कोरोना जितेका स्वास्थ्यकर्मी भन्छन्, मैले कारोना जित्दा राज्यको साहस बढेको छ

कोरोना संक्रमित स्वास्थ्यकर्मी शुक्रराज शाही निको भएर जेठ २७ गते डिस्चार्ज भए। डिस्चार्ज हुनेमा उनीसँगै १७ जना अरु पनि रहेका छन्। प्रधानमन्त्रीलाई पत्र लेखेर सार्वजनिक बनेका शाही अहिले कोरोना संक्रमितहरूका लागि प्रेरणाका स्रोत बनेका छन्।

हिमा गाउँपालिकाको बड्की स्वास्थ्य चौकीमा कार्यरत शाही गत जेठ ३ देखि कर्णाली प्राविधिक शिक्षालयमा रहेको एकीकृत क्वारेन्टाइनमा खटिएका थिए। जेठ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी कर्णाली प्रदेशकै पहिलो संक्रमित स्वास्थ्यकर्मी हुन पुगे। 

त्यसको लगत्तै उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरियो।

हरेक दिन सञ्चार माध्यममा कोरोनाको मात्र खबर प्रसारण हुने भइरहँदा आम मानिसमा त्रास सृजना भएको छ। जसले गर्दा धेरैमा कोरोना लाग्ने वित्तिकै मान्छे मर्‍यो वा मर्छ भन्ने मानसिकता रहेको छ।

कोरोनाको संक्रमण तेस्रो पक्षसम्म फैलिएको जानकारी पाएपछि गाउँका मान्छे मात्रै होइन स्वास्थ्यकर्मीमा समेत डर पैदा भएको शाही बताउँछन्।

‘कोरोना भाइस र यसको असर नै नबुझी हामी डरायौं। यस्तो डर चिर्न अति नै आवश्यक भइसकेको थियो,’ उनले भने, ‘नाम सार्वजनिक नगर्ने गरिएको भए पनि मैले गरेँ। देशभर कोरोना नियन्त्रणको अग्रमोर्चामा खटिएका स्वस्थ्यकर्मीको मनोबल बढाउनलाई यो जरूरी थियो।’

संक्रमण पुष्टि भएको पाँचौ दिनमै निको भएपछि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको उपस्थितिमा उनीहरुलाई डिस्चार्ज गरिसकिएको छ।

जुम्लाका संक्रमितहरु छोटो समयमा कोरोनालाई जित्नेमा पर्छन्। उनीहरुले पाँच देखि आठ दिनको बीचमा कोरोनालाई जिते। यस विषयमा उनी भन्छन्, ‘मलाई सायद जेठ आठ गते तिर नै संक्रमण भएको हुनुपर्छ। तर मलाई त्यस्तो कुनै लक्षण देखा परेन। हामी क्वारेन्टाइनमा खटिएकाको स्वास्थ्य परीक्षण नगरिएको भए त्यसै पनि निको हुन्थ्यो कि!’

तथ्यांकले नेपालका ९५ प्रतिशत संक्रमितमा कोरोनाको लक्षण नदेखिएको बताएको छ। सामन्यतया कोरोनाका लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने लगायतका हुन्। तर यी सबै लक्षण नदेखिएका संक्रमितहरु नै नेपालमा बढी छन्।

बिएल नेपाली सेवासँगको संवादमा उनले कोरोना जित्नु सामान्य भए पनि सामाजिक मानोविज्ञान जित्न कठिन भएको बताए।

‘कोरोना जित्न केही छैन। हामी आइसोलेसनमा बस्दा औषधि केही पनि खाएनौं। आत्मबल बलियो बनाउनतिर लाग्यौं,’ उनले भने, ‘खानपिनमा केही ध्यान दियौं। तातापानी बढी खायौं, अदुवा, लसुन, पुदिना खायौं। मैले त्यसको अलावा यार्सागुम्बा पनि खाए। कोरोना सजिलै जितियो त।’

उनी स्वास्थ्यकर्मी हुन् तर पनि अस्पतालका स्वास्थ्यकर्मीहरु नियमित आउन डराएजस्तो उनलाई लाग्छ।

