‘दलित समुदाय बालश्रम मुक्त’ भन्ने नाराका साथ विश्व बालश्रमविरुद्धको दिवस मनाइयो

विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा पर्साको महुवनमा ‘दलित समुदाय बालश्रम मुक्त’ भन्ने नाराको साथअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पीसफर दलित फाउन्डेसन र दलित अधिकार समाज पर्साको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागिता ३० बालबालिकाले आफ्नो हक र अधिकारको बारेमा छलफल गरेका थिए।

पर्साको सखुवाप्रसौनी गाउँपालिका ५, महुवनको दलित बस्तिमा बसोबास गर्ने दलित बालबालिकाले शिक्षाको अवस्था, पारिवारिक अवस्था, हिंसा तथा घरेलु काम, अभिभावकले गर्ने व्यवहारबारे जानकारी लिनुका साथै उनीहरुको समस्याको बारेमा छलफल गरेको दलित अधिकार समाज, पर्साका अध्यक्ष मनोज रामले बताए।

उनले भने,‘बालश्रमले बालबालिकाको सुनौलो भविष्यकालागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ जसकारण बालबालिकालाई यस बारेमा जानकारी दिएको हौं।’

कार्यक्रममा बालबालिकाले दलित समुदायमा भइरहेको बालश्रम अन्त्यको लागि आवाज उठाउने प्रतिबद्धता जनाएको उनले बताए। 

प्रकाशित मिति: : 2020-06-12 19:55:51

प्रतिकृया दिनुहोस्