भारतको कतै लडाइँ पर्‍यो भने गोर्खा सैनिक भाइ–छोराको चिन्ताले हामी सुत्न सक्दैनौँ, यो सम्बन्ध सम्झेर भारतले नेपालसँग व्यवहार गर्नुपर्छ: सुवास नेम्वाङ (अन्तर्वार्ता, भिडियाेसहित)

सुवासचन्द्र नेम्वाङ, ६८, नेकपा संसदीय दलका उपनेता हुन् । अहिलेको संविधान निर्माण गर्ने संविधानसभाका अध्यक्ष  पनि उनै हुन् । आठ वर्ष उनले नेपालमा सभामुखको पनि भूमिका निभाइसकेका छन् । सधैँ सबै विषयमा सकारात्मक कोणबाट मात्र कुरा गर्नु उनको विशेषता हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई संबोधन गर्दा उनी सभामुख थिए ।

सरकारले जारी गरेको नक्सा संसद्‍बाट अनुमोदन गरी संविधानको अंग बनाउने ‘आइडिया’ पनि उनैको हो । जो संघीय संसद्का दुवै सदनबाट सर्वसम्मतिमा पारित भइसकेको छ । उनी भन्छन्, ‘अब यो नक्साको पछाडि सिंगो देश एकताबद्ध भएर उभिएको छ । यो आधारमा उभिएर सरकारले भारतसँग वार्ता गर्नुपर्छ ।’

नेपालको संविधान  लेख्न गठित दुवै संविधानसभाका अध्यक्ष उनै थिए । संविधान जारी गरेलगत्तै त्यसको असन्तुष्टिस्वरुप भारतले नेपालमाथि १३४ दिनसम्म नाकाबन्दी लगाएको थियो । भूकम्पले थिल्थिलो बनाएको त्यस बखतको नेपालमाथि समेत नाकाबन्दी गरेको प्रसङ्ग सम्झँदा उनको मन अमिलो हुन्छ ।

भारतले मिचेको नेपालीभूमि फिर्ता गर्न वार्ताको विकल्प नदेख्ने उनले भने, ‘खुला सिमाना छ । हाम्रा भाइ–छोरा गोर्खा सैनिकको रुपमा भारतमा अहिले पनि क्रियाशील छन् । छिमेकी भारतको कहीँ लडाइँ पर्‍यो भने हामीलाई चिन्ता लाग्छ । हामी रातभर सुत्न सक्दैनौँ। त्यस्तो सम्बन्ध संसारका अरु कुनै देशका बीचमा छ त ? भारतले यसलाई सम्झनुपर्छ  ।’

कानूनविद् समेत रहेका नेम्वाङसँग संघीय संसद्‍बाट नयाँ नक्सा सर्वसम्मतिले पारित भएपछिको अवस्था र भारतले मिचेको भूमि प्राप्त गर्नेबारे माधव ढुङ्गेलले गरेको संवाद :

 

भारतले मिच्दै आएको नेपालको ३३५ वर्गकिलोमीटर क्षेत्रसहित समेट्ने गरी सरकारले बनाएको नयाँ नक्सा संविधानको अनुसूची ३ मा रहेको निशाना छाप संशोधन गरी संविधानको अंग बनाइएको छ । संसद्‍बाट समेत सर्वसम्मत अनुमोदन गराउनुको अर्थ के ? यसलाई अझै बलियो बनाइएको हो ?

संविधानको अनुसूचीमा परिवर्तन गरेर नेपालको वास्तविक नक्सा– जसमा लिम्पियाधुरा, कालापानी, लिपुलेक समाहित छ, लाई राख्दा सिंगो देश, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीले अपनत्व महसुस गरेका छन् । हाम्रो निशानछापमा विशेषतः त्यो क्षेत्र भएको– कसैले हात्तीको सुँड भन्छन्, कसैले गैँडाको नाक भन्छन्, कसैले जुँगा भन्छन्, जुन विशेष प्रकारको संकेत देखिने खालको छ, त्यो राख्दा आफ्नो स्वामित्व महसुस गरेका छन् ।

