प्रधानमन्त्रीको आफूलाई भारतले हटाउन खोजेको भन्ने अभिव्यक्तिबारे प्रष्ट पार्न नेकपा र कांग्रेस नेताको माग

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र नेकपा नेता ठाकुर गैरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा आफूलाई हटाउन भारतीय दूतावास र पार्टीका केही नेता लागेको भनी दिएको अभिव्यक्तिबारे नेकपा र कांग्रेसका नेताले प्रष्ट पार्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र नेकपा युवानेता ठाकुर गैरेले यस्तो माग गरेका हुन् । कांग्रेस प्रवक्ताले ट्वीट गरेका छन्, 'भारतले हटाउन खोज्दैछ, @Pm_Nepal (प्रधानमन्त्री) ले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छ- १, प्रधानमन्त्री बनाउन र हटाउन नेकपासंग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासंग छ कि छैन ? २, छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरिक्षत छैन?'

नेकपा केन्द्रीय सदस्य समेत रहेका युवानेता ठाकुर गैरेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे मंगलबारको स्थायी कमिटी बैठकमा छलफल गर्न माग गरेका छन् । उनले लेखेका छन्, 'नेपालको नयाँ नक्सा जारी गरेका कारण आफूलाई हटाउन दिल्ली लागेको, दूतावास सक्रिय भएको, नेपाली नेताहरु पनि सम्लग्न भएको भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको भनाइ ज्यादै संवेदनशील विषय भएकोले भोलि बस्ने स्थायी कमिटीको बैठकमा गम्भीर छलफल हुन जरुरी छ।'

नेकपा स्थायी कमिटीको जारी बैठक मंगलबार ११ बजे बस्दै  छ । त्यहाँ केही नेताले यसबारे छलफलको माग गर्ने तयारी समेत गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: : 2020-06-29 23:33:53

प्रतिकृया दिनुहोस्