दिउँसो साढे एघार बजे चन्दननाथ मन्दिरको सेरा जिउलोमा रोप्नेरी (धान रोप्ने महिला) को चहलपहल सुरू भयो। रेप्नेरीहरू गोठीचौंर गाउँपालिकाको खल्लालबाडा, चन्दाननाथ नगरपालिकाको बोहरागाउँ, भण्डारीबाडा, वडा नं. ५ र ६ का थिए। उनीहरु सबै जुम्लाको चन्दननाथ सहकारी संस्थाको समूमा आवद्ध महिला हुन्।
उनीहरुलाई हिजै फोन गरेर निमन्त्रण गरिएको चन्दननाथ सहकारी संस्था संचालक समितिका सदस्य सचिव ऋषीराम पाण्डेले बताए। ‘हामीले अघिल्लो वर्षबाट सेरा जिउलाको रापाइँमा रोप्नेरी सहयोग गर्दै आएका छौं। हाम्रा पुरूष कर्मचारीहरू भिट्टो (खेतको आली) लगाउने काममा लागिरहेका हुन्छौं। महिलाहरु रोप्न लाग्छन्। यो कार्यलाई अब हामीले आफ्नो क्यालेण्डरमा राखेका छौं,’ उनले बिएल नेपाली सेवासँगको कुराकानीमा भने।
रोप्नेरी थिइन् ४० जना। देशमा लकडाउन भएकाले २५ जना भन्दा बढीको भिड जम्मा गर्न नहुने थियो। प्रशासनबाट पनि त्यही सल्लाह भएको थियो। तर त्यतीले २२ भारीको सेरा जिउलो सजिलै रोपि सकिने थिएन। उपाय केही नलागेपछि एक दिनलाई लकडाउन उल्लंघनको विकल्प भएन।
लकडाउन उलंघन गरे पनि सामाजिक दुरी त कायम गर्नै पर्यो। दूरी कायम हुनेमा शंका थियो। त्यसैले आफैं आएका थिए सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटा। उनी सँगै थिए, प्रहरी निरीक्षक पनि।
अघिल्लो वर्ष रोप्नेरी सहयोग गरेको चन्दननाथ सहकारी संस्थाको दायित्व यो वर्ष त्यतिले पुरा हुँदैन थियो। सुरक्षा सावधानी पनि जरूरी थियो। त्यसका लागि चाहिने थियो मास्क र सेनिटाइजर।
यति भएपछि लगभग सुरक्षित भइन्थ्यो। तर यतिले पनि सन्तुष्ट हुने ठाउँ नमिलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मिलन खड्का पनि आए। उनले सुरुमा कोरोना भाइरस, यसको असर र बच्नलाई के के गर्नुपर्छ भनी सबै महिलालाई बुझिने भाषामा प्रशीक्षण दिए। माक्स र सेनिटाइजर लगाउने उपाय बताए। धेरै त्रसित नहुन भने।
यतिन्जेल मन्दिरको गुठी संस्थानले व्यवस्था गरेका हलीहरुले खेत जोत्ने, मइ लगाएर हिल्याउने र बिगारो लगाएर सम्याउने काम गरिसेकेका थिए। सहकारी संस्थाका पुरुष कर्मचारीले भिट्टो (आली) मा हिलो लगाएर चिल्लै बनाइसकेको थिए। त्यसपछि सुरू भयो रोपाइँ।
जुम्लामा रोपाइँलाई उत्सव मानिन्छ। त्यसमाथि सेरा जिउलाको रापाइँ विशेष भएको भन्छिन्, भण्डारीबाडाकी हिमालक्ष्मी भण्डारी। ‘मार्सीधान हाम्रो मुख्य बाली हो। हरेक शुभ कार्यमा चामल चाहिन्छ। मन्दिरमा पूजा गर्न, देउतालाई भोक दिन रोप्नुपर्छ,’ उनले भनिन्।
