कोरोना भाइरस फैलिएसँगै गरिएको लकडाउनका कारण फ्रान्समा घरेलु हिंसाका घटनाहरूमा वृद्धि भएको छ। मार्च १७ मा लकडाउन गरिएसँगै घरेलु हिंसाबारेका उजुरी कम्तीमा ३० प्रतिशतले बढेको प्रहरीले जनाएको छ।
सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष करिब २ लाख १० हजार महिला पति वा पत्नीद्वारा शारीरिक वा यौनहिंसाको सिकार भएको जनाएका छन्। यसै वर्षको सुरुवातमा २१ जनालाई महिला भएकै कारण हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ। सन् २०१९ मा सयभन्दा बढी महिला केटा साथी, प्रेमी वा पूर्वप्रेमीबाट मारिएका थिए।
त्यसो त, लकडाउन लाागू गर्नुअघि फ्रान्समा घरेलु हिंसाको दर उच्च थियो। सन् २०१९ मा फ्रान्समा २० हजार महिला घरेलु हिंसाको सिकार भएका थिए। सन् २०१९ घरेलु हिंसाका कारण १ सय २० महिलाको हत्या भएको थियो।
कानुनमन्त्री बेलुबेट निकोलका अनुसार सन् २०१९ मा ४ हजार पीडितले सहयोग मागेको घटना दर्ता थिए। सन् २०१८ को तुलनामा यो २० प्रतिशतले बढी हो।
घरेलु हिंसाको रिपोर्ट गर्न हिंसापीडित महिलाहरूले ३९१९ मा फोन गराउन सक्ने व्यवस्था गरिएको छ। हिंसाबारे सूचना लिन, भेट गर्न वा गराउन र सम्पर्क गराउन, पीडा सुन्नका लागि यसको व्यवस्था गरिएको हो। त्यसैगरी, घरेलु हिंसामा परेकालाई सहयोग गर्न केही फार्मेसीहरू छनोट गरिएका छन्।
‘मास्क–१९’ कोड शब्द प्रयोग गरेर महिलाले आफूमाथि हिंसात्मक व्यवहार हुँदा सावधानीपूर्वक फार्मासिस्टहरूलाई सूचित गर्न सक्छन्। त्यसपछि फार्मेसीवालाहरूले सुरक्षा अधिकारीहरूलाई खबर गर्ने व्यवस्था मिलाइएको छ।
तीमध्ये ७० प्रतिशतले गोप्य कोड प्रयोग गरेका छन्। एक हजार महिलाले गम्भीर समस्या रहेको भन्दै फोनमार्फत बताएपछि सहयोग गरिएको थियो।
तर सोलिडारिट फाम्स फेडरेसन नेसनलले (राष्ट्रिय महिला एकता महासंघ) ले औषधि पसलमा काम गरिरहेका मानिसलाई त्यस्ता घटना बाहिर ल्याउन चुनौती हुने जनाएको छ।
यता हिंसा नियन्त्रणका लागि आगामी सेप्टेम्बरदेखि महिलाको हातमा ब्रासलेट लगाइने व्यवस्था गरिने भएको छ। त्यस्तो ब्रासलेटले कुनै पनि महिलाका हिंस्रक प्रेमी, पूर्वप्रेमी वा साथी नजिकिँदा सूचना दिने जनाइएको छ।