त्यसैले अब जुन महत्वपूर्ण लडाइँ हामी लडिरहेका छौँ, त्यसको पछाडि सिंगो देश र जनता एकमुष्ट उभिन पुगेका छन् । यसको पछाडि सिङ्गो देश उभिएको छ ।

संविधानसभाबाट संविधान बनाउँदा तत्कालीन मधेश केन्द्रित दलहरुले विमति राखेका थिए । अहिलेको संविधान संशोधन प्रस्तावमा ती दलहरुले पनि सहमति जनाए । संशोधन प्रस्ताव सर्वसम्मत पारित भयो । यसलाई संविधानप्रतिको समर्थन बढेको भनी व्याख्या गर्न मिल्छ ? 

संविधानसभाबाट जनताले जनताका लागि पहिलोपटक जनता नै अधिकारको स्रोत भएको संविधान हामीले बनायौँ । सबैले यसलाई स्वीकार गर्न केही समय लाग्यो । तर, तीन–साढे तीन वर्षकै अवधिमा हामी धेरै अगाडि बढ्न सक्यौँ । सकारात्मक कुराहरु भए ।

हाम्रो छिमेकी भारतलाई १० वर्ष लागेको थियो । दक्षिण भारतले भारतको संविधान स्वीकार गरेन– १० वर्षसम्म । तर, हामीले निकै चाँडो सफलता हासिल गर्‍यौँ । अगाडि बढ्दै जाँदा संविधानको दोस्रो संशोधनको प्रसंग आयो ।

यो प्रसंगमा त हामीले गर्व गर्नुपर्छ– सिंगो देश एक ठाउँमा उभिएको छ । संसद्मा रहेका सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिए । हिजो संविधान निर्माणको प्रक्रियामा आफ्नो असन्तुष्टिलाई सामुन्नेमा राखेर संविधानलाई स्वीकार्दा स्वीकार्दै पनि प्रक्रिया बहिष्कार गर्नुभएको थियो । अहिले त उहाँहरु सबै नै समाहित हुनुभयो ।

त्यसैले म भन्छु– एउटा निश्चित प्रसंगमा यो ऐतिहासिक काम भयो । हाम्रालागि यो ऐतिहासिक क्षण हो । सिंगो देशले संविधानलाई स्वीकार गर्‍यो । त्यसैले हामी यो दिशामा थप एक कदम अगाडि बढेका छौँ ।

मतलब, संविधानसभाका ९२ प्रतिशत सदस्यले त्यसबेला संविधान पारित गरेका थिए । अहिले दोस्रो संशोधन प्रस्तावले शत प्रतिशत समर्थन पायो । के यसको अर्थ अब असन्तुष्टिका मुद्दाहरु सकिए भन्ने कि अझै बाँकी छन् भनेर बुझ्ने ?

यसलाई के रुपमा हेरौँ त भन्दाखेरी– हाम्रा कतिपय साथीहरु आफ्ना ‘रिजर्वेसन’ का कारणले प्रक्रियामा समाहित भएनन् । त्यसैले प्रश्न उठेको थियो । सबैले स्वीकारेका छैनन् भन्ने प्रश्न उठिरहन्थ्यो । यो बीचमा धेरै काम कारवाहीहरु भए । सरकार निर्माण, स्थानीय तहको गठनदेखि प्रदेश गठन भए । संघीय संसद् र सरकार गठन भए । सरकारविरुद्ध अविश्वास पनि आयो तर हाम्रा ती तर्कहरु जनताले बुझ्ने खालका थिएनन् तर कानूनका बलवान तर्कहरु थिए ।

अहिले त त्यसरी तर्कै गरिराख्नु पर्दैन । सिङ्गो देश एक ठाउँमा उभियो । सबै राजनीतिक दल एक ठाउँमा उभिए । तराई–मधेशदेखि हिमालसम्मका सम्पूर्ण जनप्रतिनिधिहरु संसद्मा एकगठ भएर उभिए । संविधान संशोधनलाई पारित गरे । जति जनाले भोट हाले, सबैले संविधान संशोधनको पक्षमा हाले । अर्थात्, सिंगो देशले संविधान संशोधनलाई स्वीकार गर्‍यो । आफ्नो सिमाना रक्षाका लागि सम्पूर्ण देश एकजुट भयो । 