हालसम्मको अध्ययन, अनुसन्धानले जुम्लामा मार्सीधानको विकास र विस्तार गर्ने काम सिद्ध पुरूष चन्दननाथ बाबाले गरेका हुन्। उनैको सम्मान स्वरुप आज पनि गुठी संस्थानको नाममा धान फल्ने गाउँका मान्छेले सिक दिने गरेका बताउँछन् संस्कृतिका जनकार रमानन्द आचार्य।
‘जुम्लाको रोपाइँ अन्य ठाउँको भन्दा फरक छ। यसको निश्चित क्यालेन्डर छ,’ उनले भने, ‘चैत १२ गते बीउ भिजाउने, १६ गते उतारेर बीउ उमार्न घरमा न्यानो गरी राख्ने, २० गते बेर्नामा लगेर छर्ने र जेठमा रोपाइँ गर्ने गरीन्छ।’
यो सबै जुम्लाका हरेक गाउँमा एकै दिन हुने उनले थपे।
मार्सी धानको यति रमाइलो र ऐतिहासिक किस्सा सुनेका डा. खड्काले कोरोना भाइरसबारे जानकारी मात्र दिएनन्। उनलाई साह्रै रहर लाग्यो। रोप्न कसिए। ‘साह्रै मज्जा आयो। भात खाएको छु। साह्रै मिठो हुन्छ। नाम र चर्चा धेरै सुनेको थिए। आज रोप्ने ठाउँमै आएको हुनाले यो सुनौलो अवसर गुमाउनु मन लागेन। त्यसैले रोप्न कसिएको हुँ,’ उनले खुसी हुँदै भने।
चनदननाथ भैरवनाथ गुठीको स्वामित्वमा रहेको सेरा जिउलाको रोपाइँ विषेश भएको गुठी संस्थानका अध्यक्ष कृष्ण कहादुर रोकायाले बताए। ‘पारापुर्वकाल देखी नै बाजागाँसहित रोपिने मन्दिरको खेत यसपटक भने कोरोनाका कारण मास्क लगाई समाजिक दुरी कायम गरी रोप्नुपर्यो,’ उनले भने, ‘भिड्भाड गर्न नहुने भएकाले धेरै संयमता अपनाएका छौं।’
मार्सीधान नेपालको अर्गानीक बजारको सबैभन्दा बढी माग हुने ब्राण्ड हो। यो संसारको सबैभन्दा अग्लो स्थानमा फल्ने धानको रुपमा परिचित छ। राणा र राजा शासकहरुसम्मको प्रिय भोजन बनेको मार्सी धान डाक्टर गोविन्द केसीको आन्दोलनको बेला थप चर्चामा आयो।
केसी आन्दोलको बेला बिबादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डले मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएपछि यसको चर्चा चुलिएको थियो।
पछिल्लो समय जनस्तरबाट मार्सी धानको खेती कार्य जारी रहेको भएपनि सेरा जिउलोमा धान रोपाइँ कम हुँदै गएको छ। सरकारी स्तरबाट भव्य रुपमा रोपाइँ आयोजना हुने भएपनि पछिल्लो समय गुठी संस्थानले धेरै खेत भाडामा दिएको हुनाले धान रोपिने क्षेत्रफल घटिरहको छ। त्यसमाथि रोपाइँको समयमा धेरैले वास्ता गर्न छोडेपछि चन्दननाथ सहकारी संस्थाले गत वर्षदेखि रोप्नेरी सहयोग गर्दै आएको छ।
‘जुम्लाको पहिचानको रुपमा रहको मार्सीधानको पहिचान बचाउन हामी सबैले हातेमालो गर्न आवश्यक ठान्यौं। कम्तिमा यत्ति भए पनि रोपाइँ हुन्छ,’ सदस्य सचिव पाण्डेले भने।
यतिन्जेल साडे ती बजिसकेको थियो। अन्तमा डा. खड्काले फेरी सबैलाई सावधानीका उपाय स्मरण गराए। रोप्नेरी र हली सबैले एक अर्कोलाई नछोइकन घरतिर लागे।