डायलासिसले प्राण धानेका बिरामी भन्छन्, ‘जिउँदा लास जस्ता छौं’ (भिडियाे)

बर्दियाको गेरूवा गाउँपालिका–४ का गोपाल विक मृगौला पीडित हुन्। उनका दुबै मृगौलाले काम गर्दैनन्। उनलाई हप्तामा अनिवार्य दुई दिन डायलासिस गर्नुपर्छ। लकडाउनका कारण उनी तीन महिनायता अस्पतालमै बसेर डायलासिस गराइरहेका छन्।

लकडाउनका कारण घर जान नपाएका विक दम्पत्ति नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बस्न थालेको पनि तीन महिना भयो। उनको उपचार र स्याहार गरिरहेकी छिन्, श्रीमती राधा विकले।

बिरामीका कारण उठ्न समेत नसक्ने गोपालको सुसारे मात्रै होइन दुःख र सुखकी एकमात्र सहयात्री हुन् उनी। मृगौला पीडित श्रीमानको उपचारको लागि लकडाउनका कारण अस्पतालमै बस्नु परेको राधा बताउँछिन्। उनका अनुसार खाने, बस्ने र उपचारको लागि निकै सकस भइरहेको छ।

लकडाउनको अवधिमा उनीहरुको दैनिक खर्च कसरी चलिरहेको छ? उनी भन्छिन्, ‘हप्ताको दुई दिन डायलासिस गर्नुपर्छ। श्रीमानलाई खुवाउँनै पर्‍यो। आफू पनि खानै पर्‍यो। एक महिना क्यान्टिनमा उधारो खाएँ।’

एकातिर श्रीमानको उपचार, अर्कातिर उधारोमा खादाँ झन् ऋण थपिएको छ। केही पनि विकल्प नपाएपछि अस्पताल नजिकैको होटलमा भाँडा माझिन्। दुवै जनाको खाना खर्च जुटाउन होटलमा भाँडा माझ्ने काम गरेको उनले बताइन्।

‘उहाँ दिनभर अस्पतालको भूईमा सुत्नुहुन्छ। म नजिकैको होटलमा दिनभर भाँडा माझ्छु। यसरी नै चलिरहेको छ,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्।

साँझ बिहानको छाक टार्न र उपचारको लागि होटलमा भाँडा माझिरहेकी छन्, उनी। कुराकानी गर्ने बेला उनी सिकिस्त श्रीमानको छेउमै गालामा हात लाएर बसिरहेकी थिइन्। कुराकानी गर्दै जादाँ गोपालको बिमारको विषयमा बेलिविस्तार लगाउन थालिन्।

‘दुई वर्ष अघिको कुरा हो। स–परिवार भारतको गडवालमा थियौं। तीन छोरी र एक छोरा छन्। काम ठिकै चलिरहेको थियो। उहाँ पल्लीदारी गर्नुहुन्थ्यो। म जे पायो त्यहीँ काम गर्थे। काम ठिकै चलिरहेको थियो।

तर एक्कासी उहाँका हात खुट्टा सुनिन थाले। अस्पताल लगियो। डाक्टरले औषधि दिए।  सन्चो भएन।  अलिअलि कमाएको सकिन थाल्यो। सबै जना बर्दिया आयौं। यहाँ कोठा भाँडामा लिएर बस्यौं। झन्–झन् अप्ठयारो हुन थाल्यो। दुई पटक जति म आफैं भारत गएर औषधि ल्याएँ। आयुर्वेधिक औषधिले पनि काम गरेन। धेरै खर्च लाग्यो। 

बिमार सन्चो हुने केही लक्षण नै देखिएन। नेपालगञ्जको भेरी अस्पताल ल्यायौं। भेरी अस्पतालले यहाँ सकिँदैन, कोहलपुर लैजानुहोस् भन्यो। तीन महिना अघिको कुरा हो। मृगौला फेल भएको थाहा भयो। यहाँ डायलासिस गर्ने भनेर आएको बेला लकडाउन भयो।

जेनतेन हप्तामा दुई पटक डायलासिस भइरहेको छ। गोपालको उपचारको लागि अहिलेसम्म १० देखि १२ लाख सम्म खर्च भइसक्यो। लकडाउनको अवधिमा मात्रै ३–४ लाख रुपैयाँ खर्च भइसकेको छ। डायलासिसकै भरमा श्रीमानको प्राण धानिएको छ।’

श्रीमानको मृगौला गुम्यो, परिवारको बाँच्ने आधार गुम्यो

अस्पतालको दोस्रो तलामा मानिसहरुको बाक्लो आवातजावत चलिरहेको हुन्छ। विभिन्न रोगका बिरामी र कुरुवाले भरिएको छ। कोही पल्टिरेहका छन्, कोही छेउमा बसिरहेका छन्।

तीन महिनादेखि उक्त तलाको भुईमा पल्टिरहेका मध्येका एक हुन्, रूकुम पश्चिमका मृगौला पीडित पुण्य सार्की। उनका पनि दुवै मृगौला फेल भएका छन्। डायलासिस नै हो उनको बाँच्ने आधार। आधा शरीर मृत अवस्थामा छ। उनी राम्ररी बस्न पनि सक्दैनन्। बोली पनि प्रस्ट आउँदैन।

पुण्यलाई खाना खुवाउन, पानी पिउन र दिशापिसाब गराउनको लागि बोक्नुपर्छ। जिउँदो लास झैं अस्पतालमा मरिमरि बाँचिरहेका श्रीमानको सेवामा खटिरहेकी छन्, युमा विक।

