सरिता गिरिको सांसद पद गुम्यो

समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ। संघीय संसद सचिवालयले बिहिबार गिरीको सांसद पद गुमेको जानकारी निर्वाचन आयोगलाई गराएको हो।

दलको ह्विप उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीले गिरीलाई साधारण सदस्यसमेत नरहने गरि पार्टी र सांसदबाट हटाएको जानकारी आयोगलाई दिएको थियो।

संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गरेका हुन्।

नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन्। उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्।

त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन्।

सरिता गिरीलाई कारबाही गरेपछि सिटौलाको भाग्य खुल्यो

यसैबीच समाजवादी पार्टीबाट ललितपुरकी लिला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन्।

समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी गिरीलाई पार्टीले कारवाहीगरेसँगै बन्दसूचीमा उनीभन्दा तल रहेकी सिटौला स्वतः सांसद बन्न पाउने भएकी हुन्।

पुरानै वामपन्थी कार्यकर्तासमेत रहेकी ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन्।

यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन्। तर, सरिता गिरीले लफडा गरेपछि लीलाको नाम पछाडि राखेर उनको नाम माथि राखिएको थियो।

तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिकतर्फबाट ६ सीट पाएको थियो। त्यसमध्ये एक पुरूष र ५ महिला सांसद बनेका थिए ।

पुरुषतर्फ आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद बनेका थिए । खस आर्यको कोटामा सरिता गिरी छानिएकी थिइन् । आदिवासी जनजाति महिलामा रेनुका गुरुङ, दलित महिलामा कलुदेवी विश्वकर्मा, मधेसी महिलामा रेणुकुमारी यादव र मुस्लिम महिलामा रुही नाज छानिएका थिए।

निर्वाचन आयोगले रिक्त समानुपातिक सांसदमा बन्दसूचीमा जो पछाडि छ, उही सांसद बन्ने स्पष्ट पारिसकेको छ। यसै साता कांग्रेस सांसद ज्ञानुकुमारी छन्त्यालको निधन भएकोमा आयोगले उनीपछि रहेकी सुवर्ण ज्वारचनलाई सांसद बनाउनुपर्ने स्पष्ट पारेको छ। अब यही नजीरअनुसार सांसद बन्नका लागि लीला सिटौलाको भाग्य खुलेको हो।

प्रकाशित मिति: : 2020-07-09 16:57:43

प्रतिकृया दिनुहोस्