‘हलो रतन, सुन न फलानो ठाउँको मान्छे त बिरामी भएछ। अस्पताल लिनलाई के गर्ने, समस्या भयो?’
‘ए ए, ल ल म एकै छिनमा आइहालेँ है।’
केही समय ‘पल्सार’ बाइकमा कुदेको एउटा केटो आजभोलि ‘अपाची’ हुईँकाउँछ। अनि गाउँले मात्र होइन उसलाई चिनेका सबैले सहजै फोन गर्न सक्छन्। ‘तँ कहाँ छस्? हामीलाई समस्या पर्यो के गरौं?’
अनि केटो ढाडस दिँदै भन्छ, ‘एकैछिन है म आइहालेँ।’
बिरामी र उसका आफन्तहरू रतनको बाटो कुरी बसेका हुन्छन्। ऊ पुग्ने बित्तिकै सुरू हुन्छ, अस्पताल ल्याउने तयारी। यदि बिरामी सिरियस छ भने चालकसहित तीन जनाको आवश्कता पर्छ नत्र ढाडमा सलले बाँधेरै बाइक कुदाउँछ। सकेसम्म बिरामीलाई पीडा नहुने गरी।
यसरी आफ्नो बाइकलाई एक्बुलेन्स जस्तो बनाउने केटोको नाम हो, रतनसिंह बोहोरा। घर हो गुठीचौर गाउँपालिका वडा नं. २ गुठी गाउँ।
०००
बाइकमा बिरामी बोक्ने रतनको गाउँमा सडक पुगेको छैन। केही ठाउँमा सडक पुगेको भए पनि गाउँपालिकामा एम्बुलेन्सको सुबिधा छैन। गाउँबाट हिँडेर बजारसम्म पुग्न पाँच घण्टा लाग्छ। उक्त बाटोमा बिरामीलाई स्ट्रेचरमा बोक्यो भने झन् अलमल हुन्छ।
गुठी गाउँबाट बाइक चलाउन मिल्ने बाटोसम्म बिरामी बोकेर पुग्न आधा घण्टा लाग्छ। कच्चि बाटो भएकाले अस्पताल पुग्न तीन घण्टा लाग्छ।
बाइक किनेदेखि नै बिरामीलाई अस्पतालसम्म पुर्याउँदै आएका रतनले बिरामीसँग कुनै पनि खालको शुल्क लिदैनन्। तर कसैले बाटोमा तेल हालिदिँदा भने नाइ भन्दैनन्। कति बिरामीसँग त पैसा हुँदैन। उनी त्यस्तो बेला आफैं पैसा हालेर उपचार समेत गरिदिन्छन्।
कहिलेकाँही उनकै खल्तीमा पैसा भएन भने तेल उदारोमा हाल्छन्। उनलाई तेल व्यापारीले राम्रोसँग चिनेका छन्। त्यसैले तेल हाल्न समस्या पर्दैन।
जडीबुटीको व्यापार गर्ने भएकाले उनी आफैं पनि व्यापारी हुन्। हिमाली जडीबुटी यार्सागुम्बा, ह्याड्या (सेतक चिनी), लसुन, पदमचाल, जटामसी, पाखनवेद, भुल्तेलगायतका बहुमूल्य जडिबुटीको व्यापारबाट आम्दानी राम्रै हुन्छ। यही कमाइको थोरै अंश उनले समाज सेवामा लगाएका छन्।
सानै उमेरदेखि व्यवसाय सुरु गरेका उनले ठूलो अनुभव बटुलेका छन्। २०६८ सालमा एसएलसी दिएका उनी त्यसको एक वर्षमै जडीबुटी व्यापारमा लागे। बाल्यकालमै थालिएको व्यापारको सुरुवाती चरणमा त्यस सम्बन्धी अनुभव थिएन। जसको परिणाम एक वर्षमै अकल्पिनीय घाटा व्यहोरे। घाटा के भन्नु धोका खाए।
२०७० को जेठमा पाटनबाट यार्सागुम्बा संकलन गरेर आए। १५ लाख मुल्यको दुई किलो यार्सागुम्बा आफ्नै साथीबाट लुटियो। लुट्नेहरू पक्राउ परे। प्रहरीका अगाडि साची राखेर पैसा लिने करार पनि भयो। तर करार गरेर बाहिर निस्किएका उनीहरू फरार भए। आजसम्म पनि भेटिएका छैनन्।
‘व्यवसाय सबै ऋणमा थियो,’ उनले विगत सम्झिए, ‘तत्काल ऋण तिर्न सम्भव थिएन। साहुहरूले कचकच गर्न सुरु गरिसकेको थिए। विरख्तिएको म काठमाडौंमा तीन वर्ष बरालिएँ। पछि आएर फेरि पनि जडिबुटीमै लागेँ। राम्रै भयो। सबै ऋण एक वर्षमा तिरेँ।’
ओठ निचोरे दुध आउने बालक उमेरमा गरेको व्यापार उनको भविश्यको लागि ठूलो पाठशाला बन्यो। त्यसैलाई आधार मानेर उनले समाज सेवा पनि थाले। उनको समाजसेवा बिरामीहरुका लागि गाउँबाट अस्पतालसम्म पुग्ने वैशाखी बन्यो।
