सहयात्री

जीवन आचार्य

(म्यान्मार)

दुई मिनेटदेखि लगातार बजिरहेको अलार्म बन्द गरेर श्रीमतीलाई जगाउने कोशिश गरेँ।

सन्ध्या!, ए सन्ध्या!!

‘एकछिन सुत्न दिनुहोस् न। न राति सुत्न दिनुहुन्छ, न त बिहान नै सुत्न दिनुहुन्छ, एक छिन न,’ बन्द आँखामै गोडा मुनिको कम्बल तानेर कोल्टे पर्दै उसले भनी।

बाफ्रे! यति ठूलो आरोप म माथि। के रात मेरो मात्र थियो? उसको थिएन र?

रात हामी दुवैको हो। अझ भनौं रात मेरो ग्रहण र उसको समर्पण हो। यति समर्पित हुन्छे ऊ म माथि कि, उसले सारा दुनियाँ बिर्सन्छे। ऊ आफैंलाई बिर्सन्छे।

उसको कम्मरमाथि हात राख्दै कानको नजिकै मुख लाँदै भन्छु, ‘यार! आज अफिस चाँडै जानु छ।’

‘एउटा कुरा सोधौं,’ बन्द आँखामै उसले बोलेकी थिइ।

मैले हुन्छ भनेपछि आँखा खोलेर म तिर हेर्दै सोधि, ‘सधै काम-काम मात्र भन्नुहुन्छ, यदि ईन्जिनियर नहुनु भएको भए हजुर के बन्नुहुन्थ्यो जस्तो लाग्छ?’

कसम! यी महिलाको मस्तिष्कमा कस्ता कस्ता अनौठा प्रश्नहरू चल्छन्।

प्रेमपूर्वक उसको गालामा हात राख्दै आँखामा आँखा जुँधाएर उसको प्रश्नमाथि प्रश्न तेर्स्याएँ, ‘किन हो?’

‘भन्नू न के,’ ऊ चित्त नबुझेको अभिनय गर्दै बोल्छे।

‘तिम्रो श्रीमान,’ उसको अनुहारमा जताततै फिँजिएका कपाल मिलाइदिँदै भनेँ।

‘त्यो त अहिले पनि त हुनुहुन्छ,’ उसले आँखा तर्दै भनि।

‘तिम्रो श्रीमान बनेँ, यहीँ काफी छ। यो उप्रान्त जीवनमा न त केही हाँसिल गर्नु छ, न त केही बन्नु नै छ मलाई,’

त्यति भन्दै, उसको गालामा हात राखेर उसको कसिलो ओठ चुम्न खोजेँ।

‘भयो नभन्नुस्,’ मलाई धकेल्दै हत्तपत्त उठेर कपालको जुरो मिलाउन थाली।

कत्ति छिट्टिछे सन्ध्या। म नुहाएर अफिस जान तयार भइसक्दा, उसले नुहाइसकेर भगवानको बत्तिसमेत बालेर नास्ता बनाइसकेकी थिइ।

हतार हतार नास्ता खाएर म अफिस निस्किएँ। सन्ध्या मलाई छोड्न बाहिरको गेटसम्मै आइ।

‘आज त शनिबार हो नि, अफिस आधा टाइम मात्र होला, हैन? म दिउँसोको खाना खान पर्खेर बस्छु नि,’ मेरो दायाँ हात समात्दै उसले भनी।

‘ओके बाबा! चाँडै आउँला,’ मैले आफ्ना दुई हात उसको कम्मरमा बेर्दै भनेँ।

उसले शीर मेरो छातिमा ल्याएर राख्दै निकैबेरसम्म अंगालोमा बेरिरही।

म जिस्किएँ ,‘कोठामा जाउँ या अफिस?’

उसले मेरो बायाँ पाखुरमा प्याट्ट पिट्दै बिदा दिई।

सन्ध्या बिनाको मेरो जिन्दगी म कल्पना पनि गर्न सक्तिनँ। मान्छेहरू भन्छन्, ‘जे हुन्छ राम्रै हुन्छ, जे भयो त्यो पनि राम्रैका लागि भएको हो,’ सही हो। आज म सन्ध्यासँग जति खुशी छु, त्यति खुशी सायद ...

