तनहुँमा चार्जिङ स्टेशन निर्माण थालियो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण शुरु भएको छ। 

विद्युतीय सवारी साधनको प्रवर्द्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित डुम्रेमा चार्जिङ स्टेशन बनाउन लागिएको हो । 

सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल स्टोर्समा चार्जिङ स्टेशन निर्माण शुरू भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए। चार्जिङ स्टेशनका लागि वन कार्यालयले पाँच लाख अनुदान सहयोग गरेको छ।

वन तथा वातावरण मन्त्रालयको सशर्त अनुदानअन्तर्गत विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने र पेट्रोलियम पदार्थ खपत कम गर्दै वातावरणमा शुद्धता ल्याउने उद्देश्यसहित तनहुँमा पहिलो पटक सो निर्माण शुरू गरिएको हो। 

“काठमाडौँ र पोखराको केन्द्रविन्दुमा चार्जिङ स्टेशन निर्माण हुने भएकाले यहाँ निर्माण हुने स्टेशनले धेरैलाई प्रत्यक्ष लाभ पुग्नेछ,” उनले भने, “यस चार्जिङ स्टेशनबाट साना तथा ठूला विद्युतीय सवारी साधन चार्ज गर्न सकिन्छ।”

स्टेशनको सम्पूर्ण व्यवस्थापन कुवेर आयल स्टोर्सले गर्नेछ। चार्जिङ स्टेशनका लागि अन्य आवश्यक व्यवस्थापन बन्दीपुर गाउँपालिकाले समेत गर्नेछ। रासस

प्रकाशित मिति: : 2020-07-06 12:16:33

प्रतिकृया दिनुहोस्