देश यतिबेला चरम आर्थिक सङ्कटमा परेको छ । कोरोनाले चैत ११ गतेदेखि लकडाउन हुँदा देशको आर्थिक गतिविधि शून्य भएपछि सरकारको आम्दानीमा धक्का लागेको हो । सरकारको आम्दानीले दायित्वसमेत धान्न मुस्किल परेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले समेत आम्दानी घटेपछि खर्च धान्नै मुस्किल भएको स्विकारिसकेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको मासिक खर्च ४० अर्ब तर आम्दानी औसतमा १५ अर्ब रहेको भनेका छन् । खर्च धान्नै मुस्किल भएपछि सरकारले यतिबेला रोयल्टीलाई राजस्वमा दाखिला गरेर खर्च चलाउने प्रयास गरिरहेको छ ।
अर्थमन्त्री भन्छन्, ‘कतिपय कोषहरु सरकारकै राजस्व नीति डाइभर्सनबाट र करका दरबन्दीहरु डाइभर्सन भएर खडा भएका कोषहरु छन् । त्यसरी सिर्जना भएका रोयल्टीलाई कानुन सम्मत ढङ्गले राजस्वमा दाखिला गर्ने कुरा गरेका छौँ ।’ सरकारको राजस्वबाट उठेको रकम मुद्दती खातामा हुने र खर्च गर्न ऋण लिनुपर्ने अवस्थाको अन्त्यका लागि केही कोषहरु राजस्वमा बाँधिएको उनले भने ।