सरकारसँग साझा पार्टीकाे माग: कोरोना नियन्त्रणमा खर्च गरिएकाे १० अर्बकाे विवरण सार्वजनिक गर

बिएल संवाददाता

काठमाडाै‌ं

साझा पार्टीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको भनिएको १० अर्ब रुपैयाँ खर्चको सबै विवरण सार्वजनिक गर्न माग गरेको छ।  

कोरोना संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणका लागि गत चार महिनामा नेपाल सरकारले करिब १० अर्ब खर्च भएको बताउँदै आएको छ। साझा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश ५ का संयोजक अनुपमान सैजुलेले उच्चस्तरीय समितिको बैठकमा मात्रै १० अर्ब खर्च भयो भनेर नपुग्ने भन्दै खर्चको सबै विवरण पारदर्शी रुपमा सार्वजनिक गर्न माग गरेका हुन्। 

उनले खर्चको पुष्टि गर्ने कुनै आधार सरकारपक्षबाट सार्वजनिक नभएको पनि बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन अन्तर्गत रहेर कहाँ बोलपत्र आह्वान गरियोङ कसरी यत्रो पैसा खर्च भयो? यो नेपाली जनताले जान्न पाउनु पर्छ भन्ने हाम्रो माग हो।१० अर्ब रकम कुन शीर्षकमा, कहाँ–कहाँ, कहिले कति रकम कसरी खर्च भयो, सार्वजनिक खरिद ऐन बमोजिम कुन पद्धति प्रक्रिया अपनाइयो ? भन्ने कुराको पूर्ण जानकारी सार्वजनिक गर्न पर्छ।’ 

यस्तै विज्ञप्तिमा स्वास्थ्य सामग्रीमा पनि आर्थिक भ्रष्टाचार भएको आशंका नागरिकस्तरबाटै उठेको जनाइएको छ। 

‘१० अर्ब खर्च हुँदा स्वास्थ्यकर्मीसँग मास्क र पीपीई समेत नभएको,आइसोलेशन पनि मापदण्ड अनुसारको नभएको,अधिकांश कोरोना संक्रमित नागरिकको मृत्युपछि मात्रै कोरोना परीक्षण गर्ने पद्धति सुरुदेखि कायम रहेको, व्यवस्थित क्वारेन्टाइन र आइसोलेसन नबनाइएको, क्वारेन्टाइनमा खानपिनको राम्रो व्यवस्था नभएको अवस्थामा पनि करिब दश अर्ब खर्च भएको देखाइनुमा निश्चित रुपमा आर्थिक भ्रष्टाचार भएको आशंका नागरिकस्तरबाटै उठेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

कोरोना संक्रमणको दर बढ्दै गएको र मृत्यु हुनेको संख्या पनि बृद्धि भइरहेको अवस्थामा आवश्यकता अनुसार ठोस योजना तथा नीति बनाएर कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा पारदर्शी ढंगले प्रस्तुत हुन र जनताको सुरक्षाका लागि ठोस कदम चाल्न समेत साझा पार्टीले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-06-08 16:42:10

प्रतिकृया दिनुहोस्