पाल्पामा पहिरोले गुडिरहेको कार पुरिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
तानसेन नगरपालिका-११, सम्मोबारीमा भीषण वर्षासँगै आएको पहिरोले कार पुरेकाे हाे।
सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।
शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । मृतकको पहिचान हुन सकेको छैन। घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिराले गाडी बगाएको थियो। ट्रक, पानी ट्याङ्कर, एक बोलेरो र एउटा कार पहिराबाट पुरिएको उनले बताए।
सडकमा कार र बोलेरो जीप जोखिमावस्थामा छन् । सडक चौडा बनाउने क्रममा पहिरो गएको हो । पहिराका कारण तानसेन–हार्थोक हुँदै गुल्मी र पाल्पाका ग्रामीण बस्ती तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको जानकारी दिए।
उनले उद्धार कार्य जारी रहेकाले सडकबाट तल खसेका सवारीसाधनमा कति मानिस सवार थिए वा थिएनन् भन्ने नखुलेको बताए।
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारणले ठाउँ-ठाउँमा पहिरो गइरहेको छ।