एकातिर त राष्ट्रियताको सन्दर्भमा, अर्कोतिर संविधान निर्माण गरेर त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्दै अगाडि बढ्ने सन्दर्भमा यो त एउटा कोशेढुङ्गा भयो । त्यस अर्थमा पनि यो ऐतिहासिक रहेको छ । 

बाँकी असन्तुष्टि पनि छन् नि त, त्यसलाई कसरी हल गर्ने ?

हामीले यसमा जुन एकता कायम गर्न सक्यौँ, यसलाई अगाडि बढाऊँ । सिङ्गो देशलाई एकजुट बनाउँदै अगाडि बढाऊँ । जनताले बनाएको यो संविधानमा अझै कतिपयका आ–आफ्ना फरक दृष्टिकोण होलान् । असन्तुष्टि होलान् ।

त्यो सबैलाई सम्बोधन गर्ने आधार, प्रक्रिया यही संविधानमा राखेका छौँ । त्यसैमार्फत् हामी सबैलाई समेट्दै अगाडि बढौँ । त्यसो गर्दा हाम्रो ठोस आधार तयार हुन्छ । त्यो प्रक्रियालाई निरन्तर अगाडि बढाऊँ ।

सरकारले नक्सा बनायो । नयाँ नक्सा जनप्रतिनिधिमूलक संस्थाद्वारा अनुमोदन पनि भयो तर पनि हाम्रो भूमि प्राप्त भएको छैन । संसद्‍‍भित्र पनि उठाइएको छ– नक्सा पाएर भएन, जग्गा पनि पाउनुपर्‍यो । अब भूमिप्राप्तिको उपाय के हो ?

त्यही देश एकताबद्ध भएको ठोस धरातलमा उभिएर हामी हाम्रो भूमि यसलाई साँच्चिकै अर्थमा हाम्रो हातमा ल्याउनका लागि हामी निरन्तर नथाकी अघि बढ्नुपर्छ । जुन हाम्रै भूभाग हो । त्यसमा कुनै विवादै छैन । सुगौली सन्धि जो हामीमाथि थोपरिएको हो,  त्यो सुगौली सन्धिको कारणले निर्विवाद रुपमा हाम्रो भनेर स्थापित भूभाग हो– कालापानी क्षेत्र ।

प्रधानमन्त्रीजीले भन्नु पनि भएको छ– अब हामी एकछिन नथाकी निरन्तर अगाडि बढ्छौँ । त्यसको आधार तयार भएको छ– अहिले । त्यो आधारमा उभिएर सिङ्गो देशलाई एकताबद्ध बनाएर छिमेकी भारत जोसँग हामी सदासर्वदा सुमधुर सम्बन्ध चाहन्छौँ । हामी त्यो मित्रसँग हाम्रो यो सम्बन्धलाई ध्यानमा राखेर वार्ता–संवादमार्फत् निरन्तर त्यसमा लागेर वार्ता र संवादमार्फत् आफ्नो भूभाग आफैँले फिर्ता लिनका लागि लाग्नुपर्छ । त्योबाहेक हाम्रो अगाडि विकल्प छैन ।

भारत र चीनबीच युद्ध जारी छ र पनि उनीहरुबीच वार्ता भइरहेको छ । तर, नेपालको भूमिबाट एकतर्फी रुपमा बाटो बनाउने भारतले हाम्रो आग्रहका बाबजुद वार्ता गर्न आलटाल गरिरहेको छ । तपाईं सभामुख छँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मेदीले नेपालको संसद्बाटै पनि भन्नुभो– पशुपतिनाथ र विश्वनाथको सम्बन्ध, रोटी–बेटीको संस्कृतिक सम्बन्धबारे । गोर्खा सैनिकको नातादेखिको खुल्ला सिमाना छ । तर भारतबाट कहिले नाकाबन्दी, कहिले सीमा मिच्ने जस्ता काम भइरहन्छन् । युद्ध भएर भारतीय सैनिकको मृत्यु भइरहे पनि चीनसँग वार्ता गर्ने तर हाम्रो पहलका बाबजुद नेपालसँग चाहिँ चासो नदिने ? भारतीय प्रधानमन्त्रीको यो शैलीलाई के भन्नुहुन्छ ?

