शनिबार, १२ जुलाई २०२५

हिजो कोरोना पोजेटिभ, आज मोहम्मद हाफिजकाे रिपाेर्ट नेगेटिभ!

बिएल संवाददाता

बिएल संवाददाता

इस्लामाबाद
2020-06-24 17:43:23
News Image
• • •

पाकिस्तानी क्रिकेट टिमका सदस्य मोहम्मद हाफिजकाे कोरोना रिपोर्ट नेगेटिभ आएको छ। बुधबार एक ट्विट गर्दै उनले उक्त कुराकाे जानकारी दिएका हुन्। 

मंगलबाररमात्र मोहम्मद हफिजसहित इङल्याण्ड टुरमा जाने भनिएका ७ जना पाकिस्तानी क्रिकेटरमा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै सोमबार ३ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मंगलबार सार्वजनिक गरेकाे सूचिमा कासिफ भट्टी, मोहम्मद हसनैन, फखर जमान, मोहम्मद रिजवान, इमरान खान, हफिज र रियाज पनि समावेश थिए। सोमबार सादाब खान, हैदर अली र हारिस राउफमा पनि पोजेटिभ देखिएको थियो। 

हफिजले पाकिस्तान क्रिकेट बोर्डले गरेको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि ब्याक्तिगत रुपमा आफ्नो र परिवारको कोरोना परीक्षण गर्दा आज कोरोना संक्रमण नेगेटिभ देखिएको ट्वीटमार्फत उल्लेख गरेका हुन्।

'पिसिबीको हिजोको रिपोर्ट पोजेटिभ आएसँगै सन्तोषका लागि मैले मेरो परिवारसहितको कोरोना परीक्षण गराएँ,' उनले लेखेका छन्, 'यसमा मसहित परिवारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अल्लाहले हामी सबैलाई सुरक्षित राखुन्।'

पाकिस्तानी क्रिकेट टिम २८ जुनमा इङल्याण्ड जाने तयारीमा छ। यसअघि कोरोना संक्रमण नपाइएका खेलाडीहरु इङ्ग्ल्याण्ड जाने पाकिस्तान क्रिकेट बोर्डले स्पस्ट पारिसकेको छ। 

अगस्टको सुरुमा पाकिस्तान र इङल्याण्डबीच तीन टेस्ट र तीन टी २० सिजिजको तयारी छ। इङल्याण्ड टुरका लागि पिसिबीले यसअघि २९ सदस्यीय टोलीको घोषणा गरेको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?