कोरोना रोकथाममा सरकार असफल भएको भन्दै कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाई पत्र

कोरोना रोकथाममा सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रमुख सचेतक बालकृष्ण खाँड, सहमहामन्त्री डा.प्रकाशरण महत, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य रमेश लेखक कांग्रेसको प्रतिनिधिमण्डलको रुपमा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोभिड १९ को महामारी नियन्त्रण गर्न सरकारले सम्बोधन गर्नुपर्ने विषयका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । कोभिड १९ को महामारी नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्य, अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्ने विषय समेत ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमण देखिएको साढे चार महिना भएको तथा लकडाउन गरिएको पनि ७९ दिन पूरा भइसकेपनि सरकारले आवश्यक सामग्री किटको व्यवस्था गर्न नसकेको,स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुरक्षाका आवश्यक सामान उपलब्ध गराउन नसकेको, क्वारेन्टाइनको व्यवस्थापन हुन नसकेको लगाएतका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको लेखकले बताए ।

त्यस्तै आइसोलेसन सेन्टरको उचित व्यवस्थापन तथा राहतको उचित प्रबन्ध गर्न, किसानलाई सहयोग गर्न, आवश्यक रोजगारीको प्रबन्ध गर्न, उद्यमी व्यवसायीलाई उचित आर्थिक प्याकेजको व्यवस्थ गर्न आग्रह गरिएको उनले बताए । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले दिएको सुझावलाई गम्भिरतापूर्वक लिने आश्वासन दिनुभएको उनले जानकारी दिए ।

कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्र

सम्माननीय प्रधानमन्त्री ज्यू

नेपाल सरकार ।

विषय : ध्यानाकर्षण सम्बन्धमा ।

महोदय,

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७७ साल जेठ २६ गते पार्टी सभापति मा. शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालीन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नु पर्ने कार्य बारे गहन छलफल गरि महत्त्वपूर्ण निर्णयहरु गरेको छ । सोही बैठकको निर्णयअनुसार नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।

१. नेपालमा २०७६ साल माघ ९ गते कोभिड १९ को पहिलो संक्रमित व्यक्ति फेला परेको हो । सरकारी तथ्याङ्क अनुसार आज सम्म नेपालमा कोभिड १९ को कारण १५ (पन्ध्र) जना नेपालीको मृत्यु भैसकेको छ । देशभरिमा ४,०८५ (चार हजार पचासी) जना संक्रमित छन् । १,६५,७७५ (एक लाख पैसठ्ठी हजार सात हजार पचहत्तर) मानिस क्वारेन्टिनमा छन । कोभिड १९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका छन् । नेपाल बाहिर पनि विदेशमा विभिन्न मुलुकमा नेपाली नागरिको मृत्यु भएका र संक्रमित भएका छन् । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनु हुने सबै नेपाली दाजुभाइ–दिदिबहिनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौ । संक्रमित सबैमा शिघ्र स्वास्थलाभको कामना गर्दछौ ।

२. हाम्रो पार्टीको आब्हानमा नेपाली कांग्रेसका नेता, पार्टी सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथी तथा सबै शुभेच्छुकहरु देशभरिनै आ–आफ्ना ठाँउबाट कोभिड १९ विरुद्धको लडाईमा क्रियाशिलतापूर्वक काम गरिरहेका छन् । विदेशमा पनि नेपाली जनसम्पर्क समिति र अन्य शुभेच्छुक साथीहरु जोखिम मोल्दै अहोरात्र खटिई काम गरिरहेका छन् । यो कार्य निरन्तर जारी रहनेछ ।

३. नेपाली कांग्रेसले प्रारम्भदेखि नै कोभिड १९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालीन एवं दीर्घकालीन नकारात्मक प्रभाव, यस विपद्‍बाट उत्पन्न समस्यालाई न्यूनीकरण गर्ने र देश र जनतालाई जोगाउने उपाय बारे सुक्ष्म रुपले अध्ययन र विश्लेषण गर्दै कोभिड १९ विरुद्धको लडाईमा सरकार लगाायत सबैलाई सदैव साथ सहयोग दिने र सबै नेपाली एकताबद्ध भई यो विपद्का विरुद्धमा लड्ने हाम्रो प्रतिबद्धता रहिआएको छ । नेपाली कांग्रेसले सदासयतापूर्ण तवरले काम गर्दै सरकारलाई निरन्तर सुझाव दिई रहेको तपाईलाई स्मरण गराउन चाहन्छौ ।

४. नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति बेहोर्न परेको छ । हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन ।

५. समयमा सामग्रीको आपुर्ति गरिएन । विश्वब्यापी रुपमै भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने र्‍यापिड टेस्ट अहिलेसम्म भइरहेको छ । पीसीआर विधिबाट अत्यन्त न्यून (जम्मा ०.३२ प्रतिशत मात्र) परीक्षण भएको छ । देशभरिनै क्वारेन्टिन साह्रै अव्यवस्थित छन् । क्वारेन्टिनको उचित व्यवस्थापन नभएका कारण क्वारेन्टिनबाट नै संक्रमण फैलिरहेको छ । क्वारेन्टिनमा नै मानिसहरुको मृत्यु भएको छ । मृत्युपछि र दाहसंस्कार गरिसकेपछि कोभिड १९ पोजिटिभ देखिने गरेका घटनाले परीक्षणको दयनीय अवस्थालाई उजागर गरेको छ । क्वारेन्टिनमा दिनानुदिन मानिसको संख्या बढिरहेको छ तर किट र प्रयोगशालाको अभावमा परीक्षणको गति शून्य प्रायः छ । फलतः संक्रमितको एकिन संख्याको जानकारी छैन । कतिपय स्थानमा अहिले स्वाब लिने काम पनि बन्द गरिएको छ । लामो समयसम्म स्वाबलाई प्रयोगशालामा राखी ढिलो गरी परीक्षण गर्ने कामले सही परिणाम नआउने खतरा छ । सरकारले मिति २०७७।०२।२० गते कोभिड १९ बारे जारी गरेको राष्ट्रिय परिक्षण निर्देशिकामा पोजिटिभ केसहरुलाई सिमटम फ्री भएको तीन दिन र जम्मा १४ दिनको भर्ना, आईसोलेसनपछि टेस्ट नै नगरी डिस्चार्ज गर्ने अत्यन्त गैर जिम्मेवार नीति लिएको छ । यो सरकारको जनताका स्वास्थ प्रतिको असंवेदनशीलताको हो । आवश्यकताको आधारमा न्यायपूर्ण ढंगले राहतको वितरण भएन ।

६. सरकारले लक डाउनलाई ठिक ढगंले उपयोग गरेन । यस बीचमा सरकारले अस्पतालको क्षमता, गुणस्तर वृद्धि गर्ने तर्फ पटक्कै ध्यान दिएन । संक्रमितहरुलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था सिर्जना हुँदैछ । कोभिड १९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मृगौला, गर्भावस्थामा रहेका महिलाहरुको, चोट पटक लाग्ने लगायतका विभिन्न बिरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन हुन सकेको छैन । सरकारी अस्पतालहरु यसमा सक्षम देखिएका छैनन् । निजी अस्पतालहरुलाई पनि सरकारले उचित समन्वय गरी सेवा उपलब्ध गराउन सकेको छैन ।

७. राष्ट्रिय विपतिको यस्तो अवस्थामा स्वास्थ्य सामग्री खरिदमा पटक–पटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको छ । कमिसनको कारणले सामग्री आपूर्तिमा ढिलो भएको छ । सरकारले दश अर्ब खर्च भएको भनेको तर सो अनुसार काम देखिएको छैन ।

८. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेका मानिसहरुको न व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध छ न उनीहरुलाई प्रोत्साहित गर्ने कुनै नीति, योजना छ ।

९. भारतबाट आएका मानिसलाई समयमा नै परिक्षण गरि सुरक्षित ढंगले घर पुर्‍याउनु पर्दथ्यो । सरकारले दुवै देशबीच आ–आफ्नो देशमा प्रबन्ध गरेर राख्ने व्यवस्था भएको छ भनि भ्रामक कुरा गर्‍यो । विभिन्न देशमा नेपाली दिदीबहिनी–दाजुभाइहरु विचल्लीमा परेका छन् । विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन नसक्दा परिवारजनले असिम पीडा भोगिरहेका छन् । विदेशमा समस्यामा रहेका नेपाली नागरिकको उद्धार गर्ने काम भएको छैन ।

