रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्यास्थल नजिकै लुकेर बसेका हत्या आरोपीले कसुर स्वीकार गरेको प्रहरीले बताएको छ। गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो।
घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा अचेत अवस्थामा थिए। उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ। त्यसक्रममा सामान्य बोल्न थालेपछि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको थियो।
सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाले बताए।
‘भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। तर सुरुमा सोधखोज गर्दा उनले संलग्नता स्वीकारेनन् तर, फरुवाले हानेर हत्या गरेको बताएका छन्’,एसपी थापाले भने।
घटनामा ज्यान गुमाउनेमा सैनामैना मुर्गियाका ४१ वर्षे माधव मुसहर, ३७ वर्षकी जानकी मुसहर, १४ वर्षीय रमेश भनिने पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी रहेका छन्। माधव र जानकी श्रीमान–श्रीमती हुन्न्। पोषराजलाई फार्म सञ्चालक रामबहादुर पुनले धर्मछोराका रुपमा पालेका थिए।
करण र आशिष रमेशका साथी हुन। उनीहरु रमेशसँग समय बिताउनका लागि प्रायः रातिमा गोठमा आएरै बस्ने गरेको फर्म सञ्चालक पुन बताउँछन्।
उनीहरु सबै पछ्यौरा ओडेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।
‘उनीहरुलाई सुतेकै अवस्थामा फरुवाले हिर्काएर हत्या गरिएको र सल ओडाएर छाडेको जस्तो देखिन्छ’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्री भने, ‘प्रहरी घटनास्थल पुग्दा उनीहरु सबै भुईँमा एकै बिस्तारामा थिए।’
डीएसपी खत्रीका अनुसार मृतकहरुको टाउको र घाँटीमा चोट लागेको देखिएको छ।
जागिरबाट निकालिएको खुलासा
सिञ्जाली एक महिनाअघि तिलोत्तमाकै अर्को पशु फार्मको जागिरबाट निकालिएको खुलेको छ।
सिञ्जाली र उनकी श्रीमती दुवै जनाले तिलोत्तमा–११, शिवपुरस्थित रामु साहनीको तारा पशु तथा कृषि फार्ममा दुई महिनासम्म काम गरेका थिए। स्थानीयका अनुसार झसेन्द्रकी श्रीमती मदिरा सेवनको कुलतमा फसेकी थिइन्।
सोही कारण श्रीमान-श्रीमतीबीच दिनहुँजसो झगडा हुने गरेको स्थानीयको भनाइ छ। उनीहरुको झगडाले गर्दा फार्मको काम प्रभावित भएको र समाजमा नराम्रो असर पर्न थालेको भन्दै सञ्चालक साहनीले वैशाख १५ गते दुवैलाई कामबाट बिदा गरिदिएका थिए।
श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि झसेन्द्र करिब दुई महिनाअघि मात्रै सो फर्ममा काम गर्न आएका थिए। उनले श्रीमतीले छाडेर गएको र आफू एक्लै रहेकाले जागिर लिन फार्म सञ्चालक पुनलाई आग्रह गरेका थिए।
‘काम खोज्दै एक्लै आएका थिए,श्रीमतीले छाडेको र लकडाउनले गर्दा घर जान नपाएको भनेका थिएँ’, फार्मका सञ्चालक रामबहादुर पुन भन्छन्, ‘पहिला पनि भैंसी फार्ममा काम गरेको भनेका थिए, उसको समस्या सुन्दा काम दिएको हुँ ।’
फार्ममा काम सुरु गरेपछि झसेन्द्रको काममा कुनै समस्या नदेखिएको उनी बताउँछन् ।
‘पुनले भने, ‘फार्ममा काम गर्न थालेको एक महिना मात्रै पुगेको थियो, धेरै नबोल्ने र काम गर्ने स्वभाव थियो। साँझमा रक्सी खाने बानी रहेछ, हिजो पनि खाना खाएपछि एक बोतल रक्सी लिएर सुत्न गएका हुन्’, ’
यता स्थानियका अनुसार श्रीमतीले छाडेर गएपछि तनाव हुने गरेको बताउँदै आएका थिए।
स्थानीयका अनुसार श्रीमतीले छाडेपछि तनाव हुने गरेको र आफ्नो कोही पनि नरहेको सिंजालीले बताउँदै आएका थिए। उनले आफ्नो कोही पनि नरहेको बताउने गरेका थिए स्थानीयका अनुसार उनले दैनिकजसो मदिरा सेवन गर्ने गर्थे।
प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएका सिंजालीलाई प्रहरी कार्यालयमा राखेको छ भने शव पोष्टमार्टमका लागि लग्ने तयारी छ। घटनाबारे थप अनुसन्धान भइसकेपछि मात्रै विस्तृत विवरण आउने घटनास्थलमा खटिएका डीएसपी खत्रीले बताए।