‘म अफिसबाट फर्कदा आज पनि ऊ ठ्याक्कै त्यसै गरेर घरको कौशीमा बसेर मलाई हेरिरहेको थियो। थाहा छैन किन ऊ हरेक दिन म अफिसबाट आउँदा र जाँदा त्यसरी एकनासले हेरिरहन्छ। दुब्लो शरीर अनि अग्लो कद। हेर्दा पनि ठिकै त्यो व्यक्ति किन त्यसरी मलाई हेरिरहेछ?,’ धेरै दिनदेखि यी कुराहरू मेरो मानसपटलमा नाँचिरहेको थियो तर मैले उसलाई यो कुरा सोध्ने हिम्मत पनि गरिनँ।
सोध्नु पनि कसरी? ऊ त्यो कौशीबाट तल ओर्लिने भए पो। कस्तो अचम्म न ऊ कहिल्यै मसँग बोल्छ न उसलाई मेरो बारेमा केही थाहा छ तै पनि म आवतजावत गर्दा ऊ एकोहोरो किसिमले सधैं हेरिरहन्छ। फेरि त्यो घरमा मैले अरू कोही पनि देखेकी छैन अहिलेसम्म एकजाना बुढीआमा र ऊ सिवाय।
त्यस दिन जब म अफिसबाट घर फर्किरहेकी थिएँ संयोगवस उसकै घरको तल ऊसँग मेरो जम्काभेट भयो। आश्चार्यचकित मैले उसलाई हेरिरहेँ। सधैं मलाई घरको कौशीबाट मात्रै हेर्ने ऊ मेरो आँखाको सामुन्ने थियो। उसले मेरो बाटो छेक्यो। आफ्नो हात अगाडि बढाउँदै भन्यो,‘हेलो म अनिल!’ मलाई अलि डर लागेको महसुस भयो। मैले केवल नमस्कार गरेर आफ्नो नाम भनेँ, ‘म अमृता’ त्यतिमात्रै भनेर म त्यहाँबाट सरासर हिडेँ। घर पुगेर फ्रेस भएर ल्यापटप अन गरेर फेसबुक खोलेँ। फेसबुकमा उसैको ‘फ्रेण्ड रिक्वेस्ट’ आएको थियो, जसलाई मैले केहीबेर अगाडि अफिसबाट घर आउने क्रममा देखेकी थिएँ। छक्क परेँ, ‘जसलाई मैले आफ्नो नाम बाहेक केही भनेकी थिईनँ उसले कसरी मलाई फ्रेण्ड रिक्वेस्ट पठायो?’ केहीबेर सोचमग्न रहेँ। उसको प्रोफाईल पूरै हेरेँ। कति गम्भीर र भावुक स्टाटस लेखेको थियो। उसको स्टाटस हेर्दा लाग्थ्यो ऊ निकै पीडामा छ।
मैले फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेँ। फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेको केही बेरमै उसको म्यासेज आयो, ‘मलाई चिन्यौ’ मैले स्माईलीको ईमोजीसँगै रिप्लाई गरिदिएँ, ‘किन नचिन्नु?’ थाहा छैन किन किन उसको कुराहरु मलाई राम्रो र मिठो लाग्न थाल्यो। त्यसै दिनबाट उसको र मेरो कुराकानी हुन थाल्यो।
मैले भर्खरै ब्याच्लर सकेर आई.एन.जी.ओ मा काम सुरु गरेकी थिएँ। बुवा र आमा हरेक दिन मेरो विवाहको कुरा गर्नुहुन्थ्यो। तर खै मेरो मन विवाहबाट पर भागिरहेको थियो। सायद आफूले सोचेको जस्तो मान्छे नभेटेर पनि हो कि! त्यसो त जीवनको गोरेटोमा धेरै मानिसहरु भेटिए तर सबै स्वार्थको लागि मात्रै माया गर्ने। म सोच्दा सोच्दै फेरि विगतमा पुगेँ।
