मुगु डायरी –११
प्रकृतिको सुख–दुःखसँगै घोलिएका मुगालीलाई सत्ताले पेलेपछि निस्कने चिच्याहट कर्णाली नदीको कर्नाल ध्वनिभन्दा बढ्ता बन्छ। तर, पनि यो वा त्यो नामको कुनै सत्ताले पनि सुनेको छैन, त्यो आवाज। अहिलेसम्म सत्ताले कर्णाली नदीको वेग कहिले थोक त कहिलै खुद्रा बनाएर मनलागी बेचेर खादै आएको छ। यस्तो खाइदेउ सत्ताले के सुन्छ र कर्णालीको कर्नाल ध्वनि ?
भामबाडाबाट बालैसम्मलाई खासै उकालो–ओरालो थिएन। तर, गर्मी भने चर्कै थियो। हुनलाई त मुगु हिमाली जिल्ला हो। हिमाली जिल्लामा पनि गर्मी? यो प्रश्न म आफैलाई त सोधिरहेको हुन्छु भने तपाईंले नसोध्ने कुरै हुँदैन। जिल्ला हिमाली भए पनि धेरै गहिरा खोच भएको मुगुमा औल लाग्छ। त्यसैले बाटोभरी हिमाली हैन, पहाडी हावापानीको अनुभूत गर्यौं। कागती, अमला, केरा, अमिलो फलेको देख्दा यो हिमाल हो र? भनी प्रश्न गर्न मन लाग्थ्यो। बालैबाट एक डेढ घण्टा उकालो चढ्यो भने स्याउ खाने ठाउँ आइपुग्ने हुँदा पलभरमै हिमाल र पहाड दुबैको अनुभूति गर्न पाइन्छ।
कर्णाली राजमार्गको कालिकोट खण्डको सेरीगाडदेखि मान्म खाँडाचक्रसम्म योभन्दा पनि विशिष्ट खालको भौगोलिक विविधता देख्न सकिन्छ। झण्डै एक घण्टाको यो यात्रामा तराईदेखि हिमालसम्मको वातावरण अनुभूत गर्न पाइन्छ। त्यहाँ तराईको आँप, पहाडको सुन्तला, कागती र अमला तथा हिमालमा हुने स्याउ देख्न सकिन्छ।
यिनै भौगोलिक विविधता नै नेपालको अनुपम सुन्दरताका बान्कीहरु हुन्। यस्ता दृश्य नेपालको कुनै स्थान विशेषभन्दा पनि सिंगो देशभरि सर्वत्र छन्।
चितवन राष्ट्रिय निकुञ्जबाट लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्न कस्सिएर हिड्यो भने दुई दिन लाग्छ। अर्थात् दुई दिनमा अत्यन्तै गर्मी ठाउँबाट अत्यन्तै चिसो ठाउँमा पुग्न सकिन्छ। यही नै नेपालको भौगोलिक विषमताको सुन्दर पक्ष हो।
नेपालको अति गर्मी ठाउँ तराईमा आँप पाक्छ। त्यहाँबाट एक झोला आँप टिपेर गाडीमा एक घण्टा हिड्यो भने आँप खाइनसक्दै सुन्तला पाकेको पहाडी गाउँ पुगिन्छ। त्यो ठाउँबाट एक झोला सुन्तला टिपेर खाँदै खादै उकालो लाग्यो भने १–२ घण्टाको समयमा स्याउ पाकेको ठाउँ आउँछ। अर्थात् झण्डै चार घण्टाको हिडाइमा झोलाका आँपको खोया र सुन्तलाका बोक्रा फाल्ने बेलामा स्याउको स्वाद चाख्न सकिन्छ।
राम्रो सडक र गतिला गाडी हुने हो भने नेपालले पर्यटकलाई संसारले दिन नसक्ने प्राकृतिक स्वाद दिन सक्छ। त्यसैले यदि कुनै पर्यटकले नेपाललाई कसरी चिनाउनु हुन्छ, भनि सोध्यो भने जवाफमा, ‘नेपाल यस्तो ठाउँ हो जहाँ तपाई बरफ खाँदै हिमाल हेर्न सक्नु हुन्छ’ भन्न सकिन्छ। बरफ खानलाई गर्मी ठाउँ हुनुपर्छ। चिसो हिमालमा यो सम्भव हुँदैन तर नेपालमा सम्भव छ। नेपालको भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले यसलाई सम्भव तुल्याइदिएको छ। (हेर्नुस्, राज्य पुनःसंरचना सम्बन्धी नेमकिपाको अवधारणा र विश्लेषण, पृष्ठ १०)