***

म अफिस पुग्नासाथ एचआर तीडाले अन्तर्वार्ताको तयारी गरिन्। मैले म्यानेजर रोहितलाई अन्तर्वार्ता सुरू गर्ने संकेत दिएँ।

रोहित इन्डियन हो। उसले बर्मा बुझ्दैन। अफिसमा म्यानेजर लेवलदेखि माथिका सबै इन्डियन छन्। अनि अधिकांश स्टाफ बर्मेली। बेलाबेला मलाई लाग्छ, म यो कम्पनीको सुपरभाइजर होइन ट्रान्सलेटर हुँ। त्यसैले म अफिसमा सकेसम्म हिन्दी र बर्मेली दुवै बोल्दिनँ।

अन्तर्वार्ताको लागि निम्त्याइएका प्रतिश्पर्धी पन्ध्र जना छन्। ती मध्ये एक तीडाकी नन्द हुन्। अन्तर्वार्ता सुरू नहुँदै उनले मलाई भनेकी थिइन्। यदि मैले उसकी नन्दलाई रोजेँ भने रोहितले नाईं भन्नेछैन। यो उसलाई राम्रोसँग थाहा थियो।

सबैभन्दा पहिला उसैलाई बोलाइयो। मैले सरल प्रश्न मात्र सोधेँ। हेर्दामा पनि ठीकठाक थिइन्। मैले उसैलाई लिने निधो गरेँ। बाँकीका  प्रतिश्पर्धिहरू फर्मालिटीका लागि मात्र थिए। यसैबीच नम्बर सात वालीलाई रोहितले मन परायो। त्यो केटीलाई सोधेका प्रश्न देखेरै मैले अनुमान गरेँको थिएँ।

घडीले ११ बजाउन लागेको थियो। घर चाँडै जानु थियो। सन्ध्या मलाई खाना खान पर्खेर बसेकि थिइ।

दुई तीन सवाल सोधेर उसलाई भगाउँछु भन्ने सोचमा टेवलमा रहेको अन्तिम सिवी लिएँ।

सिवीमा फोटो टाँसिएको थिएन। नाम खोजेँ।

‘मिरा’

म थोरै झस्किएँ।

जन्ममिति

म हत्तारिएँ।

विश्वविद्यालय

पक्का उही थिइ। मैले आँखा बन्द गरेर लामो सास फेरेँ। र, पुनः सिवीमा नजर टेकाएँ।

वैवाहिक स्थितिः डिभोर्स

एकाएक मेरो मुटुको स्पन्दन रोकिएला झैं भयो।

उसका अन्य डेटाहरू एक एक गर्दै नियाल्दै थिएँ। मेरो सामु ऊ आएर ठिङ्ग उभिइ, कोही नभएर ऊ मेरी पूर्वप्रेमिका, मीरा थिइ।

उसलाई देखेर मेरो मुटुले धड्कनको रफ्तार दुई गुणा बढायो।

ऊ साधारण बर्मेली पहिरनमा थिइ। स्ट्रेट गरेको कपालले गर्धन छोएको थियो। उसको अनुहारमा कुनै सजावट थिएन। न त उसका हातमा चुरा थिए, न त कुनै औंलामा औंठी। देब्रे हातमा पातलो चेनको सुनौलो घडी थियो। अनि दाइने हातमा केही फर्महरू। म एकटकले उसैलाई हेरिरहेको थिएँ। उसले नजर झुकाइ।

‘प्लिस् टेक ए सीट,’ विपरीत दिशामा भएको कुर्सी देखाए।

ऊ मुसुक्क हाँसेर कुर्सी नै भाँचिन्छ कि झैं गरेर टुसुक्क बसी।

‘मिस् मीरा, टेल एस समथिङ अबाउट  योरसेल्फ,’ यो सवाल तिडा को थियो।

उसले आफ्नो परिचय छोटो मीठो दिई।

त्यसपछि रोहितले एकपछि अर्को टेक्निकल सवालहरू सोध्न थाल्यो। उसको अनुहार रातो पिरो हुँदै गयो। ऊ मलिन देखिँदै गई। एसी रूममा पनि उसको निधारमा पसिना आउन थाल्यो।

रोहितले अर्को सवाल गर्न नपाउँदै मैले प्रसङ्ग अन्तै मोडिदिएँ।

‘आर यू नर्भस?’