***
बुवा प्रोजेक्टमा काम गर्नुहुन्थ्यो। आमा स्कूलमा पढाउनुहुन्थ्यो। म बुवाआमाकी एक्ली छोरी थिएँ। सबै कुरा राम्रै चलिरहेको थियो। बुवा र आमाले दुःख गरे पनि मैले कहिल्यै दुःखको अनुभव गर्नुपरेन। सायद उहाँहरुको एक्लो सन्तान भएर पनि होला उहाँहरू मलाई निकै माया गर्नुहुन्थ्यो। एकदिन सँगै बसेर गफ गर्दा बुवाले भन्नुभयो, ‘छोरी तिमी हाम्री आँखाकी नानी हौ। मन त छ कि तिमीलाई सधैं आफैंसँग राखुँ तर हाम्रो समाज र संस्कारले त्यसो गर्न कहाँ दिन्छ र? त्यसैले अब तिमीले विवाह गर्नुपर्छ छोरी।’ बुवाको कुरा सुन्नासाथ मेरो आँखाबाट आँशु आयो। म आफूलाई बच्चै सम्झिन्थेँ। मैले आँखाभरी आँशु पार्दै भनेँ, ‘म तपाईँहरूलाई छोडेर कतै जान्न बुवा।’ बुवाले फेरि मलाई सम्झाउँदै भन्नुभयो, ‘भावनामा बग्नु र यर्थाथमा जिउनु छुट्टै कुरा हो छोरी। जिद्दी नगर, मेरो एक जना साथीले एउटा केटाको कुरा ल्याएको छ तिमी ऊसँग एकपटक भेट।’ एकछिनको मौनतापछि फेरि बुवाले भन्नुभयो, ‘सायद उसले तिमीलाई फ्रेण्ड रिक्वेस्ट पठाउला।’ मनमनै सोचेँ यो भर्चुअल संसारमा कति सजिलो छ एकअर्कासँग जोडिन। नभन्दै त्यस रात बुवाले भन्नुभएको केटाको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो। उसको नाम सुशान्त रहेछ।
उसैले कुरा सुरू गर्यो। फोटो हेर्दा त मलाई खासै राम्रो लागेको थिएन। तर उसका ठूला र गहकिला कुराले मेरो मन पगाल्दै गयो। निकै लामो म्यासेन्जरमा भएको भलाकुसारीपछि उसले र मैले एक अर्कासँग भेट्ने बाचा गरेर म्यासेन्जरबाट डिसकनेक्ट भयौं।
त्यसदिन आमा बुवालाई भनेर म उसलाई भेट्न झम्सीखेलको एउटा क्याफेमा गएँ। सुशान्तकै ईच्छा अनुसार म त्यहाँ गएको थिएँ। तर उसले लिएर गएको त्यो क्याफे यति शान्त थियो कि त्यहाँ मुस्किलले दुई तीन वटा टेबल ओगटिएका थिए। पहिलोपटक कोही केटा मान्छेलाई म एक्लै भेट्न गएकी थिएँ। त्यो पनि त्यस्तो शान्त ठाउँमा। मलाई निकै डर लाग्यो। मैले मनमनै सोचेँ, ‘काठमाडौंमा यति धेरै क्याफेहरु छन् तै पनि उसले मलाई किन यस्तो सुनसान क्याफेमा ल्यायो?,’ क्याफेमा ‘हट लेमन’ अर्डर गरेर ऊ बाहिर निस्कियो। थाहा छैन किन किन त्यो क्याफेको वातावरणले मेरो मन त्यसै त्यसै त्रसित भईरहेको थियो। वेटरले ‘हट लेमन’ लिएर आउँदा सुशान्त ‘वासरूम गएर आउँछु ’ भनेर निस्केको थियो। वेटरले मेरो अगाडि एउटा ‘हट लेमन’ अनि मेरो विपरित अर्को ‘हट लेमन’ राखिदियो। थाहा छैन किन मेरो मनमा शंका उत्पन्न भयो। मैले त्यो दुई वटा ‘हट लेमन’ को ठाउँ साटेँ। सुशान्त वासरूम गएर आउँदा मैले हटलेमन साटिसकेकी थिएँ। कुरा त उसले यति मिठो गर्यो कि मलाई उप्रति शंका गरेर ‘हट लेमन’ साटेकोमा ग्लानी भयो। क्याफेबाट केहीबेरमा निस्केपछि उसले मलाई घरैसम्म छोडिदियो।
