डिसेम्बरसम्म परिवारमा आधारित ग्रिनकार्ड र रोजगार भिसामा अमेरिका आउन रोक 

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को अन्तसम्मका लागि परिवारमा आधारित ग्रीनकार्ड र कामदार भिसामा अमेरिका आउन रोक लगाइ दिएका छन्। सोमबार ट्रम्प प्रशासनले गत अप्रिलमा जुनसम्मका रोजगार र परिवारमा आधारित ग्रिनकार्डमा लगाएको प्रतिबन्ध  सन् २०२० को अन्त्यसम्मका लागि लम्बाइ दिएपछि पछिल्लो परिस्थिति सिर्जना भएको हो।

ट्रम्प प्रशासनको यो नयाँ नियमअनुसार डिसेम्बरको अन्तसम्मै कुनै पनि ग्रिनकार्डवाहकले परिवारमा आधारित ग्रिनकार्डमा परिवारका सदस्यलाई अमेरिका ल्याउन पाउने छैनन्। यसैगरी रोजगारमा आधारित  ग्रीनकार्डमा समेत अमेरिका आउन नपाइने भएको छ। 

कोरोना कहर, आर्थिक मन्दी र रंगभेदविरोधी आन्दोलनको सामना गरिरहेका ट्रम्प पछिल्लो समय डेमोक्रेटिक प्रतिद्वन्दी जो बाइडनभन्दा पछि परेको सबैजसो राष्ट्रिय जनमत सर्भेक्षणले देखाएका छन्।

नयाँ नियमअनुसार एचवान बी, एच फोर र एल भिसाका साथमा जे र एचटुबी भिसामा समेत अमेरिका प्रवेशमा रोक लगाइएको छ। 

राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल जनवरी २० मा सकिदैछ। उनी आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेद्वार भैसकेका छन्। 

यसअघि पहिलो कार्यकालमा आप्रवासी विरोधी उग्र नारा दिएर विजयी भएका ट्रम्प दोस्रो कार्यकालमा पनि पुरानै रणनीतिका साथ अगाडि बढ्ने जस्तो देखिएको छ। कोरोना कहर, आर्थिक मन्दी र रंगभेदविरोधी आन्दोलनको सामना गरिरहेका ट्रम्प पछिल्लो समय डेमोक्रेटिक प्रतिद्वन्दी जो बाइडनभन्दा पछि परेको सबैजसो राष्ट्रिय जनमत सर्भेक्षणले देखाएका छन्।

 र्‍यालीमा जनता जम्मा गर्न खप्पिस ठानिएका ट्रम्पको बहुप्रचारित टुल्सा र्‍यालीमा १९ हजार दर्शक पनि जम्मा भएनन्। यसबाट थप अत्तालिएका ट्रम्पले अन्तत: आप्रवासी विरोधी चुनावी रणनीति नै अख्तियार गर्ने निधो गरेजस्तो देखिएको छ। यो रणनीतिले उनको बेडा पार लगाउने हो वा उनी थप संकटमा पर्ने हुन् त्यो भने समयकै गर्भमा छ। 

प्रकाशित मिति: : 2020-06-23 04:38:54

प्रतिकृया दिनुहोस्