१०. साना ठूला हजारौं उद्योग व्यवसाय बन्द छन् । लाखौं श्रमिक र साना उद्यमी व्यवसायी बेरोजगार भएका छन् । विदेशबाट लाखौं नेपाली फर्किदै छन् । नागरिकहरुको आर्थिक अवस्था नाजुक भएको छ । उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलाएमान गर्न र नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर भएको छैन ।

११. कोरोना महामारीको निवारण र नियन्त्रणको सन्दर्भमा सरकारको यति दिनको रवैया हेर्दा यो दुःख र पीडाको घडीमा सरकार जनताको साथमा देखिएको छैन । समग्रमा नेपाल सरकार कोभिड १९ को जोखिमपूर्ण अवस्थामा जिम्मेवार, संवेदनशील, गम्भीर र सक्षम हुन सकेको छैन । प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तरको साथ र सुझावका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न, कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्‍बाट सुरक्षित राख्न पूर्ण रुपले असफल भएको छ ।

१२. हामी सरकारसंग कोभिड १९ को प्रकोप नियन्त्रण गरी देश र जनतालाई विपद्‍बाट जोगाउन तत्काल निम्न लिखित कार्य गर्न पुनः माग गर्दछौ ।

(क) सामग्रीको आपूर्ति : कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस् । पीसीआर परीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्ब व्यवस्था गरियोस् ।

(ख) क्वारेन्टिन व्यवस्थापन : मापदण्डअनुसार क्वारेन्टिनको उचित व्यवस्थापन र संचालन गरी पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधि, एम्बुलेन्स, परीक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् । क्वारेन्टिन सञ्चालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत तत्काल उपलब्ध गरियोस् । सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानिय तहलाई हेरि रहेको छ । यस्ता कार्य तत्काल बन्द गरियोस् ।

(ग) परीक्षण : विश्वसनिय प्रविधिबाट बढी भन्दा बढी नागरिकको परीक्षणको व्यवस्था गरियोस् । पीसीआर परीक्षण गर्नु पर्नेको दायरा विस्तार गरी क्वारेन्टिनमा राखिएका सबैलाई पीसीआर विधिबाट परीक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाब परीक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् ।

(घ) अस्पतालको व्यवस्थापन : कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधि, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्ब गरियोस् । अन्य रोगका सम्बन्धमा सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस् । लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन् । यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि सरकारले आवश्यक कार्य गरोस् ।

(ङ) भ्रष्टाचार अनियमितता होइन पारदर्शिता : राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरिद जस्तो विषयमा निरन्तर भ्रष्टाचार कमिसनको जालो भइरहनु निर्लजताको पराकाष्ठा हो । सरकार कोभिड १९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरियोस् । हालसालै पनि स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यी सबै भ्रष्टाचार, अनियमितता बारे छानबिन गरी तत्काल सार्वजनिक रुपमा जानकारी गरियोस् ।

(च)   राहत वितरण : राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था गरियोस् । राहतका खाद्य सामग्रीको गुणस्तर कायम गरियोस् र राहतको वितरण भनसुन र राजनीतिक आग्रहका आधारमा गरिने काम बन्द गरियोस् ।

(छ) विदेशवाट नागरिकको उद्धार : विदेशमा विचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरियोस् । विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम होस् ।

(ज) रोजगारी : देश भित्र र बाहिर लाखौं नेपालीहरुले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक छ । संसद कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा जस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न निर्देशिका सहित पालिकामा पठाइयोस् ।

(झ) कृषि र खाद्य सुरक्षा : अहिलेको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउन सक्दछ । जीवन निर्वाहको चुनौतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्‍याउने कार्य गरियोस् ।

 (ञ) आर्थिक क्षेत्र : अर्थतन्त्रलाई चलायमान गर्ने तयारी तत्कालै गर्न आवश्यक छ । देशका साना, ठूलो उद्योग, व्यापार, व्यवसाय ठप्प भएका छन । औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु तथा सानोतिनो स्वःव्यवसाय गरी जिविकोपार्जन गर्ने उद्यमी र श्रमजीवीहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको छन् । यस अवस्थामा साना, ठूलो उद्योग, व्यापार, व्यवसायको संरक्षण र तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज घोषणा गरियोस् ।

जय नेपाल !
रामचन्द्र पौडेल
नेता
नेपाली कांग्रेस

प्रकाशित मिति: : 2020-06-10 14:38:15

प्रतिकृया दिनुहोस्