बार्सिलोनाको प्रशिक्षक बन्न तयारी गरिरहेकाे ज्याभीकाे खुलासा

‘लिजेन्ड’ ज्याभीले आफू र आफ्नो स्टाफले बार्सिलोनाको प्रशिक्षण गर्नका लागि अत्यधिक तयारी गरिरहेको खुलासा गरेका छन्।

‘अहिले मेरो सबैभन्दा ठूलो आशा भनेको बार्सिलोनाको प्रशिक्षक बन्ने र क्लबलाई जीतको बाटोमा डोर्याउने हो,’ स्पोर्टसँग कुराकानी गर्दै ज्याभीले भने। 

हाल अल–सादको म्यानेजर रहेका ज्याभीलाई यसअघि बार्सिलोनाले अर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि रिक्त प्रशिक्षक पदको प्रबल दाबेदार मानिएको थियो। तर, क्वीके सेटिनलाई गत जनवरीमा क्लबले नयाँ प्रशिक्षक नियुक्त गरेको थियो।

यो सिजन बार्सा स्थिर प्रदर्शन गर्न संघर्षरत छ। ला लिगामा ६ खेल बाँकी छँदा टोली चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ।

बार्सिलाेनामा रहँदा २५ वटा उपाधि जितर्का  ज्याभीले अल–सादलाई कतारी सुपरकप र कतार कपको उपाधि दिलाए छन्। तर  बार्सिलोनासँगको भविष्यबारे चर्चा गर्दै ४० वर्षीय ज्याभीले आफ्नो निर्णय स्वतन्त्ररुपमा लागु गर्ने छुट नभएसम्म क्लबमा नफर्कने पनि बताए।

‘म क्लबको हुँ। म सही समयमा क्लब फर्कन चाहन्छु। मैले धेरै पटक भनेको छु म बार्सिलोनामा फुटबलको निर्णय लिन चाहन्छु। यो कुरा निर्वाचनपछि प्रष्ट हुनेछ। म कुनै सम्भावनालाई नकार्न चाहन्न। उनीहरु जनवरीमा पनि आएका थिए। तर, मैले यतिबेला परिस्थिति र समय सही नभएको बताए।’

बार्सिलोनाको अध्यक्षको निर्वाचन सन् २०२१ हुँदैछ। अहिलेका अध्यक्ष जोसेफ मारिया बार्टोमेउ पुनः निर्वाचित बन्ने दाउमा रहेका छन्।  

प्रकाशित मिति: : 2020-06-29 13:13:11

प्रतिकृया दिनुहोस्