ऊ मिलेका सेता दाँत देखाएर मुसुक्क हाँसी मात्र।

रोहितले मलाई पुलुक्क हेर्‍यो। त्यसपछि उसलाई थाहा हुने खालका ३-४ केही टेक्निकल सवाल सोधेँ।

उसले सबै जवाफ सही सही दिइ।

‘मिस् मीरा, व्हाई शूड वी हायर यू?,’ रोहितले सोध्यो।

म उत्सुकतापूर्वक एकटकले उसैलाई हेरिरहेको थिएँ।

केही बेर सोचेपछि बोली, ‘आई फील आई ह्याव द रीक्वाइअर्ड स्किल्स फर द जब।’

‘ह्वाइट आर योर स्यालेरी एक्सपेटेशन?,’ यो अन्तिम सवाल थियो तिडाको।

उसले, ‘४ लाख’ भनी।

‘किन यति थोरै? भनेकी होली?’ मैले आफैंलाई प्रश्न गरेँ।

‘ओके मिस् मीरा, वी विल कन्ट्याक्ट यू लेटर’ तिडाले त्यति बोलेर बिदा गरी।

त्यसपछि मैले मीरालाई जब दिलाउन रोहितलाई कन्भेन्स गर्ने पुरै कोशिश गरेँ। तर खडुस छ बुढो।

‘यार जीवन, मुझे लगता है कि यह लड्की पर्फेक्ट है, हमेँ इस लड़की को लेना चाहिए’, नम्बर सात वालीको सिवी हातमा लिएर यहीँ भनिरहेछ।

मैले हरेस खाएँ। र, आफ्नो ब्याग हातमा लिदै भने, ‘जैसी आपकी मर्जी।’

‘ओके लेट मी थिंक।’ त्यति बोलेर नम्बर सात वाली र मीराको सिवी हातमा लिएर बुढो बाहिरियो।

बाहिर सिमसिम पानी परिरहेको थियो। मीरा अझैसम्म रिसेप्सनमा बसिरहेकि थिइ। सायद, मलाईनै पर्खिरहेकी  थिइ होली। उसलाई नदेखे झैं गरेर जान्छु भन्ने सोँचमा एक कदम अगाडि बढाएँ। तर मनले मानेन। फेरि ऊ भएतिरै गएँ।

मलाई देखेर ऊ मुसुक्क हाँसी।

‘सन्चै छौ?’ बनावटी मुस्कान मिसाएर मैले सोधेँ।

‘उम्.... तिमी?’ आँखीभौं नचाउँदै उसले भनी।

‘सन्चै’ आँखैको इसारामा मैले भनेँ।

‘टाइम छ?’ नम्रतापूर्वक नजर झुकाउँदै उसले सोधी।

‘अँह! छैन, घरमा मेरी श्रीमती मलाई पर्खेर बसिकेछे’ मेरो दिमागले भन्यो। तर किन हो, मेरो मुन्टो आफैंआफ निहुँरियो।

‘कफी?’ अगाडिको क्याफे तिर नजर लाँदै उसले भनी।

नाई भन्न सकिनँ।

क्याफे भित्र छिरेर छेउको एउटा टेवलमा गएर बस्यौं। उसले दुई कप क्यापचिनो अर्डर गरी।

‘हैन, म अमेरिकानो’ त्यसरी बोल्ने म हैन मेरो आत्मा थियो। उसले छोडेर गएदेखि मैले क्यापाचिनो छोडेर अमेरिकानो खान थालेको थिएँ।

