अहिले गाउँ फर्केका मानिस कृषिमा बसे भने गरिबीको दर उल्लेख्य रूपमा बढ्छ । दलित र भूमिहीनहरू थप मारमा पर्छन् । साना किसानहरू कृषि श्रमिकमा फेरिनेछन् । किनकि नेपालको कृषिमा अहिले नै कृषिले धान्नेभन्दा बढी जनशक्ति छ । थप मानिस सामेल हुँदा प्रतिएकाइ सीमान्त उत्पादकत्व कम हुन्छ, त्यसले अझै अर्ध–बेरोजगारीको संख्या बढाउँछ।
कोरोनाले लकडाउन सुरु भएपछि नेपालको सहरी क्षेत्रमा धेरै रोजगारी गुमेका छन् । चैतदेखि यता देशका सहर र विदेशका महानगरमा काम गर्न पुगेका मानिसहरू हुलका हुल गाउँतिर फर्कंदै गरेका दृश्य देखिए । जीविकाका स्रोत साँघुरिँदै जाँदा नेपाली युवाहरूले श्रमका लागि आन्तरिक तथा बाह्य बसाइँ–सराइ गर्न थालेको दुई सय वर्षदेखिको डकुमेन्टेड परम्परा छ । अहिले विदेशी सेनामा जानेबाहेक चारथरी मानिसहरू यस्तो श्रमबजारमा पुग्छन्, जो फर्किरहेका छन्– देशभित्रकै विभिन्न सहर तथा अरू क्षेत्रका निर्माण उद्योग, कारखाना र सेवाक्षेत्र तथा अनौपचारिक क्षेत्रमा जानेहरू, भारतका विभिन्न सहर तथा कालापहाडतिर मौसमी या स्थायी रूपमा काम गर्न जानेहरू । खाडी क्षेत्र मलेसीया, दक्षिण कोरीया, इजरायल, जापान, इराक अफगानिस्तानलगायत देशमा काम गर्न जानेहरू । विद्यार्थी या पर्यटन भिसामा युरोप, अमेरिका र अस्ट्रेलिया गएर वैध–अवैध रूपमा उतै बसेर काम गर्ने र कमाउनेहरू । नेपालका निर्माण क्षेत्रमा काम गर्ने र सहरको असंगठित क्षेत्रमा काम गर्नेहरू सेवाक्षेत्रबाट केही समयका लागि गाउँ फर्केका छन् । त्यस्तै भारतबाट मात्र ७ लाख मानिसहरू आए भन्ने अनुमान गरिएको छ । कोरोनाका कारण तेस्रो देशबाट आउनेहरूको संख्या चार लाखसम्म पुग्ने अनुमान छ ।