कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो । 

लकडाउन खुकुलो भएसँगै जथाभावी व्यापार व्यवसाय खुलेर भीडभाड बढी हुन थालेपछि प्रशासनसहित सरोकारवाला निकाय उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायतको टोलीले व्यापारीलाई सम्झाउँदै यस्तो चेतवानी दिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

उनले भने, ‘प्रत्येक व्यापारीले आफ्नो पसल उद्योगअगाडि ढोकामा डोरीको बार लगाउने, दुई मिटरको व्यक्तिगत दूरी कायम गर्ने, स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्नेजस्ता कुरालाई सुझाइएको छ ।’
 
त्यसैगरी अनावश्यक मानिसको भीडभाड नगर्ने, अत्यावश्यक काम परेका व्यक्ति मात्रै घर बाहिर निस्किने, सवारी साधन मोटरसाइकलमा एक जना व्यक्ति मात्र सवार गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने, अटोरिक्सामा दुई व्यक्तिबाहेक अरुलाई सवार नगर्नेजस्ता कुरा सुझाइएको छ । 

सुझाइएका कुरा सबै बेवास्ता गरी कोरोना संवेदनशीलता नअपनाउने, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने जोकोही व्यक्ति तथा व्यापारीलाई सङ्क्रमण रोग ऐन, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने पनि चेतवानी दिइएको छ ।

प्रकाशित मिति: : 2020-06-23 12:14:12

प्रतिकृया दिनुहोस्