त्यसपछिका दिनहरुमा ऊ मलाई निकै पटक फोन गर्न थाल्यो। मेरो हरेक दिन उसको गुड मर्निङ म्यासेजबाट सुरू भएर हरेक रात उसको गुड नाईट म्यासेजबाट अन्त्य हुन्थ्यो। केही दिन ऊ सँग भेटिसकेपछि मलाई लाग्न थाल्यो कि ऊ मेरो लायकको छ। उसले बिजनेस गर्थ्यो। उसले मलाई खुशी दिन सक्छ भन्ने कुरामा म विश्वस्त थिएँ। समय बित्दै जाँदा उसको र मेरो सम्बन्ध प्रगाढ भयो। उसले घरमा आएर बुवा र आमासँग भेट्यो। उसको मिठो बोलीमा म मात्रै हैन मेरो बुवा आमा पनि मग्न हुनुहुन्थ्यो।
एकदिन सुशान्त डिनरको लागि हाम्रो घरमा आयो बुवा र आमाको अनुरोधमा। डिनर गरिसकेपछि उसले अलि उदास हुँदै मेरो बुवासँग भन्यो, ‘बुवा हजुर अहिले मेरो बिजनेस निकै घाटामा गएको छ। मलाई पाँच लाख रुपैंयाको जरूरी छ। मलाई पैसाको व्यवस्था गरिदिनुस् म केही दिनमा ब्याज सहित तिरिदिन्छु।’ उसको कुराले मेरो मनमा चिसो पस्यो। भेट हुन थालेको एकहप्ता पनि नहुँदै कसरी पैसा माग्न सकेको होला? म बुवाको प्रतिक्रिया सुन्न बसिरहेकी थिएँ। बुवाले त सजिलै भनिदिनु भयो, ‘त्यस्तै गाह्रो छ भने त ठिकै छ नि। अमृता मेरी एकमात्र छोरी हो। तपाईलाई मैले सहयोग गर्नु भनेको उसलाई पनि सहयोग गर्नु जस्तै हो। ठिकै छ भोलि म तपाईको नाममा चेक काटिदिन्छु।’ मेरो मन रोकियो। बुवाले मेरो खुशीको लागि भर्खरै मात्रै सम्बन्ध जोड्न आईपुगेको सुशान्तलाई पैसा दिने निर्णय गर्नुभयो। त्यसो त बुवालाई कोही दुःख परेको मान्छे देख्नै हुन्न। कसैले दुःख देखाएर पैसा माग्यो भने बुवा त्यसै भावुक भएर पैसा दिनुहुन्थ्यो। बुवाले सुशान्तलाई उसले मागेजतिको रकम दिनुभयो। सुशान्त बुवाप्रति आभारी भयो।
एकरात सुशान्तले मलाई फोन गर्यो र भन्यो, ‘अब हामी ईंगेज्मेन्ट गरौं। मलाई उसको कुरा ठिकै लाग्यो। मैले सोचेँ उसको र मेरो सम्बन्ध झनै प्रगाढ हुनेछ ईंगेज्मेन्टपछि। मैले बुवा र आमासँग सल्लाह गरेँ। बुवा र आमाले सुशान्तलाई घरमा बोलाएर कुरा गर्नुभयो। सुशान्तले हाम्रो ईंगेज्मेन्टको लागि उसको परिवार कोही पनि आउन नसक्ने बतायो। उसको घर काठमाडौं बाहिर थियो। ऊ मात्रै यहाँ बिजनेस गरेर बसेको थियो। उसले कोही आउन नसक्ने बताएपछि हामीले सामान्य तरिकामा धेरै मान्छे नबोलाई ईंन्गेज्मेन्ट गर्यौ। सुशान्त खुशी देखियो अनि साथमा म पनि।
ईंगेज्मेन्ट भएको भोलिपल्टदेखि उसको फोन मलाई कम आउन थाल्यो। सुरुसुरुमा दिनमा सात पटक फोन गर्ने मान्छेले पछिपछि सातदिनमा एकपटक मात्रै फोन गर्न थाल्यो। उसको परिवर्तन भएको बानी देखेर म छक्क पर्थेँ। तर ऊ हरेकपटक व्यस्तताको वाहना देखाउँथ्यो।