हामीले भेट्दा उनी बिरामी श्रीमानलाई प्लाष्टिकको गिलासमा पानी खुवाइँरहेकी थिइन्। अस्पताल मै कपडाको कालो रङको मास्क लगाएका उनका मुख होइन आँखा बोलिरहेका थिए।

‘यस्तो जीवन जिउनुभन्दा त मर्न पाएको भए आनन्द हुन्थ्यो कि,’ उनको छटपटीले यस्तै संकेत गर्थ्र्यो। बोल्न खोज्थे, तर ठूलो स्वरले बोल्न सकिरहेका थिएनन्।

‘मरिमरि बाँचेको छु। उपचारको लागि सबै घर जग्गा बेचिसके। यहाँ के उपचार हुनु। दैनिक खानलाउन समस्या भएको छ। सबैलाई मलाई बचाईदिन आग्रह गर्छु,’ मसिनो स्वरमा भने। 

६ जनाको परिवार पाल्न उनी गाउँमै मिस्त्रीको काम गर्थे। विगत तीन वर्षयता भने बिरामीले थला परेका छन्। युमाका अनुसार पहिला एउटा मृगौलामा खराबी थियो। उपचार गर्न पैसा भएन। मजदुरी गरेर कमाएको पैसाले खानलाउन ठिक्कै हुन्थ्यो।

अहिले दुबै मृगौला फेल भएपछि अस्पतालमै बेवारिसे अवस्थामा बस्नुपरेको छ। हप्तामा दुई दिन डायलासिस हुन्छ।  अरू बेला मागेर खानुको विकल्प छैन। श्रीमानको उपचारको लागि स्थानीय आमा समूहमा ऋण निकालेकी थिइन्।

मृगौला प्रत्यारोपणको लागि विकल्प छैन। तर उनको घरको आर्थिक अवस्थामा भन्दा निकै बाहिरको कुरा हो, प्रत्यारोपण। ‘उहाँको मृगौला फेल भयो, हाम्रो आम्दानीको स्रोत बन्द छ। मर्ने, बाँच्ने ठेगान छैन। लकडाउन छ,’ उनले दुःख पोखिन्। पुण्यको अस्पतालमा बेवारिसे रूपमा मर्नुभन्दा घरमै अन्तिम स्वास फेर्ने धोको छ।

अब उनी धेरै बाँच्छिन् जस्तो लाग्दैन

सुर्खेतको भेरीगंगा नगरपालिका–९ कि मैसरी कामीको पनि मृगौला फेल भएको तीन वर्ष बितिसक्यो। उनले पनि डायलासिस नै गराइरहेकी छिन्। उनी पनि तीन महिनादेखि कोहलपुरमै छिन्।

लकडाउन हुनुभन्दा पहिला हप्तामा दुई पटक आउनु पर्थ्यो। लकडाउनको समयमा गाडी नचलेका कारण अस्पताल मै बसेर डायलासिस भइरहेको छ। त्यो पनि समय मै हुँदैन। पछिल्लो दुई साता यता श्रीमतीको डायलासिस नभएको श्रीमान गाइने कामी बताउँछन्।

बिरामी बढी भएका कारण आफ्नी श्रीमतीको पालो नभएको उनले बताए। हप्तामा दुई दिन डायलासिस गरेन भने निकै गाह्रो हुन्छ। तर अस्पतालमा राम्रो व्यवस्थापनको अभावमा समयमा डायलासिस हुन सकिरहेको छैन। बिरामीको लागि बेडकोसमेत व्यवस्था छैन। उनीहरुले भूईमा सुतेर तीन महिना कटाइसके।

लकडाउन भन्दा अगाडि मृगौला प्रत्यारोपणको लागि काठमाडौं गए पनि समय नपाइएका कारण आफू फर्किन बाध्य भएको उनको दुःखेसो छ। मैसरीको उपचारको लागि मात्रै हाल सम्म १२ लाख रुपैयाँ खर्च भइसक्यो। अझै कति खर्च गर्नु पर्ने हो थाहा छैन।

‘अहिले त पैसा पनि सकियो। प्रत्यारोपणको लागि त्यति पैसाँ कहाँबाट ल्याउने? घरमा कमाउँने एक जना छोरा मात्रै छन्। म यीनकै उपचारको लागि बसिरहेको छु। खै अब त बाँन्छिन् जस्तो लाग्दैन,’ चरम निराशा प्रकट गर्दै उनले भने।

यिनीहरु त एक उदाहरण मात्रै हुन्। यहाँ सयौं जनाको अवस्था यस्तै छ। शिक्षण अस्पतालमा हाल ८० जना डायलासिसका बिरामी छन्। डायलासिस निःशुल्क हुने गरेको छ। तर अन्य खर्च भने बिरामी स्वयमले व्यहोर्नुपर्छ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टर देवेन्द्र आचार्यका अनुसार मृगौला रोगीको लागि प्रत्यारोपण नै उपयुक्त विकल्प हो।

तर आर्थिक अवस्था कमजोर भएकाहरु केही समय ज्यान जोगाउनको लागि डायलासिस गर्न आउने गरेको उनले बताए। कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर पाँचका डायलासिसका बिरामीहरु रहेको अस्पताल प्रशासनले जनाएको छ।

 

प्रकाशित मिति: : 2020-07-05 11:53:26

प्रतिकृया दिनुहोस्