अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट, सुन र डलरकाे भाउ उकालाे लाग्दै

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको जनाएकाे छ। १० महिनाको तथ्यांकमा आधारित रिपोर्ट सार्वजनिक गर्दै कच्चा पेट्रोलियम पदार्थको मूल्यमा ६१.५ प्रतिशतको गिरावट आएको जानकारी दिएको हो।

राष्ट्र बैंकले २०७६ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७२.५३ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७७ बैशाख मसान्तमा ६१.५ प्रतिशतले घटी प्रति ब्यारल अमेरिकी डलर २७.८९ कायम बताएको छ।

यता सूनको मूल्य भने बढेको छ। अन्तर्राष्ट्रिय बजारमा २०७६ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १२९८.४० रहेकोमा २०७७ बैशाख मसान्तमा ३१.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७०८.४ पुगेको राष्ट्र बैंकले बताएको छ।

यसैबीच २०७६ असार मसान्तको तुलनामा २०७७ बैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ९.२५ प्रतिशतले अवमूल्यन भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.९ प्रतिशतले अवमूल्यन भएको थियो। २०७७ बैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२०.५१ रुपैयाँ पुगेको छ।

२०७६ असार मसान्तमा उक्त विनिमय दर १०९.३६ रुपैयाँ रहेको थियो।

प्रकाशित मिति: : 2020-06-18 17:33:41

प्रतिकृया दिनुहोस्