एकदिन मैले उसको फोन नम्बर डायल गर्दा स्विच अफ थियो। मैले पटकपटक फोन गरेँ ऊसँग सम्पर्क हुनै सकेन। उसलाई म्यासेन्जरमा म्यासेज गर्ने उद्धेश्यले फेसबुक खोलेँ तर अचम्म मैले उसको प्रोफाईल नै भेट्न सकिनँ। मैले अरूको फेसबुक आईडीबाट पनि उसको प्रोफाईल खोजेँ तर भेट्नै सकिनँ। उसले फेसबुक डिएक्टीभेट गरेछ। हाम्रो ईंगेज्मेन्टको भेट नै अन्तिम भेट थियो। त्यसपछि मैले सुशान्तलाई कहिल्यै कतै भेट्नै सकिनँ। बिना कुनै कारण ऊ सम्पर्कविहिन भएर टाढियो।
सोच्दा सोच्दै त्यो डरलाग्दो विगतबाट म वर्तमानमा आएँ। अनिलको म्यासेज म्यासेन्जरमा आयो। खै किन किन मैले उसमा पनि त्यही सुशान्तको छायाँ देखेँ। म एक्कासी उबाट सम्पर्कविहिन भएँ। मलाई त्यस्तो गर्दा दुःख लागेको थियो तर बारम्बार मलाई दुख्नु थिएन त्यसैले मैले त्यस्तो गरेकी थिएँ। बाटोमा हिड्दा पनि अनिलले हेरिरहेको छ कि भन्ने डरले म प्राय ऊ नभएको मौका पारेर हिँड्ने गर्थें।
करीव ५ महिना जति मैले बिना कुनै कारण अनिलसँग सम्पर्क विहिन भएरै बिताएँ। ५ महिनापछि मैले जब म्यासेन्जर खोलेँ मैले उसको म्यासेज देखेँ। उसको म्यासेज पढ्न थालेँ।
‘मेरी प्यारी अमृता
यो जीवनको गोरेटोमा धेरै मानिस भेटिन्छन् अनि छुटिन्छन्। भेटिएका सबै मानिस नराम्रै हुन्छन् भन्ने छैन। धोका पाउने जति सबै नारी अनि धोका दिनेजति सबै पुरुष हुन्छन् भन्ने पनि छैन। आज दिउँसो तिमी नभएको मौका पारेर म तिम्रो घरमा भेट्न आएको थिएँ। तिम्रो आमाले तिम्रो बारेमा सबैकुरा भन्नुभयो। त्यो सबै सुनेर तिमीप्रति मेरो माया झनै गाढा भएको छ। यो संसारमा मेरो कोही छैन। म जुन घरमा बसिरहेको छु त्यही घरको आमाले मलाई आश्रय दिनुभएको हो। तर म आफैंमा सक्षम छु। राम्रो पढेको छु अनि राम्रै कम्पनीमा काम गरिरहेको छु। मलाई लाग्छ म तिमीलाई खुशी दिन सक्छु। मैले जीवनमा बुवा आमाको साथ गुमाएको छु। त्योसँगै धेरै कुरा गुमाएको छु तर तिमीलाई गुमाउन चाहन्नँ। तिम्रो मनमा मप्रति अलिकति पनि माया छ भने म तिमीलाई पर्खिरहने छु। प्लीज लिभ म्यासेज अन म्यासेन्जर।’
उसको म्यासेज पढेर रिप्लाई गर्नमात्रै आँटेको थिएँ ऊ आफैंले फेरि म्यासेज गर्यो, ‘धेरैपछि म्यासेन्जरमा तिम्रो फोटो नजिकै हरियो बत्ती बलेको देखेर खुशी लाग्यो। सबै मानिस एउटै हुँदैनन्। मलाई विश्वास गर म तिमीलाई धेरै माया गर्छु।’
मैले उसको म्यासेजको रिप्लाईमा एउटा स्माईली ईमोजी र लभको साईन सेन्ड गरिदिएँ। अनि सोचेँ, ‘यही म्यासेन्जरमा भेटिएको सुशान्तले मेरो साथ छोडेर गयो अनि आज यही म्यासेन्जरमा भेटिएको अनिलले मप्रति अपार माया दर्शाइरहेको छ। म्यासेन्जरले आजकल गोरेटो र दोबाटो दुबैको काम गरिरहेको छ। यसैले सम्बन्ध जोडाउँछ पनि अनि छुटाउँछ पनि।’