प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अयोध्याको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र चर्को आलोचना भइरहेको छ।
‘अयोध्या भनेको नेपालको वीरगन्जदेखि अलिकति पश्चिममा पर्छ। सीता भारतका राजकुमारलाई दिएको भन्ने हामीलाई लागेको होला तर, त्यो ठाउँ पनि भारतको होइन, व्यक्त्ति पनि भारतका होइनन्,’ प्रधानमन्त्री ओलीले भानुजयन्तीको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भनेका थिए।
ओलीको अभिव्यक्तिलाई लिएर अयोध्याका सन्त रहेका राम दल ट्रस्टका अध्यक्ष रामदास महाराज सडकमा उत्रिने चेतावनीसमेत दिएका छन्। वेद र पुराणमा हवला दिँदै उनले नेपालमा सरयू नदी नै नरहेको बताएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रामदासले नेपालमा आफ्ना लाखौं शिष्य रहेको र उनीहरु ओलीविरुद्ध सडकमा उत्रिने बताएका हुन्।
रामदासले ‘नेपालका प्रम ओलीले एक महिनाभित्र कुर्सी छाड्नुपर्ने’ बताउँदै आफू धर्मादेशमा जारी गर्ने बताएका छन्। ‘मेरा शिष्य सडकमा उत्रिउन र ओलीलाई सत्ता बाहिर गरुन,’ उनले भनेका छन्।
विश्वको सांस्कृतिक राजधानी अयोध्या रहेको भन्दै उनले वेद, रामायण वा पुराणमा हेर्न उल्लेख गर्दे रामदासले ‘जहाँ सरयू छ, त्यहाँ अयोध्या रहेको र नेपालमा सरयू नरहेको दाबी गरेका हुन्।
त्यतिबेला पूरे भूमण्डलमा राजा हुने गरेको र सबैका चक्रवर्ती राजा भारतको उत्तर प्रदेशको अयोध्याका महाराज हुने गरेको समेत उनले उल्लेख गरेका छन्।