हामीले कतिपय कुराहरु बुझ्न सकेका छैनौँ । एउटा मित्रको नाताले यो कुरा त बुझ्न सकेनौँ भनेका छौँ । त्यसलाई हाम्रा मित्रहरुले अन्यथा लिन हुँदैन । आफ्नै आफन्तलाई त आफ्नो कुरा भनिन्छ ।

वास्तवमा तपाईंले भनेजस्तो यति नगिचको सम्बन्ध हो भारतसँग । धेरैवटा कुरा छन् । अझ त्यसमा थप्नुपर्ने थुप्रै कुराहरु छन्। आधारहरु छन् ।

खुला सिमाना छ । हाम्रा भाइहरु, छोराहरु गोर्खा सैनिकको रुपमा भारतमा अहिले पनि क्रियाशील छन् । छिमेकी भारतको आफ्ना छिमेकीहरुसँग कहीँ पनि अप्ठेरो पर्‍यो, लडाइँ पर्‍यो भने हामीलाई चिन्ता लाग्छ । हामी रातभर सुत्न सक्दैनाैँ। त्यस्तो सम्बन्ध संसारका अरु कुनै देशका बीचमा छ त ?

अनि हामी भनिरहेका छौँ । प्रधानमन्त्रीजीले भनिरहनुभएको छ । हाम्रो पार्टीले निरन्तर भन्छ– सार्वभौमसत्ता ठूलो र सानो हुँदैन । न त भूभागले, न त जनसंख्याको कारणले सार्वभौमसत्ता फरक हुन्छ । यो त बराबरीको हुन्छ । यो सब नाताले हामी सोध्छौँ– किन हामीसँग यो अप्ठेरो ?

तपाईंले कल्पना गर्नुभएको थियो– भूकम्पले क्षतविक्षत भएको बेलामा हाम्रै मित्रले नाकाबन्दी गर्ला भनेर ? त्यो पनि आफ्नो संविधान बनाएबापत ? अनि यो कुरा आफ्नै मित्रलाई नसोधेर कसलाई सोध्ने ? अनि हामीले आफ्ना मित्रलाई यो त अलि मिलेन कि ? यसो त अलि नगर्नुपर्ने थियो कि  भनेर सोध्दा मित्रहरुले चित्त दुखाउन मिल्छ ? हामीले बुझ्न नसकेको कुरा नै यही हो ।

अहिले त सिंगो संसार कोरोनाद्वारा आक्रान्त छ । छिमेकी भारतबारे हामी दुःखित् छौँ । हाम्रो राम्रो छिमेकी भारत अहिले आक्रान्त भइरहेको छ । हामी पनि कोरोनाद्वारा ग्रसित भएर त्यो समस्या जटिल बन्दै गइरहेको अवस्था  छ । यस्तो बेलामा हाम्रो भूभागमा छिमेकी भारतले हामीलाई नसोधी अचानक सडक उद्घाटन गरेको हामीले सुन्नुपर्दा हामीलाई दुःख लाग्दैन ? अनि यस्तो त हुनु नपर्ने, किन यस्तो भयो भनेर हामीले सोध्नु हुँदैन ? अनि हामीले सोध्दा उल्टै छिमेकी मित्रले आरोप लगाउँछ भनेर कल्पना गर्न सक्छौँ ? प्रश्न भनेको यो हो ।

कोरोनाको बेलामा साथीहरु (भारत सरकार) ले सडक बनाए, जबर्जस्ती । हामीले कुराकानी गर्ने भनेर आग्रह गर्दा कोरोनापछाडि टुंगोमा पुर्‍याउने भन्ने ? हामीले बुझ्न नसकेको कुरा हो ।