विगत एक वर्षदेखि सुरु भएको उनको त्यो सेवा बाइकमा बिरामी ओसार्नमा समर्पित छ। यो अवधिमा उनले गाउँबाट करीव ३० भन्दा बढी बिरामीलाई अस्पतालसम्म पुर्याइदिएर समयमै उपचार गराएका छन्।
विगत केही समय यता विश्वव्यापी महामारीको रुपमा कोरोना भाइस फैलियो। त्यसबाट बच्नका लागि सरकारले लकडाउन गर्यो। यही समयमा गाउँमा मान्छे बिरामी हुने क्रम पनि बढेको छ। यही बीचमा मात्र उनले १५ जना बिरामी ओसारे।
विभिन्न कारणले बिरामी परेका (झगडा गरेर गाइते भएका, कतै लडेका, सुत्केरी हुने महिलालाई व्याथा लागेमा आदि) बिरामीलाई उनी अस्पताल पुर्याउन हतारिन्छन्।
उनमा यस्तो खालको स्वयंसेवा भावना कसरी र किन पलायो? कुन त्यस्तो घटना थियो जसले उनलाई यस्तो गर्न प्रेरित गरिरहेको छ? यसको पछाडि एउटा कथा छ। जसलाई उनले यसरी सुनाएः
‘म १२ वर्षको थिएँ। त्यतिबेला आमा गर्भवती हुने हुनुहुन्थ्यो। एक दिन आमालाई सुत्केरी व्यथा लाग्यो। घरमा आमाको चित्कार यति भयानक थियो कि, जसले घरको वातावण आतंकमय भयो। सुरुको दिनमा त सुडेनी बज्यैहरूले आमालाई आफ्ना कहानी सुनाएर सान्तवना दिइरहेका थिए। बा र म भने डराउँदै भित्र बाहिर गरिरह्यौं।
आमाको चित्कारले आतंकित बनेका हामी कति बेला भाइ वा बहिनी रोएको आवाज आउँछ भनेर कान ठाडा बनाइहन्थ्यौं। हाम्रा कान ठाडा बनाएको दुई दिन बित्यो तर आमाकै चित्कार मात्र सुनिरह्यौं। तीन दिनको दिन साँझतिर भाइ रोएको आवाज आयो। बल्ल हामी र सुडेनी बज्यैहरूले लामो सास फेर्यौं। आमा भने विश्वयुद्वमा घाइते भएको सिपाही जस्तो थकित देखिनुभयो।
भाइको आगमन पछि सुडेनी बज्यैहरू आ–आफ्नो घर लागे। बाले आमाको स्याहार गर्न थाल्नुभयो। तीन दिनसम्मको लामो अनि भयानक युद्व लडेर भाइलाई जन्म दिन सक्नुभएकी मेरी आमा भाइ जन्मेको दिनमै सदाका लागि हामीबाट विदा हुनुभयो।
उहाँले हामीलाई भाइ नासो दिनुभएको थियो। तर घरमा महिला कोही थिएनन्। सुत्केरी महिला खोज्दै गाउँ चाहर्यौं। प्रसस्त दुध आउने महिला कोही भटेनौं। सायद उनीहरुले पोषणयुक्त खाना पाएका थिएनन्। केही दिन त उनीहरुले आफ्ना बच्चाको भाग काटेर भाइलाई दिए पनि। तर सधै त्यो सम्भव भएन। अनि राति उनीहरुका दुधबाट टाढा रहने भाइको पेट आधा हुन्थ्यो।
जन्मिदै अघाउन्जेल दुध खान नपाएको टुहुरो भाइको पेट भर्न हामीले सकेनौं। परिणाम, जन्मेको बिसौं दिनमा भाइले पनि आमाको बाटो समात्यो। भाइ जन्मिँदा आमाले भोग्नुभएको प्रशव पीडा र आमाको मृत्युपछि दुध खान नपाएको भाइको विजोग देखेर अहिले पनि रिंगटा लागेर आउँछ। आज आएर आमा र भाइ हाम्रो सम्झना मात्र सिमित छन्।’
आमाको गहिरो स्मृति सुनाउँदा उनका आँखा रसाएका थिए। आमाको वियोगले भारी बनेका उनी आँसु खसाल्दा थोरै हल्का भए। पानी परेपछि निख्रिएको आकास जस्तै।
उनलाई उपचार नपाएर आमाको मृत्यु भएको आजै जस्तो लाग्छ। गाउँमा कोही महिला बिरामी परेपछि उनमा आमाको अनुहार देख्छन् र उनलाई असैय्य पीडा हुन्छ। महिलामात्र होइन हरेक बिरामीमा उनी आफ्नी आमाको पीडा देख्छन्। उनलाई लाग्छ, ‘मैल यीनीहरुको नियती मेरो आमा जस्तो हुन दिनु हुन्न।’ जब उनी बिरामीलाई अस्पतालको शैय्यामा पुर्याउँछन्, तब उनी सन्तोसको सास फेर्छन्।
