लालबन्दी घटनामा भारतीय प्रहरीको कमजोरीः निलम्बित भए चौकीका दुई प्रहरी अधिकारी

‘लकडाउन’ को बेला तस्करी गर्ने उद्देश्यले नेपाल प्रवेश गर्न खोजेका भारतीयको क्रियाकलाप नेपाल–भारत सीमामा रोक्न असफल भएको भन्दै भारतले आफ्ना दुई पुलिस अधिकारीलाई निलम्बन गरेको छ। 

निलम्बित हुने थानेदारमा सोनबरसा चौकीका राकेश रञ्जन र कन्हौली चौकीका राजकुमार गौतम रहेका छन्। 

एसपी अनिल कुमारका अनुसार यी दुबैको स्थानमा डुमरा चौकीका जेएसआई राकेश कुमारलाई सोनबरसा र नगर चौकीका जेएसआई रामएकबाल प्रसादलाई कन्हौलीको इन्चार्ज बनाइएको छ। 

दुई साताअघि लालबन्दीको सीमा नजिकै भारतको सोनबर्सा चौकीबाट तस्करीका लागि तीन भारतीय नेपाल प्रवेश गर्न लागेका थिए। कोरोना संक्रमणका कारण नेपाल–भारत सीमा बन्द भएको अवस्थामा जबरदस्ती नेपाल प्रवेश गर्न लागेका तीन भारतीयलाई जानकी नगर सीमामा कार्यरत सशस्त्र प्रहरीले रोक्न खोजेको थियो।

तर, सीमामा तैनाथ नेपाल प्रहरीको बन्दुक खोस्न गएपछि सशस्त्र प्रहरीले गोली चलाएका थियो। जुन घटनामा २५ वर्षीय दिकेश कुमारको निधन भयो भने उमेश रामको दायाँ हातको पाखुरामा र उदय कुमारको खुट्टामा गोली लागेको थियो। 

पछिल्लो समय सीमा विवादलाई लिएर नेपाल–भारतबीच बढ्दो दूरीका कारण भारतीय मिडियाले यो घटनालाई अतिरञ्जित गरेका थिए। 

केही भारतीय अखबारले गत शनिबार सीतामढी पुगेका डीजीपी गुप्तेश्वर पाण्डेयले एसपीसँग नेपाल–भारतबीचको खुला सीमामा कानुनी व्यवस्था चुस्त बनाउन आदेश दिएको बताएका छन्। 

उनले यति नै बेला दुबै पुलिस अधिकारीलाई हटाउने आदेश दिएका थिए। उनीहरूको पद घटुवा गरेको पनि जानकारी दिइएको थियो। 

तर, एसपीले भने प्रशासनीक कारणले हटाउनु परेको स्पष्टीकरण दिएका छन्। पछिल्लो १५ महिनाको अवधिमा यी दुई अधिकारीको विरूद्ध थुप्रै उजुरी परेका थिए।

प्रकाशित मिति: : 2020-06-29 09:41:00

प्रतिकृया दिनुहोस्