराश्यला जतिसके नितनित्य टारे
प्रारब्ध वा नियतिमा अनि शेष छाडे॥२॥
भोग्नैछ जान जगमा सुखदुःख सारा
यै हो अनन्त चलने भवचक्र धारा
अध्यात्म चिन्तनगरी मनला सुधारे
प्रारब्ध वा नियतिमा अनि शेष छाडे ॥३॥
कर्मण्यको फल सधैं अति हुन्छ मीठो
पापादि कर्म जतिले फल दिन्छ तीतो
चैतन्यला वशगरी सब यी विचारे
प्रारब्ध वा नियतिमा अनि शेष छाडे॥४॥