यात्रुसँगको झगडापछि चालक संयमित नहुँदा टिप्पर कर्णालीमा खस्यो

बुधबार बिहान भारतबाट आएका यात्रुलाई लिएर क्वारेन्टाइन जान जितेगाडाबाट हिँडेको ना ८ ख ५१३३ नम्वरको टिप्पर कर्णाली करिडोर अन्तर्गत कालिकोटको लागिघाट भीरबाट कर्णाली नदीमा खसेर दुर्घटनाग्रस्त भयो।

दुर्घटनामा परि दुई जनाको मृत्यु भयो। दुई जना बेपत्ता छन् भने आठ जना घाइते छन्। दिनभर बेपत्ताको खोजी कार्य जारी रहँदा साँझ दुर्घटनाको कारण खुलेको छ।

यात्रुसँग झगडा हुँदा चालक संयमित नभएपछि टिप्पर दुर्घटना भएको पाइएको हो।

 टिप्परमा सवार गोपाल सार्कीले वर्णन गरेको दुर्घटना अघिको दृश्य यस्तो छ।

‘भारतको गुजरात र उत्तरकाशीबाट आएका यात्रुहरू बोकेर टिप्पर नरहरिनाथ गाउँपालिका -१ को जितेगडाबाट बुधबार बिहान १० बजेतिर रास्कोट नगरपालिका जाँदै थियो।

साढे १० बजेतिर लालीघाट पुग्दै गर्दा गुजरातबाट आएका यात्रु र टिप्पर चालक रंगनाथ धमालाबीच विवाद सुरु भयो।

टिप्परमा भारतका छुट्टाछुट्टै स्थानबाट आएका यात्रुहरू कोचाकोच गरेर राखेको भन्दै गुजरातबाट आएका यात्रुहरुले चालकसँग विवाद गरे। हानाहान पनि भयो। विवाद बढ्दै गएपछि रिसाएका चालक स्टार्टमै रहेको टिप्पर उकालोमै छोडेर भागे।

चालक बिनाको टिप्पर पछाडि सर्न थालेपछि उत्तरकाशीबाट आएका अधिकांश यात्रुले हाम फाले। गुजरातबाट आएका १८ जना यात्रु झरिसकेका थिए। आरोलोमा रोकिएको टिप्पर पछाडि सर्न थाल्यो।

त्यतिबेला टिप्परमा १० जना यात्रु मात्रै थिए। जसमध्ये अधिकांश महिला र बालबालिका थिए। टिप्पर पछाडि सर्दै सडकदेखि २० मिटर तल कर्णाली नदीमा खस्यो।’
**
टिप्पर खस्दा रास्कोट नगरपालिका–२ सिपखानाकी २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया थम्की सार्कीको घटनास्थलमै मृत्यु भएको छ। रास्कोट नगरपालिका–३ कै तीन वर्षीया बालिका सरिता सार्की र ३५ वर्षीया कमला सार्की कुमाल अझै बेपत्ता छन्। प्रहरीका अनुसार कर्णालीमा बेपत्ता भएकाको खोजी जारी छ।

घटनामा परि गम्भीर घाइते भएका ३५ वर्षीया निस्पता सार्की र २८ वर्षीय मिन सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

अन्य घाइतेहरू ३५ वर्षीय प्रजे सार्की, अनिता सार्की, विवेक सार्की, अशोक परियार, गोविन्द सार्की र तीन महिनाको एक बालकको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।

टिप्परमा भारतको गुजरातबाट आएका १८ जना, उत्तरकाशीबाट आएका २१ जना, दुई जना प्रहरी र एक सहचालक रहेको कालिकोटका डिएसपी श्यामबाबु लोहियाले बताए।

‘दुई समूहमा आएका यात्रुहरुलाई एउटै टिप्परमा राखेर लिँदा विवाद भएको र विवाद बढ्दै जाँदा घटना घटेको देखिन्छ,’ उनले भने।

स्टार्टमै रहेको टिप्पर छोडेर     भागेका चालक हाल प्रहरी नियन्त्रणमा छन्। प्रहरीले उनलाई घटनास्थलभन्दा पाँच किलोमिटर अगाडिबाट पक्राउ गरेको थियो।

चालकले यात्रुले कुटपिट गरेपछि रिसको झोकमा स्टार्टमै रहेको टिप्पर छोडेर आफू भागेको बयान दिएका छन्। प्रहरीका अनुसार चालकको नाक र मुखमा चोट छ।
डिएसपी लोहियाले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित मिति: : 2020-06-10 22:03:15

प्रतिकृया दिनुहोस्