बजेट राष्ट्रियसभाबाट बहुमतले पारित

राष्ट्रियसभाले पनि आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ। 

अर्थमन्त्री डा‍ युवराज खतिवडाले बिहीबार पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए।

राष्ट्रियसभामा नेकपा बाहेका सांसदले विपक्षमा मत दिएका छन्।
पक्षमा बहुमत सदस्यले हात उठाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्। प्रतिनिधिसभाले बुधबार नै बजेट पारित गरेको थियो।

सरकारले संवैधानिक व्यवस्थाअुनसार जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेका थिए।

त्यसअघि सांसदहरुले राखेको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सदनले बहुमतले अस्वीकृत गरेको थियो।

प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयकलाई राष्ट्रियसभाले १५ दिनभित्र स्वीकृत गरेर पठाउनुपर्ने छ।

सरकारले आगामी आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ४८ अर्ब, पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्था खर्च बापत २ खर्ब ७२ अर्ब छुट्याएको छ।

सरकारले बजेटको स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, बाह्य ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २ खर्ब २५ अर्ब लिने तयारी गरेको छ।

राष्ट्रियसभाको अर्को बैठक असार ५ गते अर्थात भोलि बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: : 2020-06-18 17:00:15

प्रतिकृया दिनुहोस्