दुखुवा थारूले दु:ख गरेर देउखुरीमा जग्गा जोड्छ। जमिनदारले त्यही जग्गा जफत गर्छ। सुखसँग गरिखान नदिएपछि दुखुवा गाउँ छाड्न बाध्य हुन्छ। गाई, गोरू र भेडा फुकाएर पत्नी दुखनियाँ, छोरी बिपटिया र छोरा मंगलवाका साथमा ऊ नयाँ यात्रामा निस्कन्छ।
चार जोडी पाइला अगाडि बढ्दै जान्छन्। पसिना बगाएको खेतबारी, हरिया फाँट र हुर्किएको गाउँ पछाडि छुट्दै जान्छ।
यात्राका संघर्ष पार गर्दै उनीहरू डाँडो काटेर फराकिलो फाँटमा पुग्छन्। उनीहरूलाई यही फाँट नयाँ बस्ती बसाउन उपयुक्त लाग्छ। कयौं दिन मौरीझैं खटिएर बालीनाली उमार्छन्। खेतबारी हराभरा पार्छन्। अनि त्यो ठाउँलाई नाउँ दिन्छन्- कैइलबारी। यसको अर्थ हो हरियाली।
मान्छेका जिब्रो बटारिँदै जाँदा कैइलबारी 'कैलारी' हुँदै 'कैलाली' भनिन थाल्छ।