जसपा नेपालविरुद्ध निर्वाचन आयोगमा उजुरी

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण पछि बनेको पार्टी जनता समाजवादी पार्टी नेपाल विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हुने भएको छ। 

तत्कालिन राजपा नेपालका असन्तुष्ट नेताहरुले पार्टीको विधान तथा निर्वाचन आयोगको नियमावली विपरित जसपा नेपाललाई दर्ता गराउन निवेदन परेको भन्दै मंगलबार आयोगमा निवेदन दर्ता गराउन जाने भएका हुन्।

तत्कालिन राजपा नेपालका सचिव अर्यालले जसपा नेपाल दर्ता गराउन बुझाएको कार्यसमितिमा ३३ प्रतिशत महिला नरहेको, पार्टी दर्ता गराउनका लागि केन्द्रीय समितिबाट सर्वसम्मतीले पास नभएको साथै पार्टी दर्ताका लागि बुझाइएको हस्ताक्षरमा तत्कालिन राजपा नेपाल अध्यक्षमण्डलमा रहेका छ जनामध्ये दुईजनाको हस्ताक्षर नरहेको आरोप लगाएका छन्।

उनले समाजवादी पार्टीसँग एकीकरण गर्दा राजपा नेपालले कानुनी प्रकृया नपुर्याएको तथा कानुनअनुसार समावेशी नबनाएको कारण सो दर्ता प्रकृयालाई रोक्नका लागि आफूहरु आयोगमा निवेदन दर्ता गराउन जान लागेको बताए। जसपा नेपालको कार्यसमितिलाई लिएर तत्कालिन राजपा नेपालभित्र तीब्र असन्तुष्टि रहेको छ।

अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा, राजकिशोर यादवहरुले एकीकरणका लागि आफ्ना असन्तुष्टि जनाइसकेका छन्। उनीहरु पक्षका एकजना पनि कार्यसमितिमा परेका छैन।  

उनीहरुले पार्टीका दुईजना नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आ–आफ्ना निकटका नेताहरुलाई मात्र कार्यसमितिमा राखेको भन्दै विरोध जनाएका छन्। 

प्रकाशित मिति: : 2020-06-23 11:58:07

प्रतिकृया दिनुहोस्