वि.स. २०५८ मा राजदरबार हत्याकाण्डपछि वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले भनेका थिए, ‘इतिहास जित्नेको लेखिन्छ। चाहे त्यो इतिहास जुनसुकै तवरले जितिओस् तर लेख्नेले जित्नेको गुणगान नै लेख्ने हो।’ सो समयमा तत्कालिन विद्रोही माओवादीलेसमेत जो जति जंगलबाट कुर्ले पनि उसको माग भनेको ‘गोलमेच सम्मेलन, संविधानसभा र गणतन्त्र’ थियो। यस उद्धेश्यका निम्ति उसले जबसम्म तत्कालिन राजा ज्ञानेन्द्रले माग सुन्दैनन् तबसम्म संवैधानिक दलसँग निकटतम गर्न चाँहदैंनथ्यो। तर राजा ज्ञानेन्द्रले उनीहरूको मागलाई वास्तै गरेनन्। फलश्वरूप दोस्रो वार्ता पनि भाँडियो र संसदवादी दलसँग माओवादीले निकटताको मौका पाए।
तत्कालिन एमालेको बल्खु दरबारमा अमेरिकी राजदूत र भारतीय राजदूतको प्रवेश हुने सूचना अघिनै हतारहतार माओ, एंगेल्स र स्टालिनका तस्बिर निकालेर एमालेले समाजवादीधारतर्फ ढल्केको अघोषित देखावटी देखाइदियो।
एमालेले प्रतिगमन आधा सच्चियो भन्ने, कांग्रेस प्रजातान्त्रीकका शेरबहादुर देउवा राजाको दर्शन भेटको अवसर पर्खने। संसद पुर्नस्थापना हुनुपर्दछ भन्दै एक्लो वृहस्पतिका रूपमा खडा भएका गिरिजा प्रसाद कोइराला सडकमा उत्रिए। उनै गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपाल हुनुपर्दछ भनेर पहिलोपटक सडकबाट साथ दिए युवा नेता गगन थापा र गुरू घिमिरेसहितले।
तत्कालिन नेविसंघ अध्यक्ष गुरू घिमिरे, महामन्त्री गगन थापा र प्रदिप पौडेललगायतले गणतन्त्रका निम्ति चर्का भाषण सुरू गरे। स्कुल, कलेज र अखबारका पानाहुँदै घरघरमा उनीहरूको आवाज पुग्यो, दरबार झस्कियो।
सुरक्षाकर्मीले उनीहरूलाई अनामनगरको प्रहरी कार्यालयमा करिब तीन सातासम्म हिरासतमा लिए। आरोप लगाउने कुनै उपाय नपाएपछि अदालतबाट रिहा भए गगन थापालगायत। तीन जनाको सानो समूहले सिंहदरबारबाट रामशाहपथहुँदै बागबजार र रत्नपार्कमा ‘गणतन्त्र जिन्दावाद’को नारा लगाउँदै पुगेको हिजो झैं लाग्छ। म मनमनै गम्थेँ, ‘यति सानो समूहले गणतन्त्रको श्वर निकाल्दा के नेपालमा साच्चिकै गणतन्त्र आउँला र?’
