एकताका मातृका यादव पार्टीमा जे बोल्थ्यो, तराई–मधेसमा त्यही लागू गरिन्थ्यो। कसलाई मार्नु छ र कहाँबाट कति रकम असुल गर्नु छ भन्ने मातृकाले भनिदिए पुग्थ्यो। पार्टी निर्णयको कुनै आवश्यकता पर्दैन्थ्यो। भारतमा अपात्कालका बेला देवकान्त बरुवाले भनेजस्तै इन्डिया इज इन्दिरा, इन्दिरा इज इन्डिया। त्यस्तै मधेस इज मातृका र मातृका इज मधेसजस्तै थियो जनयुद्धकालमा। पार्टीमा मातृकाको रबाफ हेरेर लाग्थ्यो, सिंगो मधेस उसको मुठीमा छ। हो पनि। माक्र्सवादी पण्डित नभए पनि पार्टीभित्र उनले मधेस र मधेसी जनताका पक्षमा जेजस्ता सैद्धान्तिक र वैचारिक निर्णय गराए, त्यसले राष्ट्रिय रूपमा मधेसी पहिचानको स्थापनामा ऐतिहासिक भूमिका निर्वाह गरेकै हो।
पार्टी शान्तिपूर्ण अवतरणकालमा काठमाडौंका भित्तामा लेखिएको ‘गर्वसँकहु हम मधेसी छी भगौडा नही धरतीपुत्र छी’ नाराले लाखौंलाख नेपालीको मन छोएकै हो। आफ्नो मातृभाषामा शपथ ग्रहण गर्न नदिए मन्त्री पद पनि खान्न भन्ने चट्टाने अडान लिने नेपालको इतिहासमा एक मात्र मातृका यादव नै हुन्। भ्रष्टाचारीलाई थर्कमान पार्ने मातृकै हुन्। मातृकाको यिनै हठधर्मिताका कारण ठूलाठूला माक्र्सवादी पण्डितहरू पनि उनका सामु ठिगनाजस्ता देखिन्थे।