‘आमाले उपचार पाएर बाँचेजस्तो कल्पना गर्छु। सन्तोसको सास फेर्छु। लाग्छ आमा बाँचेको भए म झन् कत्ति खुसी हुन्थेँ होला,’ लामो सास तान्दा उनको अनुहार बिहानको सूर्यजस्तो चिम्किलो भयो।
रतनले त्यसै कारण आफूले चड्ने बाइकलाई बिरामी बोक्ने एम्बुलेन्स बनाए। आमाको न्यानो काख नपाएका उनी स्वयंसेवा गर्दा आमाको काख अनुभूति गर्छन्। त्यसैले नै उनलाई निरन्तर खटिरहने हौसला मिलेको छ।
हाल उनी आफ्ना गाउँका बिरामी मात्र अस्पताल पुर्याउँदैनन्। सम्भव भएसम्म सबैलाई सेवा गर्ने कोसिस गर्छन्। केही दिनअघि बजारकै निर्माया बुढा जंगलमा स्याउला ल्याउन जाँदा रुखबाट लडेर घाइते भइन्। उनको छाति, ढाड, खुट्टा सबैतिर चोट लागेको थियो। थाहा पाएपछि उनी बाइक लिएर कुदिहाले।
यस्ता धेरै बिरामी बोकेका उनी बिरामी बोक्दा कयौं पटक नराम्रोसँग लडेका पनि छन्। जेठ पाँच गते ट्याक्टरबाट लडेर खुट्टा भाँचिएका काली बहादुर बोहरालाई अस्पताल ल्याउने बेला उनी पनि नराम्ररी लडे। उनको खुट्टाको भर नपरे पछि बाइक व्यालेन्स भएन। दुबै जना लडे। जसले गर्दा उनी आफैं पनि उपचार गर्नुपर्ने अवस्थामा पुगे।
उनले बाइकमा बिरामी ओसार्ने सडक कच्चि छ। त्यो बाटो स्थानीय तहको चुनावको बेला हालका जित्ने उम्मेदारले आफैं डोजर लगेर काटेका हुन्। तर दुःखद संयोग नै मान्नुपर्छ, त्यसपछि ती उम्मेदारले गुठी गाउँलाई फुटेको आँखाले हेरेनन्। साह्रै आलोचना भएपछि बल्ल बाटो बनाउने तयारी भइरहेको रतनले बताए।
लकडाउन भएका कारण उनी अनटेस्ट बाइक चलाइरहेका छन्। उनका साथीहरुले बाइकमा नम्बर प्लेट नराखेर ‘एच’ लेख भनिरहेका छन्। ‘बिरामीको सेवा गर्ने बाइकमा ‘एच’ लेखेकै राम्रो नि। यसै पनि तेरो बाइकले एम्बुलेन्सको काम गरिरहेको छ भन्छन्,’ उनले भने।
उनले सेवा गरेका बिरामी सन्चो भयो भने घरमै बोलाएर मिठो मसिनो खुवाउँछन्। कोही बोलाएर खसी काटी मानसम्मान पनि गर्छन्। घरमा मासु पाक्यो भने सम्झिन्छन्। भन्छन् ‘एक बिरामी निको भएर मलाई खुवाउन बोलाएको बेला म फेरि अर्को बिरामी लिएर बजार आउनु परिजान्छ। यस्तो धेरै पटक भएको छ।’
लकडाउनको बेला सबै भन्दा बढी बिरामी बोकेका उनलाई सुरूसुरुमा पुलिसले रोकेर सताउँथ्यो। उनले पास बनाएका थिएनन्। तर पछि बिरामी बोकिरहेको देखेपछि पुलिसहरुले रोक्ने र सोधपुछ गर्न छोडे। सायद उनले सेवा गरेको देखेर होला आजभोलि पुलिसहरु उनलाई देख्दा मुसुक्क मुस्काउँछन्। केही बोल्दैनन्। उनीहरुको मुस्कानले नै आत्मियता प्रकट गरिरहेको जस्तो उनलाई लाग्छ।
उनको सेवाबारे गाउँपालिकालाई केही थाहा छैन। तर गाउँले सबैले थाहा पाएका छन्। गाउँले ‘रतन भगवान हो’ भन्छन्। त र उनी आफैं भने भगवानसँग प्रार्थना गर्छन्, ‘मलाई लामो समयम्म बचाइदेऊ ताकी म धेरैको सेवा गर्न सकुँ।’
‘जडीबुटीबाट कमाउन सकियो भने यस्तो सेवा गर्ने भावना अझ बढ्ने थियो। व्यापार व्यवसाय राम्रो भइदियो भने गाडी हाल्छु। गाडीमा कमजोर आय भएकालाई निःशुल्क अस्पताल पुर्याउँछु।’ उनले अदृश्य शक्तिको आश गर्दै अन्तिमका यीनै वाक्य बोलेर आफ्नो कहानी सक्काए।