यिनै प्राकृतिक सुन्दरता र भौगोलिक विविधता जनाउने कुराले मेरो दिमाग तरङ्गित बनाएको थियो। जसले शरीरमा चढेको गर्मी एकाएक गौण भयो। गर्मीले आलस्य भएको जीउमा ऊर्जा पलायो। अलि अगाडि कोही मान्छे भेटियो कि ‘टोप्ला पुग्न कति समय लाग्छ?’ भनेर सोध्न अकुलाएको मन प्राकृतिक सुन्दरतासँगै मितेरी लगाएर बसौं जस्तो भइदिन्छ।
भर्खर वर्षा सकिन आँटेको थियो। भदौरे भड (झारपात) ओइलाउन लागेका थिए। तर, केही भड बैंस आएका जस्ता ऊर्जाशील देखिन्थे। कहिले नचिनेका भडले पनि रमाइलो गराइरहेका थिए। किसानको बारीमा फलेको रातो र पँहेलो मार्सेले शरद ऋतुलाई झन् रंगिन बनाएको थियो।
तेर्सो बाटो हुँदै थोरै अगाडि पुगेपछि हाम्रो एक जना १२, १३ वर्ष उमेरका बालकसँग भेट भयो। उनी बाख्रा चराउन हिडेका थिए। काँधमा पुरानो छड्के झोला भिरेका उनी झिल्के देखिन्थे। उनले लगाएका पुराना कपडा धैरै ठाउँमा टालेका थिए। उनको एउटा आँखाको बनावट सानो थियो। हातमा किताब थियो। यो सबैभन्दा सुखद पक्ष थियो। तर, समग्रमा यो दृश्यको पृष्ठभूमिले दुःखी बनायो। अघिसम्म दिमाग तरंगित बनाउने दृश्यका माझ एकाएक जोडिन पुगेको यो दृश्यले गम्भीर र सोचमग्न बनायो।
हेर्दै मायालु देखिने उनीसँग हामीले केही कुरा गर्न खोज्यौं। उनी बोल्नै मानेनन्। खासमा उनको पढ्ने रुचि देखेर बोल्न मन लागेको हो। नाम, घर केही बताएनन्। अन्तिममा एउटा फोटो खिचौं भन्दा पनि मानेनन्। हामीले कर पनि गरेनौं। हामीलाई उनको फोटो बेचेर खानु थिएन। उनको नाममा फण्ड कलेक्सन गर्नु पनि थिएन। तर, यत्ति हो त्यो दृश्य मन मस्तिस्कमा गडेर बस्यो।
बाटोमा बुढेसकाल लागेका भड हेर्दै गर्दा मलाई उनको सम्झना आइरहेको थियो। उनीभन्दा अझ बढी उनको हातको किताबले अनेकन तर्कना मनमा खेलिरहे।
विद्यालयमा उही पाठ्यक्रम पढ्ने र उस्तै प्रश्नको उत्तर दिने कर्णाली काठमाडौंसँगको प्रतिस्पर्धामा किन हार्छ होला? मनलाई बारम्बार घोचिरहने यस्ता प्रश्नको गतिलो जवाफ मलाई त्यतिबेला मिल्यो जतिबेला उनी र उनीजस्तै अरु बालक भेटिए। आफ्ना आमा–बाबालाई घरको काममा सघाउँदा सघाउँदै, भविष्यको खोजी गर्ने कर्णालीका मुना विद्यार्थी कम र किसान बढी बन्छन्। कापी–किताबको भारीभन्दा खेती–किसानीको भारी बढी बोक्नु पर्दा प्रतिस्पर्धामा सामेल हुनु मात्र त हो। नतिजा त उही बाह्र भाइ मस्टो र नौ दुर्गा भवानीकै हातमा हुन्छ।
काठमाडौंको सुविधासम्पन्न विद्यालयमा पढेकासँग गाई–बाख्रा चराउँदा चराउँदै अक्षरसँग मितेरी लाउन नपाएकाले प्रतिस्पर्धामा उछिन्नु उही देवी देउता दाइना भए जस्तै न हो। सहरमा होष्टेलमा बसेर पढ्ने र गाउँघरमा स्कुलबाट फर्किने वित्तिकै घरको काम थालिहाल्ने बीचको योग्यताको तुलना गर्नु असम्भव नै हुन्छ। परिणामतः नीति निर्माण तहमा कर्णालीको पहुँच पुग्दैन। पहुँच नहुने अगाडि बढ्लान भनेर सोच्नु मुर्खता सिवाय केही हुँदैन। नीति निर्माण तहमा पुगेका गाउँ अनुभुत गर्दैनन्। त्यसैले तारे होटलमा बनेका नीति तथा कार्यक्रम कहिल्यै कार्यान्वयन हुने कुरै भएन।