‘मलाई उहाँहरुले फोन गरेर तपाई त स्वास्थ्यकर्मी त्यहाँ हेरिदिनु होला नि भन्नुहुन्थ्यो। रमाइलो लाग्यो। आफू संक्रमित भएर आइसोलेसनमा रहँदा पनि सेवा गर्ने मौका पाएँ। हामी सबैले आत्मीयता बढायौं,’ भन्छन्, ‘एक जना बुबा बाहेक कसैलाई पनि सामान्य लक्षणसम्म देखिएको थिएन। तर अस्पतालका स्वास्थ्यकर्मी डराएक देख्दा ठूलो मात्रामा संक्रमण देखिदा व्यवस्थापनमा चुनौती देखिने हो कि भन्ने शंका लागेको छ।’

यी कुराले उनलाई कोरोना जित्न केही नभएको लाग्छ। तर सामाजिक मानोवज्ञान जित्न भने गाह्रो छ।

‘समाजमा कोरानालाई आतंकको रुपमा हेरिएको छ। संक्रमित अपराधी जस्ता भएका छन्,’ उनले निराश हुँदै भने, ‘संक्रमितको परिवार हुनु भनेको विभेदको शिकार हुनु हो। घरपरिवारलाई हेयको भावमा हेरिनु हो।’

उनको घर हिमा गाउँपालिकाको बड्की हो। उनी कर्णालीमा कोरोना भाइरस सचेतना कार्यक्रम सुरु भएदेखि नै घर गएका छैनन्। तर त्यहाँ रहेका उनका दाजु भाउजुहरुले विभेद खेप्नुपर्‍यो। उनका दाजु भाउजुले उनीसामु यस्ता कुरा सुनाएका थिए। उनले यी सब सामान्य हुन् भनेर सम्झाए।

‘अस्पाताल, सरकारले हाम्रो नाम सार्वजनिक नगरे पनि गाउँघरमा हामीलाई संक्रमण भएको कुनै न कुनै माध्यमबाट थाहा भइहाल्छ। त्यसपछि विभेद सुरु हुन्छ। कोरोना लाग्नुभन्दा पनि कोरोना जितिसकेपछि पुनःस्थापित हुन गाह्रो छ,’ उनले भने।

उनले आफ्नो नाम सार्वजनिक गर्नुको आर्को कारण यो पनि हो। थप्छन्, ‘विभेदलाई समान्य बनाउनको लागि पनि मैले नाम सार्वजनिक गरेको हुँ। कोरोना लाग्नु अपराध गर्नु होइन। कोरोना विरुद्धको लडाइँको अग्रमोर्चामा रहेको बेला मलाई संक्रमण भयो। यसलाई समाजले सामान्य रुपमा लिनुपर्ने वातावरण बनाउनु हाम्रो दायित्व हो।’

उनले आफ्नो शरीर कोरोना भाइरस मुक्त भइसक्दा पनि परिस्थिति सामान्य नहुनु दुःखद भएको बताए। ‘धेरै मान्छेहरू बोल्न डराउने, अलि टाढीने गर्छन्। यो दुःखद पक्ष हो,’ उनले भने, ‘हामीसँगै काम गरेको, सँगै खाएको, सँगै हिडडुल गरेको साथिलाई संक्रमण भएन भने मसँग बोल्नेलाई कसरी संक्रमण हुन्छ? त्यसैले पनि परिस्थिति सामान्य बनाउने तर्फ हामी केन्द्रित हुनुपर्छ।’

उनी आफू कोरोना नियन्त्रणको अग्रमोर्चामा खटिएकै बेला संक्रमित हुनु दुःखद नभइ स्वभाविक भएको बताउँछन्। त्यसमाथि कोरोना जितेर आउनु गर्वको विषय भएकोमा खुसी भएको थपे।

‘मैले कोरोना जित्दा राज्यलाई कोरोना नियन्त्रणमा साहस जुटेको छ। यो लडाइँको अग्रमोर्चामा रहेका मेरा स्वास्थ्यकर्मी साथीहरुलाई साहस मिलेको छ। राज्यले क्वारेन्टाइनको मापदण्ड सुधार गर्न शिक्षा मिलेको छ।’ उनले खुसी हुँदै आफ्ना कुरा टुंग्याए।

अहिले उनी सेल्फ आइसोलेशनमा छन्। डाक्टरले उनलाई अरुको सम्पर्कमा नरहन सुझाएका छन्।

प्रकाशित मिति: : 2020-06-11 10:41:00

प्रतिकृया दिनुहोस्