त्यसैले मलाई के लाग्छ भने दुई छिमेकी मित्रहरुका बीचमा कहिलेकाहीँ यस्ता कुराहरु हुँदा रहेछन् । दुःखद् हुन् तर हुँदा रहेछन् । म के आशा गर्छु– यसलाई हामी टुंगोमा पुर्‍याउछाैँ।

अब कहिल्यै पनि यस्तो समस्या नउठ्ने गरी टुंगोमा पुर्‍याउनेबाहेक विकल्प छैन । यो हाम्रो, भारतको र यो क्षेत्रको हितमा पनि त्यसरी अगाडि बढ्नुबाहेक हाम्रो अगाडि विकल्प छैन ।

भारतको ‘रेस्पोन्स’ हेर्दा टुंगोमा पुग्ला भनेर तपाईंले भन्नु भएजस्तै गरी आशावादी हुन सकिएला ?

हामी देखिरहेका छौँ– अलिक पहिले उहाँहरुको प्रतिक्रिया, उहाँहरुका सञ्चारमाध्यमको टिप्पणी एकदमै नकारात्मक थियो तर पछिल्लो समयमा त्यो सकारात्मक देखिएको छ । वार्ताद्वारा यसलाई टुंगोमा पुर्‍याउने कुरा उहाँहरु पनि गरिराख्नुभएको छ ।

त्यसैले हामी आशावादी छौँ । हामी विश्वस्त छौँ । हामी सम्पर्कमा छौँ । हामी वार्ता र संवादमार्फत् आफ्नो छिमेकी देशसँगको यो समस्यालाई टुंगोमा पुर्‍याउँछौँ । पुर्‍याउन सक्छौँ भन्ने कुरामा विश्वस्त छौँ ।

अन्त्यमा, सुगौलीसन्धिको २०५ वर्षपछि हाम्रो भूमि कालपानी–लिम्पियाधुरा क्षेत्र पहिलो पटक हाम्रो नक्सामा समेटिएको छ । त्यसलाई संसद्ले पनि अनुमोदन गरिसक्यो । यो खुशीको क्षणमा यहाँका दलहरु र आम नागरिकलाई के भन्नुहुन्छ ?

गाउँघरमा बूढापाकाहरुले भन्ने गरेको म सदासर्वदा सम्झने गर्छु– घरभित्र झगडा भयो भने छिमेकीले झ्यालबाट टाउको छिराएर उपदेश दिने मौका पाउँछ । त्यसैले ‘घरझगडा नगर्नू मिलेर बस्नू’ भनेर बूढापाकाहरुले भन्ने गर्नुहुन्छ ।

यो सबै सन्दर्भहरुमा मलाई पनि खूब मन पर्ने अर्को कुरा सम्झन्छु– ‘थैली दह्रो राख्नू, अरुलाई चोर दोष नलगाउनू ?’ थैली दह्रो राख्नु भनेको यो देशका तराई–मधेशदेखि हिमालसम्मका विविध जाति, भाषा, धर्म, संस्कृतिका जनता एकताबद्ध भएर बस्नु, यो देशका सम्पूर्ण राजनीतिक दलहरु एकढिक्का भएर बस्नु हो ।

हामीले त्यसो गर्न सक्यौँ भने हामीले सफलता हासिल गर्न सक्छौँ । सबै लडाइँ जित्न सक्छौँ । भर्खरै गरेको संविधान संशोधनमा जे उपलब्धि हासिल गर्‍यौँ, मलाई लाग्छ– यही कुराको परिणाम हो । हामीले यसबाट एउटा राम्रो सन्देश प्रशारित गर्न सफल भएका छौँ । अब यसैलाई पाठको रुपमा लिँदै एकताबद्ध भएर अघि बढ्नुपर्छ । सबै कुरा हामी प्राप्त गर्न सक्छौँ ।

भिडियाे हेराैँ

प्रकाशित मिति: : 2020-06-20 12:35:00

प्रतिकृया दिनुहोस्