विशिष्ट खालको शैक्षिक पद्धति र अन्तर्राष्ट्रिय स्तरको पढ्ने वातावरण र कति विषयका जेनतेन कोर्ष मात्रै सक्ने तथा कति विषयका मास्टरसमेत वर्षभरी नपाइने कक्षाका विद्यार्थीमाझ अब्बल को भन्ने प्रश्न नै रहँदैन। त्यसैलै सकेसम्म सिकौं भनेर विद्यार्थी काम गर्दागर्दै पनि पढ्न खोज्छन्। नतिजाको भरोसा त उही माथि भनिएझैं हो।
‘काठमाडौंका विद्यार्थीका र विद्यालयका कुरा सुन्दा मुगुका विद्यार्थीको घाँटी सुक्दै जान्छ होला । सुख्खा घाँटी भिजाउन घुटुक्क थुक निलेको आवाज आउँछ होला।’ बाख्रा चराउँदै किताबको स्वाद लिइरहेका ती कामदार विद्यार्थीलाई सुविधासम्पन्न स्कुलको कहानी सुनाएपछिको अवस्था कल्पना गर्छु। जीउ गल्दै जान्छ। यही बेला सम्झिन्छु लेखक मोहन मैनाली। उनी आफू पढेको पोखरी हाई स्कुल र बुढानिलकण्ठ हाई स्कुलको बारेमा लेख्दै गर्दा बुढानिलकण्ठका विद्यार्थीलाई उपलब्ध सेवा सुविधा देखेर लोभले थुक निल्छन्। (हेर्नुस्, देखेको देश, ‘स्कुल थरीथरीका’ पृष्ठ १३५–१४२) यही दृश्य ती नाम नखुलेका मुगाली विद्यार्थीको हकमा पनि लागु हुन्छ।
एकछिनलाई सिमलको भुवाजस्तै हल्का मन भिजेको कपासजस्तै गहुंगो बनिदिन्छ। त्यसमाथि मुगुको कोमल माटोलाई बर्षाको भेलले काटेको देख्दा मन कटक्क काटिन्छ। गमगाड खोलो बौलायो भने मुगुको माटोको केही लाग्दैन। सायद यसरी काटिएर बगेको कर्णालीको माटोले नै बंगलादेश नजिकै समुद्रमा टापु बनेको होला र त नेपालले दाबी गर्यो। त्यहाँको माटोसँगै रुख विरुवा पनि बग्छन्। तिनले त्यहाँका कुलो, घट्टदेखि घर र मान्छे समेत बगाउँछन्। बालैनेर भर्खर बनाएको पक्की पिलरवाला घरभित्रै सग्लै रूख पसेको देख्दा यस्तै लाग्यो।
प्रकृतिको सुख–दुःखसँगै घोलिएका मुगालीलाई सत्ताले पेलेपछि निस्कने चिच्याहट कर्णाली नदीको कर्नाल ध्वनिभन्दा बढ्ता बन्छ। तर, पनि यो वा त्यो नामको कुनै सत्ताले पनि सुनेको छैन, त्यो आवाज। अहिलेसम्म सत्ताले कर्णाली नदीको वेग कहिले थोक त कहिलै खुद्रा बनाएर मनलागी बेचेर खादै आएको छ। यस्तो खाइदेउ सत्ताले के सुन्छ र कर्णालीको कर्नाल ध्वनि?
बालैबाट घुइरको उकालो चढ्दा जीउ पूरै धकेल्ने बेला भैसकेको थियो। एक घण्टामा टोप्ला पुग्न सकिने उकालो छिचोल्न दुई घण्टा बढी लाग्यो। टोप्ला पुगुन्जेल पसिनाका धारा छुटेका थिए। त्यही एउटा आवाज सुनियो, ‘काँका हौ? गल्याका जसा (थाकेका जस्ता) देखिदा छौं। स्याउ खाँदा की?’ आमैको प्रिय स्वर सुनेपछि स्याउ खान मन लागिगो। दश रुपियाँमा दुई दाना स्याउ खाएपछि जीउ शितल भयो, ऊर्जा पनि थपियो।
१०. अनि भामबाडा कलाकार जन्माइरहन्छ
९)‘मेरा नाडीउँदो शक्ति पलायाछ’ (भिडियाेसहित)
८) डेढ सयबाट व्यवसाय शुरु गरेकी धनमाया बुढा मुगुमै बसेर कराेड कमाउँछिन् (भिडियाे)
७) जव ‘३६’ हुनुपर्नेमा ‘६३’ हुन्छ, अनि चुलिन्छ मुगाली आक्रोश
६) नेपाल भ्रमण वर्ष–२०२०: यसरी त कसरी सफल होला र?
५) कालो बादलभित्र चाँदीको घेरा (भिडियाे)
४) मुगुका हिरा अर्थात् हिरा बिजुली
३) रारा : सके धेरैपटक, नसके पनि एकपटक
२) इतिहास बाँङ्गिने 'तुङ्गनाथ' चिन्ता