भियतनाममा खुल्यो २५ तले सुनको होटल

भियतनामको राजधानी हनोईमा विश्वको पहिलो सुनले पोतिएको होटल निर्माण भएको छ। 

होटलको नाम ‘डोल्चे हनोई गोल्डन लेक’ राखिएको छ। होटलका मालिक हो बिन समूहका अध्यक्ष गुयेन हू डुओन्ग हुन्। उनले होटलको मुख्य द्धारको माथिल्लो छत सुनको भएको तथा अन्य ठाउँ सुनको पाताले घेरिएको बताएका छन्। 

होटलको निर्माणमा २० करोड डलर खर्च भएको छ भने होटलको कोठादेखि खानामा प्रयोग हुने काटा, चम्चा सुनको पाताले बनाइएको छ। होटलमा भएको ट्वाइलेटको सीट पनि सुनको पाताले निर्माण गरिएको छ। 

सबैको यो होटलमा बस्ने सपना पुरा नहुन सक्छ, किनभने यहाँ बस्न निकै चर्को रकम तिर्नुपर्ने हुन्छ।  

तर, चिया र कफीको पारखीका लागि भने केही समय यहाँको रेस्टुरान्टमा बस्ने मौका  हुनेछ। चिया र कफी पनि सुनको कपमा सर्भ गरिने बताइएको छ। यहाँ सुनको बाथटबमा बसेर नुहाउने सुविधा पनि छ।

होटल व्यवस्थापनले आउँदो वर्ष होटलले राम्रो व्यापार गर्ने आशा व्यक्त गरेका छन्। अहिले कोरोनाका कारण विश्व त्राहिमाम रहेको बेला होटलको खासै व्यापार देखिदैन। 

होटल मालिक गुयेनले यो पुरै प्रोजेक्टमा आफूले सोचेभन्दा कम खर्च भएको बताएका छन्। गुयेनको भियतनामा सुनको प्लेट बनाउने आफ्नै कारखाना छ। त्यसैले अपेक्षा गरेभन्दा कममा धेरै काम सल्टिएको उनको भनाई छ। यो होटलमा जो मानिस बाथटबमा नुहाउन चाहन्छन्, उनीहरूले प्रति रात्री २ सय ५० डलर खर्चिनु पर्ने हुन्छ। 

होटलमा एउटा विशाल पुल पनि छ। जुन सुनकै प्लेटले बनेको छ। यसमा बसेर शहरको सबै वातावरण हेर्न सकिन्छ। यसमा नुहाउन पनि मिल्छ। किताब र फिल्ममा प्रायः राजा महाराजाको कहानी पढ्ने र हेर्न रुचाउनेका लागि यो सूवर्ण अवसर पनि हो। 

होटलमा सुनले पालिस गरिएको सिढी पनि छ। लकडाउनका कारण पूर्ण रूपमा बन्द भएको यो होटल भर्खरै खुला गरिएको हो। 

होटल २५ तल्लाको छ। होटल मालिक गुयेनका अनुसार यहाँ खाना खान आउने व्यक्तिलाई थालमा ‘स्वर्ण भस्म’ मिलाएर पस्किने छ। प्राचीन समयमा राजा महाराजाको खानामा यस्तै ‘स्वर्ण भस्म’ मिलाउने गरिन्थ्यो।

प्रकाशित मिति: : 2020-07-09 18:14:21

प्रतिकृया दिनुहोस्