हाम्रा प्रधानमन्त्रीले संसदमा भैँसी व्यापारीको कथा सुनाउनु भयो। व्यापारीले ग्राहकलाई भन्दै थियो - भैँसीको कल्चौडो नहेर्नुस्, दूध कति दिन्छ, घिउ कति लाग्छ, केही पनि नसोध्नुस्। सिङ हेर्नुस् कति राम्रा र चिल्ला छन्। तेल घसेका सिङ देखाउँदै व्यापारीले भनेछ।
कथा रोचक थियो। खुशी पनि लाग्यो, उहाँको साहित्यिक र भाषिक प्रगति देखेर। पहिले पहिले उखान टुक्का, त्यसपछि गीत, कविता हुँदै कथा यात्रामा फड्को मार्दै हुनुहुन्छ। म पनि भाषा र साहित्यको विद्यार्थी। मसँग कुनै मानार्थ विद्यावारिधि त छैन। त्रिभुवन विश्वविद्यालयबाट दु:ख र मिहिनेत गरी प्राप्त गरेका दुई वटा मास्टर डिग्री प्रमाणपत्रका खोस्टामात्र छन्।
उहाँको कथा ध्यानपूर्वक सुनेँ। कथा सुनिसकेपछि प्रधानमन्त्रीले चलाख भैसी व्यापारी भनेर कसलाई भन्नुभएको होला? मैले बुझ्नै सकिँन। पीसीआर परीक्षणमा भएको सुस्तता, आरडीटीको विश्वसनीयता र क्वारेन्टाइनको अवस्थाका बारेमा सांसदहरुबाट प्रधानमन्त्रीलाई सोधिएको प्रश्नको सन्दर्भमा भैसी व्यापारीको कथा आएको थियो।
प्रधानमन्त्रीले सरकारप्रति आलोचनात्मक चेत राख्ने जो कोहीलाई व्यापारी भन्नु भएको वा सरकारलाई नै? मैले आजसम्म व्यापारी शब्दको अर्थ नै नबुझेजस्तो लाग्यो र शब्दकोश पल्टाएर हेरेँ।