महाकाली सन्धिका तीन तथ्य
पानीमा विभेद : महाकाली सन्धिले पानीको वितरणमा नै नेपालमाथि अन्याय गर्यो । नेपालले हिउँदमा आठ सय, वर्षामा २३ सय क्युसेक पानी पाउने सन्धि भयो । जब कि महाकालीमा हिउँदमा १० हजार क्युसेक र वर्षामा दुई लाख क्युसेकभन्दा बढी पानी बग्छ । नेपालले कति पानी पाउने भनेर निर्धारण गरियो, भारतले पाउने पानीको निर्धारण गरिएन ।
लिम्पियाधुरामा अन्योल : सन्धि गर्दा महाकालीको शिर के हो भनेर स्पष्ट गरिएन । कालापानीमा भारतीय फौज बसेको तथ्यलाई पनि सन्धिले बेवास्ता गर्यो । त्यत्रो सन्धि हुँदा लिम्पियाधुराबाट बग्ने काली नदी नै महाकाली हो भनेर स्पष्ट किटान गरेको भए वर्तमान र भावी पुस्ताले अपमान सहनुपर्ने थिएन ।
भारतका तीन रणनीति : परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका अनुसार भारतका तीन रणनीति थिए । पहिलो डिरेल एन्ड डिनाई अर्थात् नेपालमा जागेको देशभक्तिको आन्दोलनलाई पथभ्रष्ट बनाइदिने र नेपालको राष्ट्रियतालाई अस्वीकार गर्ने । दोस्रो– डिभाइड एन्ड डाइभर्ट अर्थात् राष्ट्रियताको पक्षमा एकजुट नेपालीलाई विभाजित गरेर उनीहरूको आस्थालाई विचलित बनाउने । तेस्रो– डाइलुट एन्ड डिसमिस अर्थात् राष्ट्रिय हित भनेको सम्झौताको विषय हो भनेर कमजोर बनाउने र नेपालीको विश्वासलाई खारेज गरिदिने । यी तीनवटै रणनीतिमा भारत धेरै हदसम्म सफल भयो ।
महाकाली सन्धि अनुमोदन गर्न र रोक्न अन्तिम घडीसम्म भएको संघर्षको कथा हिरण्यलाल श्रेष्ठको शब्दमा
-गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेपछि राष्ट्रघात भयो भनेर मदन भण्डारीको नेतृत्वमा हामीले जोडदार आन्दोलन गर्यौँ। संसद्मा मदनले तीन घन्टा भाषण गर्नुभयो । हामीले प्रतिनिधिसभामा लगातार आठ घन्टासम्म नारा लगायौँ । यसरी हामीले राष्ट्रवादी आन्दोलनको एउटा उभार ल्यायौँ ।
-महाकाली सन्धि हुँदा एमालेमा महासचिव माधव नेपाल र खड्ग ओलीजस्ता शक्तिशाली नेताहरू सन्धिको पक्षमा हुनुहुन्थ्यो, तैपनि उहाँहरूले एकलौटी गर्न सक्नुभएन । सन्धि राष्ट्रघाती छ भन्ने समूहले बलियो टक्कर दियो । पक्ष र विपक्षमा १६–१६ मत पर्यो। अब एकजना वैकल्पिक केन्द्रीय सदस्यको मत नै निर्णायक हुने भयो ।