त्यसयता बाग्मतीमा धेरै पानी बगिसक्यो। गणतन्त्र जन्मेर शिशुहुँदै प्रौढ भइसक्दा पनि गगनहरू अझै गणतन्त्र संस्थागतका निम्ति लडिरहनु परेको छ।
केही दिनअघि दोस्रो पटक संविधान संशोधनका निम्ति संसदमा पेश भयो। कालापानी लिपुलेक र लिम्पियाधुराका विषयमा नक्सा समेटेर नेपालको निसान छाप संशोधन गर्ने विषयले संसदमा प्रवेश पाएसँगै एकमतले त्यो पास भयो। त्यसपछि यसको चर्चा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने नै भयो।
त्यो ऐतिहासिक दिन गगन थापाले संसदमा दुई शब्द बोल्न पाएनन्। उनीजस्तै गणतन्त्रका निम्ति युवा अवस्था खेर फालेका श्वरहरू संसदमा सुनिएनन्। तर त्यस लगत्तै भारतीय कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेको विषयले सामाजिक सञ्जाल एकाएक तात्यो।
प्रश्न यहाँ गगन र सुशान्तको होइन, प्रवृत्तिको हो। सुशान्तको मृत्युपछि बलिउडको ढोंग, प्रवृत्ति र सिण्डकेटको उजागर भएको छ। सुशान्तको नयाँ फिल्म ‘छिछोरे’ को अत्याधिक सफलता र चर्चा चुलिएपछि बिगत ६ महिनामा उनले ७ फिल्मबाट हात धुनुपरेको थियो। उनलाई सारा बलिउड एक भएर कर्नर पारिएको विषय अहिले छताछुल्ल भएको । एउटा सफल र योग्य मानिसलाई डाहा गरेर अयोग्यले कर्नर गर्ने गर्छन्। अयोग्यहरु एकजुट भएर योग्यलाई कसरी हुन्छ खुट्टा तान्ने, र हतोत्साही बनाउने प्रवृत्ति बलिउड फिल्म क्षेत्रमा मात्र होइन दक्षिण एसियामै हरेक क्षेत्रमा हुने गर्छ। यसको प्रष्ट उदाहरण हाम्रै संसदमा पनि देखियो।
बिगत केहीदिनदेखि सरकारको चर्को विरोधमा उत्रिएका गगन थापा सामाजिक सञ्जालमा यसै पनि चर्चित थिए त्यै माथि उनले कोरोना भाइरस सम्बन्धि दिएको टिप्स त्यो अनुरूप सरकारको तयारी नभएकोलगायत सरकारको आलोचना यतिसम्म भयो कि, प्रधानमन्त्रीले रोष्टमबाट जवाफ फर्काउन समेत बाध्य हुनुपर्यो। यस अवस्थामा उनी काँग्रेसभित्रै टार्गेटमा परे।
शेरबहादुर देउवा, दिलेन्द्र प्रसाद बडुलगायतले उनलाई संविधान संशोधनका विषयमा बोल्न नदिने भित्री रणनीति तय भयो। फलश्वरुप गगनले संसदमा बोल्न पाएनन्। योग्यलाई गुटबन्दीको आवश्यक पर्दैन। चेतना र विवेकले उनीहरू इशारा बुझ्छन्। हरेक परिस्थितिमा तत्कालै निर्णय लिने क्षमता राख्छन्। राम्रो नराम्रो, गलत र सही निर्क्यौल गर्न सक्छन्। तर अयोग्यहरुले नसक्नाले उनीहरूलाई गुटबन्दीको आवश्यकता पर्छ। गुटमा रमाउने तिकडममा रम्ने एक किसिमको प्रवृत्ति हुन्छ। उनीहरु आफ्नो चाकरी र चाप्लुसीलाई योग्यता नै ठान्छन्।
गणतन्त्रका असली हकदार गिरिजाप्रसाद कोइराला छैनन्। कांग्रेस पार्टी विधानमा गणतन्त्र घुसाउन मुख्य भूमिका खेलेका नरहरी आचार्य पार्टीबाट विश्राममा छन्। कृष्णप्रसाद सिटौला र गगन थापाहरूलाई कुनामा पारिएको छ। यो हरेक पार्टीमा छ। बाबुराम भटृराईदेखि घनश्याम भुसालसम्मलाई अध्ययन गरियो भने त्यो पाउँछौं।
सुशान्त सिंह राजपुतको आत्महत्याबाट सबैले महसुस गरेको यस्ता खालका सिण्डिकेट तोड्न विचार र क्षमताको आवश्यकता पर्छ । त्योभन्दा बढी यस्ता खालका गलत प्रवृत्तिको भण्डाफोर गर्ने नैतिक साहसको आवश्यकता पर्छ। जुन दक्षिण एसियाका हरेक क्षेत्रमा आवश्यक छ। घर, समाज र पार्टी, कार्यालय हरेक क्षेत्रमा अलिकति जान्ने सुन्नेलाई कसरी निमिट्यान्न पार्ने भन्ने प्रवृत्तिको जबसम्म उन्मुलन हुन्न तबसम्म योग्यहरु कहिल्यै माथी उठ्न सक्दैनन्। गणतन्त्रका निम्ति काम गर्ने कालु मकै खाने फलानो भनेझैं हामी कहाँ पनि यही प्रवृत्ति छ।
सुशान्तको आत्महत्याबाट अब बलिउड बहसमा उत्रिएको छ भने अब हामीले पनि यस्ता पछाडि पारिएका व्यक्तिलाई बहसलाई उतार्नुपर्छ।