वेटर चिनेजानेको फुच्चे थियो, प्याच्च बोल्यो- ‘तर सर त सधैं अमेरिकानो खानुहुन्छ।’

हामी तीनजनाका दुई-दुई नजर जुधेर छ भए। ‘हुन्छ जे भए नि,’ मैले नजर हटाउँदै भनेँ।

मीरा एकटकले मलाई हेरिरहेकी थिइ। मैले उसको ध्यान भङ्ग गर्ने मनसायले प्रसङ्ग अन्तै मोडेँ, ‘अनि, कहाँ बसेकी छौ?’

‘अहिले त होस्टेलमा बसेकी छु, काम मिलेपछि एउटा अपार्टमेन्ट लिने विचारमा छु’, उसले भनी।

म केही बोलिनँ। केहीबेर हामी दुवै मौन भयौं।

वेटरले टेवलमाथि दुई कप क्यापाचिनो ल्याएर राख्यो। एक कप ऊ तिर सारिदिएँ।

‘कति छिटो सुपरभाइजर भइसकेछौ’, उसले भनि।

‘तिमीले छोडेर गएको पनि त पाँच साल भइसक्यो,’ मैले आँखैले भनेँ। मेरा आँखामा हेरेर उसले अनुहार मलिन बनाइ। म नजर हटाएर मुस्कुराइदिएँ।

मैले पुनः नजर जुदाउँदा ऊ अझैसम्म मलाई हेरिरहेकी थिइ। केही नबोली निकैबेरसम्म एकअर्कालाई हेरिरह्यौं। म आँखा भरून्जेल उसलाई हेर्न चाहन्थेँ। अफसोच! उसले आफ्ना आँखाभरि आँसु भरिदिइ।

मैले उसको देब्रे हात समाएँ। उसले तल्लो ओठ टोकि। सायद आँखाका आँसु थाम्न होला।

मैले उसको हात झनै कसेर समाएँ। यहीँ भावमा कि ‘म छु, बग्न देउ ती आँसु।’

उसका दुवै आँखाबाट आँसुका नदी भेल सरी बगे। मानौं ती आँसु मेरै अनुमति पर्खिएर थामिएका थिए।

म पश्चात् तिम्रो जिन्दगीमा के के भयो? कति दुःख पीडा सह्यौ? मलाई सोध्न मन थियो। तर हिम्मत आएन। न त उसले आफ्नो कहानी सुनाउन चाही।

सायद दुई घन्टामा लगभग एक घन्टा सन्नाटा मै बित्यो हाम्रो।

छुट्ने बेला उसको नम्बर मागेँ। मेरो फोन लिएर उसैले सेभ गरिदिइ।

केही जरूरत पर्‍यो भने फोन गर्नु ल,’ उसको हातदेखि फोन फिर्ता लिँदै मैले भनें।

‘उम्....’ एउटा अवोध बालक झै मुन्टो निहुराएर उसले जवाफ फर्काई।

उसको होस्टेल मेरो घर जाने बाटोमै पर्दो रहेछ। उसलाई उसको होस्टेल अगाडिको गेटसम्मै छोड्न गएँ।

आज भन्दा पाँच वर्ष अगाडि उसले मलाई बीच बाटोमा छोडेर गएकी थिइ, सदा सदाका लागि।

तर आज उसलाई केही क्षणका लागि एक्लो छोड्दा मेरो मन गरूङ्गो भएको थियो।

बाध्यता भनौं या भावीको लेखा। अन्ततः ऊ मेरा लागि एक सहयात्री न थिइ। आज फेरि बाटो बिराएकि हुनुपर्छ उसले।

घरमा मेरी श्रीमती भोकै होली। सायद रिसाएर बसेकि होली।

घडीले साडे दुई बजाईसकेको रहेछ। मैले घरको दैलो टेक्दा देब्रे हातको घडी हेर्न भ्याएँ।

प्रकाशित मिति: : 2020-06-13 16:48:00

प्रतिकृया दिनुहोस्