दिल्लीको सत्तारुढ आम आद्मी पार्टी (आप) का नेता तथा राज्यसभा सांसद संजय सिंहले केन्द्र सरकारले चीनसँग ५७ हजार करोड ऋण लिएको तर जनतालाई चिनियाँ सामान बहिस्कार गर्न आवहान गर्दै दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्।
उनले आइतबार सोशल मिडियामा ट्वीट गर्दै भने, ‘हरे भाजपा, तिमी र तिम्रो नाटक तारिफ योग्य छ। देशलाई भन्छौं चीनलाई बहिस्कार गरौं तर मोदी सरकारले चीनसँग ५७ हजार करोड ऋण लिएको छ। सीमामा सैनिक शहिद भइरहेका छन् तर भाजपा सरकार घुँडा टेक्ने योजनाअनुरुप काम गरिरहेको छ।’
वित्तिय मन्त्रालयले १९ जुनमा घोषणा गरेको थियो, भारत सरकार र बेइजिङस्थित बहुपक्षीय वित्तिय संस्था एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैकले कोभिड–१९ महामारीबाट प्रभावित गरिब तथा कमजोरको सहयोगका लागि भारतलाई ७ सय ५० मिलियन अमेरिकी डलर सहायता रकम उपलब्ध गराएको छ।
उनले लद्दाखको गलवान उपत्यकामा मारिएका २० भारतीय सैनिकको बदला भारत सरकारले लिनुपर्ने बताउँछन्। यसका लागि भारतले चीनसँगको व्यापार बन्द गर्नुपर्ने उनको भनाई छ।